बागमती प्रदेशसभा अधिवेशन अनिश्चित, विकास र ऐन निर्माणमा सरकार असफल

मकवानपुर । गत असोजमा दुईवटा विधेयक पारित गरेपछि स्थगित भएको बागमती प्रदेशको सभा चार महिना बितिसक्दा पनि बोलाइएको छैन ।

नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थापलियाले आज पत्रकार सम्मेलनको आयोजना गर्दै हिउँद सकिँदै गर्दा पनि सरकारले अधिवेशन बोलाउने निर्णय गर्न नसकेको प्रति आपत्ति जनाएका छन् ।

जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सभाको पहिलो कार्यकालमा ४३ वटा मूल ऐन बने पनि दोस्रो कार्यकालमा एक तिहाई पनि काम हुने अवस्था छैन ।’

उनका अनुसार प्रदेश सरकार सञ्चालनका लागि एक सयभन्दा बढी ऐन चाहिनेमा ४६ मात्र बनेका छन् भने विकास निर्माणतर्फ पनि ९ प्रतिशतभन्दा कम बजेट मात्र खर्च भएको छ ।

विज्ञप्तिमा थप उल्लेख गरिए अनुसार दुग्ध किसानलाई अनुदान कटौती हुँदा कृषि क्षेत्रमा गम्भीर असर पर्ने देखिन्छ । साथै सरकारले पक्षपातपूर्ण ढंगले बजेट विनियोजन गरेको समेत आरोप लगाइएको छ ।

विज्ञप्तिमा प्रदेश सभा तत्काल बोलाई समस्या समाधान गर्न र दूग्ध किसानलाई अनुदानको व्यवस्था मिलाउन माग गरिएको छ ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया