जनकपुरधाममा मैथिली साहित्य, कला तथा नाट्य महोत्सव सुरु

जनकपुरधाम । जनकपुरधाममा बुधबारदेखि जनकपुरधाम मैथिली साहित्य, कला तथा नाट्य महोत्सव २०८० सुरु भएको छ ।

बुधबार मैथिली विकास कोषले पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको सबै तयारी पूरा भएको जानकारी दिएको छ । बुधबार बिहान ८ बाह्रबिघाबाट बृहत् झाँकी सहितको शोभायात्रा त्यसपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको विशेष उपस्थितिमा महेन्द्रनारायण निधी मिथिला सांस्कृतिक केन्द्रमा समुद्घाटन सत्र भई दिउँसोदेखि नै बहसका सत्रहरू र साँझ मनोरञ्जनात्मक कार्यक्रमहरू रहने कोषका अध्यक्ष जीवनाथ चौधरीले बताए ।

भाषा, कला, साहित्य, नाटक र राजनीतिसहित करिब २० वटा सत्रमा हुने बहस र विर्मशका साथै मिथिला व्यञ्जन, सांस्कृतिक कार्यक्रम, चित्रकला प्रदर्शनी सहितको कार्यक्रमसमेत रहेको कोषले जनाएको छ । २०५८ सालमा स्थापित कोषले हरेक दुई वर्षको अन्तरालमा यो महोत्सव गर्दै आएको छ । महोत्सव बुधबारदेखि २२ गतेसम्म चल्नेछ ।

मधेस विकास सम्मेलनमा पाँच बुँदे प्रतिबद्धता

मधेसमा दिगो विकासको लक्ष्यका साथ जनकपुरधाममा मधेस विकास सम्मेलन २०८० पाँच बुँदे प्रतिबद्धता पत्र पारित गर्दै सम्पन्न भएको छ ।

मधेस प्रदेससभाका अर्थ तथा योजना समितिको आयोजनामा भएको मधेस विकास सम्मेलनले नेपालको संविधानले तय गरेको संघीयताको अवधारणा अनुरूप मधेस प्रदेश सरकारको प्राथमिकताहरूलाई तीनै तहका सरकारबाट पहिचान र कार्यान्वयनका लागि आवश्यक सहजीकरण गर्नका लागि अनुरोध गर्दै प्रदेश तथा स्थानीय तहको क्षमता विकास लक्षित वर्गमा विकासको पहुँच पु¥याउन नीतिगत समन्वय र सहकार्य गरिने उल्लेख रहेको छ ।

यसका साथै दिगो विकासको लक्ष्य प्राप्तिका लागि नेपाल सरकारले राष्ट्रिय स्तरमा गरेको प्रतिबद्धता पूरा गर्नका लागि मधेस प्रदेशसभा, मधेस सरकार तथा मधेस प्रदेशका नीति तथा योजना आयोगले लिएको लक्ष्य तथा नीतिगत विषयहरूको कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघीय निकाय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले सहकार्य समन्वय गरेर काम गर्ने प्रतिबद्धता पत्रमा उल्लेख रहेको छ । प्रतिबद्धताका अन्य बुँदामा प्रदेश नीति तथा योजना आयोगले विकास साझेदारसँग योजना निर्माण, कार्यान्वयन, संयुक्त अनुगम, वार्षिक कार्यप्रगति समीक्षा, विकास साझेदारको डाटाबेस निर्माण गरी विकास साझेदारको विज्ञता अनुरूप नवप्रवर्तन असल अभ्यास, अनुभवलाई मधेस प्रदेशको विकासको नीति कार्यक्रम र बजेटको मूल प्रवाहीकरण गर्ने उल्लेख छ ।

यसका साथै मधेस प्रदेशमा कार्यरत संयुक्त राष्ट्र संघीय निकाय, द्विपक्षीय निकाय अन्तर्राष्ट्रिय तथा स्थानीय विकास साझेदारहरूलाई प्रदेशको प्राथमिकता र लक्ष्य हासिल गर्न जवाफदेही, पारदर्शीताका मापदण्ड पूरा गरी काम गर्न उपयुक्त वातावरण तयार गरिने मधेस विकास सम्मेलनको प्रतिबद्धता पत्रमा उल्लेख रहेको छ । दिगो विकासका लक्ष्य हासिल गर्नका लागि मानवीय, आर्थिक, प्राविधिक र भौतिक स्रोतमा कमी रहेकाले प्रदेश सरकार र विकास साझेदारहरूले थप स्रोतको पहिचान पहुँच र परिचालन गर्ने विकास सम्मेलनले जारी गरेको जनकपुरधाम प्रतिबद्धता पत्रमा उल्लेख रहेको छ ।

कार्यक्रममा बोल्दै मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले मधेस प्रदेशको समृद्धि र विकासविना समग्र देशको विकासका सूचकांकमा सुधार नहुने भएकाले इमानदार सहमति र सहकार्य आवश्यक भएको बताए । उनले नेपालको विकास नहुनुमा व्यक्तिगत विकासको आकांक्षा अधिक रहनु र सामाजिक विकासतर्फ ध्यान नदिनु नै प्रमुख कारणको रूपमा रहेको बताए । मधेस प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले विश्वमा विकासका लागि प्रदेशको आर्थिक स्रोतको व्यवस्थापन केन्द्रले प्रदेशको आर्थिक, सामाजिक, अन्य सूचकांक तथा जनसंख्यालाई आधार बनाएर गरे पनि नेपालमा भने त्यसो नभएको बताए । उनले मधेस प्रदेश सरकारले स्पष्ट कार्ययोजनासहित काम गर्न चाहेको बताउँदै स्रोतको अभाव हुने अवस्था भएको सरकारले चाहेर पनि गर्न नसकेको र प्रदेश सरकारले चाँडै लगानी सम्मेलन गर्ने तयारी गरेको बताए ।

मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिताकुमारी साहले मधेस प्रदेश सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले गरिरहेको कामलाई थप प्रभावकारी बनाउनका लागि एकद्वार प्रणालीमा काम गर्ने गरी नीति बनाउन लागेको जानकारी दिइन् । मधेस प्रदेशसभाका अर्थ तथा योजना समितिका सभापति सतिशकुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया