पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल सजाय

स्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोप्य कुरा चुहाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ।

त्यहाँको एउटा अदालतले खानसँगै पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि कूटनीतिक पत्राचार चुहावट गरेको अभियोगमा १० वर्ष जेल सजाय सुनाएको छ ।

उक्त मुद्दा वासिङ्टन र इस्लामाबादबिचको कूटनीतिक दस्ताबेजसँग सम्बन्धित छ । ती दस्ताबेजहरू आदानप्रदान हुँदा खान पाकिस्तानका प्रधानमन्त्री थिए ।

खानले आफूविरुद्ध लगाइएको आरोप आफ्नो सरकारलाई ध्वस्त पार्ने अमेरिकी षड्यन्त्र भएको दाबी गरेका थिए ।प्रधानमन्त्रीको रूपमा विपक्षीहरूले अपदस्थ गरेका खानले भ्रष्टाचारको आरोपमा दोषी ठहरिएपछि तीन वर्षको जेल सजाय भोगिरहेका छन् । खानले आफूमाथि लगाइएका सबै आरोप राजनीतिक प्रेरित भएको दाबी गरेका छन् ।

गोप्य ऐन अन्तर्गतको सजाय आम चुनावको एक हप्ता अघि आएको छ जसमा उहाँलाई उम्मेदवार हुन निषेध गरिएको छ।

खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का उपाध्यक्ष पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि विशेष अदालतले १० वर्षको जेल सजाय सुनाएको छ ।

खानलाई अगस्टदेखि हिरासतमा राखिएको जेलभित्र स्थापना गरिएको विशेष अदालतमा विगत केही महिनादेखि यस मुद्दाको सुनुवाइ भइरहेको थियो ।– बीबीसी

प्रतिक्रिया