मुगुको खत्याडमा आगलागी : दुई बालबालिकाको मृत्यु

मुगु । मुगुको पश्चिम खत्याड गाउँपालिका २ गाडेखोला टोलमा गएराति ३ घरमा आगलागी हुँदा २ बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार गाडेखोला टोलका सञ्ज्याल तीन दाजुभाइको घरमा गएराति १ बजेतिर आगलागी भएको थियो । आगलागीमा लालु सञ्ज्यालका १४ वर्षीय छोरा विशाल सञ्ज्याल र १२ वर्षीया छोरी झरना सञ्ज्यालको आगोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।

प्रहरी नायव उपरीक्षक थापाका अनुसार उक्त आगलागीबाट तीन दाजुभाइ लालु सञ्ज्याल, नरदीप सञ्ज्याल र दीपराज सञ्ज्यालको घर पूर्ण रुपमा जलेको छ । उनले भने, ‘दुई वटै बालक घर भित्रै आगोमा जलेर लिंग पहिचना गर्न नसकिने डल्लो अवस्थामा भेटिएको छ ।’

गोठमा भित्र रहेकाचौपाय पनि जलेर मृत अवस्थामा फेला परेको सुरक्षाकर्मीले जनाएको छ । खाना पकाउने भान्सा कोठाबाट आगो गोठमा छिरेर राति आगलागी भएको खत्याड गाउँपालिकाका वडाध्यक्ष हेमराज मल्लको भनाइ छ ।

अध्यक्ष मल्लले भने, ‘लालु, दीपराज र नरदीप तीन वटै दाजुभाईको घरसँगै जोडिएको हुँदा आगलागी आगोबाट जोगाउन सकिएन ।’ इलाका प्रहरी कार्यालय रातापानी र श्रीकोट प्रहरी चौकीबाट सुरक्षाकर्मी आगलागी भएको घटनास्थलमा पुगेर शव निकालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगोमा जलेका तीन वटै घरमा रहेको धनसम्पति पशु वस्तु, अनाज पूर्ण रुपमा क्षति भएको र क्षतिको एकीन विवरण निकाल्ने काम भइरहेको रातापानी इलाका प्रहरी चौकाका इन्चर्ज निवेन्द्र बुढाको भनाइ छ ।

प्रतिक्रिया