रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा नगरसभाबारे लामो समयको विवाद पछि सहमति भएको छ । कार्यबाहक मेयर अम्बेया खातुनको अध्यक्षतामा मंगलबार नगरपालिकाको कार्यालयमा बसेको कार्यपालिका बोर्डको बैठकबाट दुईपक्षीय सहमति भएको हो । कार्यवाहक मेयर खातुन पक्ष र नेपाली कांग्रेसका वडा अध्यक्षलगायत पदाधिकारीको सहमतिमा आउँदो फागुन महिनाको ३ गते नगरसभा हुने निर्णय गरिएको छ ।
गत असार १० गतेभित्र हुनुपर्ने नगरसभा हालसम्म नहुँदा फतुवा विजयपुर नगरपालिकाका झण्डै ३ सय ५० जना शिक्षक कर्मचारीले हालसम्म तलब भत्ता खानबाट वञ्चित छन् । सामान्य प्रशासन मन्त्रालयबाट फतुवा विजयपुर नगरपालिकामा उपसचिव सुरेन्द्र प्रधानलाई खटाएपछि प्रधानको विषयलाई लिएर कार्यवाहक मेयर खातुन र केही वडा जनप्रतिनिधिहरूबीच विवाद हुँदै आएको थियो ।
कांग्रेस समर्थित केही वडा अध्यक्षहरू कार्यालय प्रमुखको रूपमा उपसचिव सुरेन्द्र प्रधानलाई कुनै हालतमा हाजिर हुन नदिने आडान राख्दै आएका थिए भने मेयर खातुन जसरी भए पनि प्रधानलाई नै हाजिर गराउँछु भने अडान लिँदा पालिका भित्रका आर्थिक कारोबार ठप्प भएको थियो ।
तर अन्ततः लामो समयको विवादपछि कार्यालय प्रमुखको रूपमा प्रधान नै हाजिर भए । गएको कात्तिक महिनामा कार्यालय प्रमुखको रूपमा प्रमुख प्रशासकीय अधिकृत उपसचिव प्रधान आएपछि ज्येष्ठनागरिक, एकल महिला बालबालिका र अपांगता भएकाहरूको बाल पोषण भत्ता र कर्मचारीहरूलाई तलब खुवाएका थिए । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू जुँगाको लडाइँमा अल्झेको कारण गत असार १० गतेभित्र हुनुपर्ने नगरसभा हालसम्म भएको छैन ।
फतुवा विजयपुरको मेयर अम्बेया खातुनको निर्देशनमा नगरसभा बारे छलफल गरी दिन तोक्न प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले गएको मंसिर महिनाको १७ गते नगर कार्यपालिका बोर्डको बैठक बोलाएका थिए । तर बैठकमा २१ जना कार्यपालिका सदस्य मध्ये कार्यालय समयसम्म मात्र पाँच जना उपस्थित भएका थिए । गणपुरक संख्या नपुगेको भन्दै पुनः २० गतेको लागि बैठक सारिएको थियो । नगर कार्यपालिका सदस्य मध्ये एमाले र अन्य समर्थित उपस्थित भए पनि कांग्रेसबाट निर्वाचित आठ जना वडा अध्यक्ष मध्ये सात जना र अन्य कार्यपालिका सदस्य उपस्थित नहुँदा बाध्य भएर बैठक सारिएको थियो ।
प्रशासकीय अधिकृत प्रधानका अनुसार नगरपालिकाको ११ वडा अध्यक्ष, कार्यपालिका सदस्य, कार्यवाहक मेयरसहित सबै २० जनालाई बैठक बारे चिठी बुझाएर भरपाई समेत गराएको थियो । तालमेल नहुँदा लामो समयदेखि रोकिएको नगरसभा हुने निश्चित भएको हो ।
प्रतिक्रिया