मुगुसहित कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात, कृषकलाई राहत

मुगु । मुगुसहित कर्णाली प्रदेशका उच्च हिमाली जिल्लाहरूमा आज हिमपात भएको छ । मुगु, हुम्ला, जुम्ला र डोल्पालगायत उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको हो । लामो प्रतिक्षापछि हिमपात भएकाले अब बालीनाली सप्रिने भन्दै किसान खुसी भएका छन् ।

हिउँदे महिना माघ ढल्किसक्दा पनि हिउँ नपर्दा किसान यो वर्षको हिउँदे बाली खेतमै सुकेर जान्छ कि भन्ने चिन्ता थियो । तर हिमपातले किसानलाई आशा जगाएको छ । विगतमा मंसिर, पुसबाटै हिमपात हुने गरेको भए पनि यो वर्ष ढिला गरेर हिमपात भएको हो ।

यो वर्ष माघको १५ कटेपछि बल्ल वर्षकै पहिलो हिमपात भएको छायाँनाथ रारा नगरपालिका– ५ का किसान धनवीर कामीले बताए । ‘पहिले यतिबेलासम्म धेरै हिउँ परिसकेको हुन्थ्यो, मंसिरदेखि नै हिउँ पर्थ्यो, यस पटक माघ लागेपछि बल्ल हिउँ पर्दैछ’, उनले भने, ‘तैपनि हिउँ परेपछि खेती किसानी गर्ने मान्छेलाई राहत मिलेको छ ।’ हिमपात भएपछि गहुँ उमार्नलाई सजिलो हुने उनले बताए ।

रारामा एक फिट हिउँ

नेपालकै ठूलो र गहिरो ताल रारामा करिव एक फिट हिउँ परेको छ । रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका निमित्त वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले विशेष गरी रारालगायत मुगुका उच्च स्थानमा भारी हिमपात भएको बताए ।

मुगुको मुर्माटप, चुचेमारा, घुच्ची, ताल्च, चंखेली, लखु, मुन्दु, लिउडी, बाम घट्टललेक, तलिलेक, सोरूकोट, चाक्पाँडे र करानका उच्च हिमाली भेगमा हिमपात भइरहेको छ । माघ महिनाको तेस्रो हप्तामा भए पनि हिमपात सुरू भएपछि खेतीपाती गर्ने कृषकलगायत स्थानीय बासीन्दाहरुलाई राहत मिलेको स्थानीयको भनाई छ ।

लामो समय वर्षा र हिमपात नहुँदा वातावरण बिग्रिएर रोगब्याधी फैलिनुका साथै खोलानाला र पानीका मुहानसमेत सुकेका थिए । जताततै सुख्खा मौसमले मानिसहरूमा भाईरल रूघाखोकीका बिरामीहरूको संख्या बढ्दै गएको थियो । यस हिमपातले मुगुलगायत साविक कर्णालीका हुम्ला, जुम्ला, डोल्पा, कालिकोट र कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लाका जनताहरूलाई ठूलो राहत मिलेको छ ।

प्रतिक्रिया