मुगुको पुरुमुरु र जिमामा फैलिएको रुघाखोकी ‘भाइरल इन्फ्लुएन्जा’ भएको पुष्टि

मुगु । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका– ६ पुरुमुरु गाउँमा तीन जनाको ज्यान जाने गरी फैलिएको रुघाखोकी ‘भाइरल इन्फ्लुएन्जा’ भएको पुष्टि भएको छ । सोरु गाउँपालिका– ६ का पुरुमुरु र जिमा गाउँमा डेढ साता अघिबाट फैलिएको मौसमी रुघाखोकीबाट तीन जनाको मृत्यु भएको थियो । उक्त गाउँमा १५० जना थला परेका थिए ।

बिरामीहरूमध्ये १० जनाको स्वाव परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । जाँचका क्रममा भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भएको हो । स्थानीय ज्वरोले थलिएपछि चिकित्सकसहितको टोली गाउँ पुगेको थियो । जिल्ला अस्पात मुगुका डाक्टर कमल ढुंगानाले दिएको जानकारी अनुसार उक्त क्षेत्रबाट १५० जनामध्ये १३५ जनामा भाइरल इन्फ्लुएन्जाको लक्षण देखिएको थियो ।

परीक्षण गराइएका स्वावमध्ये एक एक जनामा कोभिड– १९ , एक जनामा भाइरल इन्फ्लुएन्जा ए, अर्को एक जनामा भाइरल इन्फ्लुएन्जा बी र अरु ७ जना बिरामीमा भाइरल इन्फ्लुएन्जा भएको रिर्पोट जिल्ला अस्पातलमा प्राप्त भएको डाक्टर ढुंगानाले बताए ।

सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले दिएको जानकारी अनुसार केही समय अगाडिबाट फैलिएको रुघाखोकी नियन्त्रण गर्न गाउँपालिकाले औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरेको छ । उनले बुधबार जिल्ला अस्पातलबाट डाक्टरसहितको टोली गाउँ पुग्ने बताए ।

उपाध्यक्ष शाहीका अनुसार दुवै गाउँमा अहिले बिरामीको संख्या पहिलाको भन्दा घट्दै आएको छ । सोरुगाँउपालिका– ६ पुरुमुरु गाउँका ७२ वर्षीय हरिबहादुर शाही, सोही गाउँकी ७५ वर्षीया कृति छत्याल र २४ वर्षीया कुशुम ढोलीको मृत्यु भएको थियो ।

प्रतिक्रिया