पाकिस्तानका पूर्वप्रधानमन्त्री खानकी श्रीमती १४ वर्ष जेल भएपछि घरमै सजाय काटिरहेकी छन्

इस्लामावाद । भ्रष्टाचारको आरोपमा बुधबार आफ्ना श्रीमान्सँगै १४ वर्षको कारागार परेकी पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी श्रीमती अधिकारीहरूले आफ्नो निवासलाई आधिकारिक रूपमा ‘उप कारागार’ घोषणा गरेपछि घरमै सजाय काटिरहेकी छन् ।

मुस्लिम आस्था चिकित्सक बुशरा बिबीले आफ्ना श्रीमान् प्रधानमन्त्री हुँदा प्राप्त विदेशी उपहारहरूको बिक्रीसँग सम्बन्धित मुद्दामा सजाय सुनाइएपछि तुरुन्तै बुधबार स्वयंलाई अधिकारीहरूसामु सुम्पिएकी थिइन् ।

मुलुकका गोपनीय कुराहरू चुहाएको दोषी पाइएको मुद्दामा मंगलबार १० वर्षको कारागार सजाय पाएका पूर्वप्रधानमन्त्री खान अहिले पनि मुद्दा चलाइएको रावलपिन्डको अडियाला कारागारमा छन् । पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा उनको कानूनी टिमले सेनाको नेतृत्वमा स्थापित संस्थाले उनलाई आगामी साताको निर्वाचनमा सत्तामा फर्किनबाट रोक्नका लागि सजाय र असंख्य अन्य आरोप लगाएको बताएका छन् ।

उनकी श्रीमती बिबीलाई अडियाला कारागारबाट इस्लामावादको बाहिरी क्षेत्रमा रहेको उनको घरमा स्थानान्तरण गरिएको बुधबार राति सरकारले जनाएको छ । ‘मुख्य आयुक्त, इस्लामावाद क्यापिटल टेरिटोरीका दोषी श्रीमती बुशरा बिबीको निवासलाई सन् २०२४ जनवरी ३१ देखि अर्को आदेश नभएसम्मका लागि उप–कारागारका रूपमा घोषणा गर्न पाउँदा खुशी हुनुहुन्छ’, आदेशमा भनिएको छ । अग्लो कङ्क्रिटको पर्खालले घेरिएको ठूलो परिसरमा रहेको खानको घर राजधानीको आलिशान बानी गाला क्षेत्रमा छ ।

पहिला नै धाँधलीको आरोप लागिसकेको पाकिस्तानमा फेब्रुअरी ७ मा मतदान हुँदैछ । निर्वाचनमा खानलाई निर्वाचनमा उम्मेदवारी दिन रोक लगाइएको छ भने उनको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) माथि ठूलो कारवाही गरिएको छ ।

गत वर्ष खानको पहिलो गिरफ्तारीपछि दंगा भड्किएपछि हजारौँ समर्थकलाई हिरासतमा लिइएको थियो । तीमध्ये करिब एक सय जनाले गुप्त सैन्य अदालतमा मुद्दाको प्रतीक्षा गरिरहेका थिए । बिबीले खानसँग सन् २०१८ मा विवाह गरेकी हुन् । खान प्रधानमन्त्रीमा निर्वाचित हुनुभन्दा केही महिना पहिला दुवैले मुलुकलाई बदनाम र हैरान बनाएका थिए ।

अक्सफोर्डबाट शिक्षित खानले आफ्नो क्रिकेट खेल्ने दिनहरूमा प्लेब्वाइका रूपमा ख्याति कमाएका थिए । प्राय समाजका सुन्दरी र मोडेलहरूसँग उनको फोटो खिचिन्थ्यो । ब्रिटिश करोडपतिकी छोरी जेमिमा गोल्डस्मिथसँग उनको पहिलो विवाह सम्बन्धविच्छेदमा टुंगिएको छ ।

त्यसपछि उनले टेलिभिजन पत्रकार रेहम नैय्यरसँग विवाह गरे । एक वर्षभित्र सम्बन्धविच्छेद भएपछि नैय्यरले ‘किस–एन्ड–टेल’ संस्मरण प्रकाशित गर्नुरेकी थिइन् । तेस्री श्रीमती बिबी सार्वजनिकरूपमा कमै देखिन्छिन् भने बाहिर निस्कँदा अनुहार ढाक्ने हिजाब लगाउँछिन् ।– रासस, एएफपी

प्रतिक्रिया