मुगु र बाजुरामा फैलिँदै भाइरल इन्फ्लुएन्जा

मुगु । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ पुरुमुरु गाउँमा तीन जनाको ज्यान जाने गरी फैलिएको रुघाखोकी ‘भाइरल इन्फ्लुएन्जा’ भएको पुष्टि भएको छ । सोरु गाउँपालिका–६ का पुरुमुरु र जिमा गाउँमा डेढ साता अघिबाट फैलिएको मौसमी रुघाखोकीबाट तीन जनाको मृत्यु भएको थियो । उक्त गाउँमा १ सय ५० जना थला परेका थिए ।

बिरामीहरूमध्ये १० जनाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । जाँचका क्रममा भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भएको हो । स्थानीय ज्वरोले थलिएपछि चिकित्सकसहितको टोली गाउँ पुगेको थियो । जिल्ला अस्पात मुगुका डाक्टर कमल ढुंगानाले दिएको जानकारी अनुसार उक्त क्षेत्रबाट १ सय ५० जनामध्ये १ सय ३५ जनामा भाइरल इन्फ्लुएन्जाको लक्षण देखिएको थियो ।

परीक्षण गराइएका स्वाबमध्ये एक–एक जनामा कोभिड–१९, एक जनामा भाइरल इन्फ्लुएन्जा ए, अर्को एक जनामा भाइरल इन्फ्लुएन्जा बी र अरू सात जना बिरामीमा भाइरल इन्फ्लुएन्जा भएको रिर्पोट जिल्ला अस्पतालमा प्राप्त भएको डाक्टर ढुंगानाले बताए ।

सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले दिएको जानकारीअनुसार केही समय अगाडिबाट फैलिएको रुघाखोकी नियन्त्रण गर्न गाउँपालिकाले औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरेको छ । उनले बुधबार जिल्ला अस्पातलबाट डाक्टरसहितको टोली गाउँ पुग्ने बताए ।

उपाध्यक्ष शाहीका अनुसार दुवै गाउँमा अहिले बिरामीको संख्या पहिलाको भन्दा घट्दै आएको छ । सोरुगाँउपालिका–६ पुरुमुरु गाउँका ७२ वर्षीय हरिबहादुर शाही, सोही गाउँकी ७५ वर्षीया कृति छत्याल र २४ वर्षीया कुशुम ढोलीको मृत्यु भएको थियो ।

यसैबीच बाजुरा जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएका छन् ।

स्वामीकार्तिक खापर–१ रुडीस्थित माझपाटा आधारभूत विद्यालयमा भाइरल ज्वरो र रुघाखोकीले बालबालिका प्रभावित भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । प्रधानाध्यापक दानबहादुर धामीले भाइरल ज्वरो र रुखाखोकीले बालबालिका प्रभावित हुन थालेकाले थप जोखिम फैलिन नदिन विद्यालय बन्द गरिएकोे बताए ।

एक साताअघि स्वामीकार्तिक गाउँपालिकाको जुकोटस्थित शम्भुसुनन्दा माध्यमिक विद्यालयका बालबालिकामा पनि भाइरल ज्वरोको समस्या देखिएको थियो । अत्यधिक चिसो बढेसँगै रुघाखोकी र भाइरल ज्वरोको संक्रमण देखिन थालेको हो । लामो समयदेखि पानी नपर्दा धुलो र धुवाँका कारण समुदायमा रुघाखोकी फैलिएको स्वास्थ्यकर्मी बताउँछन् ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा.रञ्जित शाहले रुघाखोकी सरुवा रोग भएका कारण हावा र हाँछ्युका माध्मबाट सजिलै एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने भएकाले सुरक्षित रहन आग्रह गरे । संक्रमणबाट जोगिन खानेकुरामा ध्यान दिने, झोलिला खानेकुरा खाने, तातोपानीको प्रयोग गर्ने, न्यानो कपडा लगाउने, हाँछ्यु गर्दा नाख, मुख छोप्ने र हिँडडुल गर्दा वा अन्य व्यक्तिसँगै रहँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने उनले सुझाव दिए ।
स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले बालबालिकामा भाइरल ज्वरोको समस्या देखिएकाले विद्यालय बन्द गरेको जानकारी दिए । भाइरल ज्वरो नियन्त्रणका लागि स्वास्थ्यकर्मीलाई औषधि दिएर उपचारमा खटाउने उनले बताए ।

सरकारी आँकडाअनुसार मौसमी रुघाखोकी ज्येष्ठ नागरिक र बालबालिकामा बढी देखिएको छ ।

बच्नका लागि मौसमी रुघाखोकी लागेका व्यक्तिसँग धेरै सम्पर्कमा नरहन चिकित्सहरूले सुझाव दिएका छन् ।

चिकित्सकहरू हिँड्दा मास्क लगाएर हिँड्न र रुघाखोकीबाट हुने संक्रमणबाट बच्न वर्षमा एकपटक खोप लगाउन सुझाव दिन्छन् ।

‘खोप लगाएपछि रुघाखोकी नै लाग्न नदिने भन्नै होइन, तर यसले पार्ने नकारात्मक असरलाई भने न्यूनीकरण गर्छ ।’

यस्तै टाइफाइडबाट बच्न सफा खानेकुरा खाने र सरसफाइमा विशेष ध्यान दिनु जरुरी रहेको चिकित्सकरुको राय छ ।

वर्षा याममा पिउने पानीको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन् । सफा उमालेको पानी खानु उचित हुने उनीहरूको भनाइ छ । हिँउद याममा भने चिसोबाट बँच्न र झोलिलो तातो कुराहरू खान उनीहरूले सुझाव दिएका छन् ।

नेपालमा पश्चिमी वायुसँगै सिर्जना भएका न्यून चापीय प्रणालीका कारण खासगरी पश्चिम नेपालमा वर्षा र हिमपातको क्रम देखापर्ने जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् । त्यसकारण पनि मौसमी इन्फ्लुइन्जाको संक्रमण अझै बढ्न सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन् । चिसो अझै केही दिने बढ्ने मौसम पूर्वनूमान महाशाखाले गरेको छ ।

पूर्वी तथा मध्य पहाडी क्षेत्रमा समेत छिटफुट वर्षा हुन सक्ने भए पनि पूर्वी तराईका कोसी र मधेस प्रदेशमा त्यसको असर देखिने सम्भावना नरहेको उनीहरूको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारी यो नियमित मौसमी प्रक्रिया भए पनि यसपटक कमै न्यून चापीय प्रणाली देखापरेको बताउँछन् ।

‘मौसममा हलचल आउनका लागि धेरै न्यून चापीय प्रणालीहरू आवश्यक पर्छ । वर्षाका दृष्टिले यसले केही ठाउँमा मात्र फाट्टफुट्टदेखि हल्का वर्षा गराउने सम्भावना छ’, उनी भन्छन् ।

‘तर उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात गराउने सम्भावना छ ।’

नेपालमा मनसुनी वायु बर्सेनि चार महिनाजति पूर्वतिरबाट पश्चिमतर्फ बहने क्रम पाइन्छ भने बाँकी आठ महिना पश्चिमी वायुको प्रभाव रहने गरेको छ ।

यो वर्षको हिउँदको एक महिना जति मात्र समय बाँकी रहँदा हिउँदे वर्षा सरदरभन्दा कम नै पाइएको अधिकारीहरू बताउँछन् ।
हिउँदे खडेरीको रूपमा कतिपयले अहिलेको अवस्थालाई हेरेका छन् । एक जना विज्ञले बुधबारदेखिको मौसमी प्रवृत्तिले त्यसमा ‘खासै राहत नदिने’ बताउँछन् ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभाग प्रमुख प्राध्यापक दीपक अर्याल भन्छन्, ‘सामान्यतः पश्चिमी वायु यतिखेरसम्म नेपालमा प्रवेश गरेर राम्रै पानी पारिसक्थ्यो । गत सालसमेत त्यस्तो भएको थिएन । ओस एकदमै कम छ त्यसैले तराईंतिर पानी पर्ने सम्भावना एकदमै कम छ ।’

मौसममा अस्थिरता देखापरेसँगै हुने गतिविधिले ‘हुस्सु तथा कुहिरो कम हुने, छिट्टै हट्ने र केही स्थानमा मात्र रहने’ सम्भावना हुने मौसमविद् अधिकारी बताउँछन् ।

खासगरी तराईमा मौसम नखुल्दा जनजीवन कष्टकर हुनुका साथै हवाई उडानहरू समेत उल्लेख्य संख्यामा प्रभावित हुने गरेकाले यस मौसमी गतिविधिले त्यहाँ राहत पुग्न सक्ने ठानिएको छ ।

एक किलोमिटरभन्दा कम पारदर्शी हुँदा कुहिरो र एकदेखि पाँच किलोमिटरसम्म पारदर्शी हुने अवस्थालाई हुस्सु भनिन्छ ।

शीतलहर भाइरलपछिको अर्को समस्या रहेकाले केही दिनमा त्यस अवस्थासमेत फेर्न यस पश्चिमी वायुले सघाउने मौसमविद्हरू बताउँछन् ।

प्रतिक्रिया