गरुडा नगरपालिकामा गरिएको तालाबन्दी खुल्यो

रौतहट । गरुडा–रौतहटको मध्य भागमा रहेको गरुडा नगरपालिकामा गरिएको तालाबन्दी एक महिनापछि आज खुलेको छ । गत पुस १८ गते देखि नगरपालिकाको मुल गेटमा ताल्चा लगाइएको थियो । नगरप्रमुख र उपप्रमुखबीच सहमति भएपछि तालाबन्दी खुलेको हो । सोमबार जिल्ला प्रशासन कार्यालय राैतहटमा दुबै पक्ष बिचको वार्ता सफल भएपछि ताला खुलेको हो । लगातारको तालाबन्दीले नगरपालिकाको कामकाज प्रभावित बनेको थियो । दैनिक रुपमा हुने सेवाहरु प्रवाह हुन सकेका थिएनन् ।

उपमेयर पक्षले विभिन्न ६ बुँदे माग राख्दै गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरी आन्दोलन गर्दै आएका थिए । गरुडा नगरपालिकामा लागेको तालाबन्दी खुलाउनका लागि पटकपटक जिल्ला प्रशासन कार्यालय गौरमा दुवै पक्षबीच सहमतिको प्रयास भएपनि सहमति हुन नसक्दा नगरपालिकामा लागेको ताला खुल्न सकेको थिएन् ।

गरुडा नगरपालिकाको तालाबन्दी खुलाउन जिल्ला समन्वय अधिकारी प्रलव कायस्थको महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले नगरप्रमुख, उपप्रमुख र वडाध्यक्ष, कार्यपालिका सदस्यहरु बीचको विवाद समाधान गर्न अहम भूमिका निभाएका छन् ।

जिल्ला समन्वय अधिकारी कायस्थले दिएको जानकारी अनुसार उपमेयर पक्षको माग नगरपालिकाको हिउँदे अधिबेशनमा लैजाने, कार्यपालिका बैठकमा पेश गर्ने लगायत आन्दोलनरक्त पक्षको माग सम्बोधन हुने भएपछि तालाबन्दी खोलिने सहमति भएको बताए ।

छलफलको क्रममा प्रदेश सांसद केशव राय, जिल्ला समन्वय समिति रौतहटका सभापती रामअयोध्या राय यादव, जसपा नेता राजकुुमार दास, नेकपा एमालेका नेता कलिमूल्लाह अन्सारी, रामजी साह सहितका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया