सप्तरीमा पेस्तोल र गाँजासहित तीन युवक पक्राउ

राजविराज । सप्तरीमा मोटरसाइकल चोरीमा संलग्न तीन जना युवकलाई पेस्तोल र गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।

सप्‍तरीको महदेवा गाउँपालिका– १ ढिकली घर भई हाल राजविराज नगरपालिका– १ राजदेवी टोल बस्ने २६ वर्षका सुमित मण्डल र भारतको बिहार राज्यअन्तर्गत मधुवनी ग्राम पन्चायत फुलपरास विसनपुर सिस्वा वरही वडा नम्बर ५ बस्ने २७ वर्षका रणवीरलाई प्रहरीले सोमबार पक्राउ गरेकाे हाे ।

गोली लोड गरिएको कटुवा पेस्तोल र लागूऔषध गाँजासहित राजविराजबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । गत १२ माघको राति राजविराज नगरपालिका– ६ स्थित सानिमा बैंक अगाडिबाट पार्किङ गरी राखेको प्र. २-०१-००१ प ८६१४ नम्बरको १६० सिसिको अपाचे मोटरसाईकल चोरी भएको थियो ।

चोरीमा संलग्न व्यक्तिहरुलाई खोजतलास एवम् प्राविधिक अनुसन्धान गर्ने सिलसिलामा १५ माघमा राजविराज– ६ पुरानो बस पार्कबाट प्रदेश ०६-००१ प ०७५७ नम्बरको मोटरसाईकलमा आउँदै गरेका मण्डल समातिएकाे सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ढुन्डीराज न्याैपानेले बताए ।

उनको शरीर तलासी लिँदा निजले लगाएको ज्याकेटको खल्तीमा लोड गरिएको अवस्थामा कटुवा पेस्तोल थान-१ र यसमा लाग्ने ८ एमएम लेखिएको गोली थान-१ फेला परेको उनले बताए । बरामद पेस्तोल र गोली नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछ गर्दा निजले मोटरसाईकल आफूसहित रनबीर मिलेर चोरी गरेको र भारतमा लगी बेचेको बताएको डिएसपी न्याैपानेले बताए ।

उनको बयानका आधारमा यादवको खोजतलास गर्दा १५ माघमै उनलाई BR 32 AT 0139 नम्बरको मोटरसाईकलमा पछाडि भारतमै बस्ने विभस यादवलाई पछाडि बसाई आउदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको शरीर तलासी लिँदा मोटरसाईकलमा पछाडि बसेका विभस यादवको साथबाट लागुऔषध गाँजा ६ सय २ ग्राम फेला परेको प्रहरीको भनाई छ । उनीहरूविरुद्ध हातहतियार खरखजाना, लागूऔषध र चोरीसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया