डेढ महिनादेखि उपभोक्ता खानेपानीबाट वञ्चित

वर्षौंदेखि एउटै उपभोक्ता समिति

रौतहट । करिब डेढ महिनादेखि जिल्लाको दक्षिणी भेगमा रहेको सरमुजवा खानेपानीबाट धारामा पानी नआउँदा उपभोक्ता मारमा परेका छन् । सरमुजवामा रहेको पानीट्यांकीको धाराको पानी अवरुद्ध भएको छ ।

खानेपानीको विद्युत्लाइन काटिएपछि पानी आउन छाडेको हो । खानेपानीको बक्यौता महसुुल बुुझाउन नसक्दा लाइन काटिएको बताइएको छ । विद्युत् प्राधिकरणको करिब ११ लाखभन्दा बढी बक्यौता रहेको बुझिएको छ । बक्यौता महसुुल तिर्न उपभोक्ता समितिले कुनै चासो नलिएको उपभोक्ताको आरोप छ ।


सरमुजवामा रहेको पानीट्यांकीको धारामा पानी आउन छाडेपछि पानीको हाहाकार भएको थियो । उक्त पानीट्यांकीबाट सरमुजवा गाउँमा घरघरमा धारा जडान गरिएको छ । तर पानीट्यांकीबाट जडान गरिएको धारामा एक महिनाभन्दा बढी दिनसम्म पानी आएको छैन ।

खानेपानीको धारामा पानी नआउँदा उपभोक्तालाई खानेपानीको निकै समस्या भएको छ । धारामा पानी आउनै छाडेपछि सरमुजवाको खानेपानीका सयौँ उपभोक्ता सास्ती खेप्न बाध्य छन् । स्वच्छ खानेपानीको अभावमा सरमुजवा खानेपानीका उपभोक्ता कलको दुषित पानी पिउन बाध्य भएका छन् ।


धाराको पानीको लागि आफूहरू प्रत्येक महिना शुल्क बुझाउँदै आए पनि खानेपानीको समस्या हुँदै आएको उपभोक्ताको गुनासो छ । धारामा पानी नआउँदा कलकोे दुषित पानी खाँदा विभिन्न किसिमको रोग लाग्न सक्ने भन्दै उपभोक्ताहरूले तत्काल धारामा पानी दिन समितिसँग माग गरेका छन् ।


वर्षौंदेखि उक्त खानेपानी समितिमा परिवर्तन नभएको उपभोक्ताहरूले बताएका छन् । साधारणसभा गर्नै नमान्ने गरेको उनीहरूको गुनासो छ । उपभोक्ता समिति परिवर्तन हुँदा समस्या भएको स्थानीयको भनाइ छ ।

यस विषयमा बौद्धिमाई नगरपालिकाका नगरप्रमुख प्रदीप यादवले समितिलाई तत्काल खानेपानीको लाइन सुचारु गराउन ठाडो आदेश दिए पनि लाइन जडान हुन सकेको छैन । उक्त गाउँ सो नगरपालिकाकी उपप्रमुुख प्रमिला जयसवालको गृह गाउँ पनि हो । तर पनि उनले यसमा चासो दिइकी छैनन् ।

यता खानेपानी उपभोक्ता समितिका अध्यक्ष जुुगुलप्रसाद जयसवालसँग बुुझ्दा उपभोक्ताले खानेपानीको शुुल्क नबुुझाएका कारण समस्या भएको बताए । उपभोक्ताले शुल्क नतिरेका कारण बिजुलीको महसुुल तिर्न नसक्दा प्राधिकरणले लाइन काटेको उनले बताए ।

प्रतिक्रिया