बटेश्वर पालिका स्तरिय वक्तित्वकला प्रतियोगिता सञ्चालन

धनुषा । धनुषाको बटेश्वर गाउँपालिकास्थित श्री शिवशक्ति माध्यमिक विद्यालयले पहिलो पटक आयोजना गरेको पालिकास्तरिय वक्तित्वकला प्रतियोगितामा सोही विद्यालय कक्षा दशकी छात्रा चाँदनी कुमारी प्रथम भएकी छन् ।

विद्यालय तहका बालबालिकाहरुको चौतर्फी विकासका लागि शिवशक्ति माध्यमिक विद्यालयले ‘सामुदायिक विद्यालयको वर्तमान अवस्था, चुनौती र सम्भावना’ शिर्षकमा शुक्रबार पहिलो पटक आयोजना गरेको पालिकास्तरिय वक्तित्वकला प्रतियोगिता सोही विद्यालयकी छात्राले जितेकी हुन् ।

यस्तै द्वतीयमा शिवशक्ति मावि कक्षा दशकी छात्रा सपनाकुमारी महतो र तृतीय जनप्रिय माविकी छात्रा नेहा यादव भएकी छन् । उक्त वक्तित्वकला प्रतियोगितामा पालिकाका चारवटा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीलाई सहभागी गराइएको थियो । जसमा तीन छात्र र पाँच जना छात्रा गरीजम्म आठ जना विद्यार्थी सहभागी थिए ।

पालिकास्तरिय वक्तित्वकला प्रतियोगितामा उपस्थित बटेश्वर गाउँपालिकाका उपप्रमुख फुलकुमारी महतोले विद्यालयमा अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिनुपर्ने बताए । उनले यस्ता क्रियाकलापले विद्यालयमा विद्यार्थीको रुचि समेत बढ्नुका साथै विद्यार्थीको व्यक्तित्व विकासमा पनि मद्दत पुग्ने हुँदा पालिकाको प्रत्येक विद्यालयमा यस्ता क्रियाकलाप गर्न आवश्यक रहेको उल्लेख गरे ।

विद्यालय तहका बालबालिकाका लागि वक्तित्वकला प्रतियोगिता आवश्यक रहेको भन्दै पालिकाका शिक्षा शाखा प्रमुख रामलाल महतोले आगामी दिनमा पालिकाको अन्य विद्यालयमा यस्ता कार्यक्रमको आयोजना गर्नुपर्ने बताए । उनले यो प्रतियोगिताले विद्यार्थीले आफ्नो क्षमता समेत प्रस्तुत गर्ने मञ्च पाउने हुँदा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिन्दीलाल महतोले पालिको चारवटा माविमध्ये शिवशक्ति माविले विगतका दिनभन्दा विद्यालयका गतिविधिमा सुधारसँगै विद्यालयका अन्यक्रियाकलापले पनि तिव्रता लिएको बताए । वक्तित्वकला प्रतियोगिताले बालबालिकामा बोल्ने क्षमताको विकास समेत हुने हुँदा यस्ता कार्यक्रम अन्य विद्यालयमा सञ्चालन गर्नमा जोड दिनुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महतोको अध्यक्षतामा आयोजित उक्त वक्तित्वकला प्रतियोगितामा शिवशक्ति विद्यालय व्यवस्थापन समितिका सदस्य, सल्लाहकार समितिका सदस्य, विद्यालयका विद्यार्थी तथा शिक्षकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया