लालबन्दी । प्रहरीले सर्लाहीको हरिवनबाट एक लाख ७२ हजार रुपैयाँ नक्कली नोट र नोट साइजमा काटिएका खाली कागजका बण्डलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बलरा नगरपालिका– ७ का २३ वर्षीय अमरेन्द्र महरा र रौतहटको माधवनारायण नगरपालिका– २ का ३६ वर्षीय सन्जय सहनी रहेका छन् ।
प्रदेश–२–०२७ प ४२५६ नम्बरको मोटरसाइकल र बीआर ३० एसी ८३१८ नम्बरको भारतीय मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको अवस्थामा पूर्वपश्चिम राजमार्गमा पर्ने हरिवन ११ कडरिया चोकबाट बिहीबार दिउँसो उनीहरु पक्राउ परेका हुन् ।
उनीहरु नक्कली नोटको कारोबार गर्ने गिरोहका सदस्य भएको आशंका प्रहरीले गरेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले बताए । उनीहरुले हजार दरका नक्कली नोटलाई तलमाथि राखेर बिचमा हजार नोटको आकारमै कटिङ गरिएका कागजको बण्डल तयार पारेका थिए ।
जुन हेर्दा दुरुस्त हजार दरका नोटको बण्डल जस्तो देखिन्थ्यो । त्यस्ता बण्डल २१ थान बरामद गरिएको गिरीले बताए । चार बन्डललमा भने बाहिर हजार दरका नक्कली नोट र त्यसको भित्रपट्टी टेस्टी विस्कुटका २० पुरिया राखेर र्यापिङ गरेको अवस्थामा फेला छ ।
पक्राउ परेका सहनीको साथबाट सक्कली जस्ता देखिने विभिन्न दरका ३५० रुपैयाँ, सिमकार्डसहितको मोबाइल र महराको साथबाट पनि विभिन्न दरका सक्कली जस्ता देखिने ४१० रुपैयाँ र किप्याड मोबाइल फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले ८ ग्राम ८१० मिलिग्राम गाँजा पनि बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतबाट म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
सर्लाही
प्रतिक्रिया