२ कक्षामा पढाइ छाडेर ४ मा भर्ना भएकी गुलाब्सा भइन् प्रथम

बारा । बाराको करैयामाई गाउँपालिकाकी ११ वर्षीया गुलाब्सा खातुनले पढाइबाट आस मारिसकेकी थिइन् । शिशु कक्षादेखि २ कक्षासम्म पुग्दापुग्दै उनी विद्यालयबाट ४ वर्ष अगाडि नै बिट मारिसकेकी थिइन् । विद्यालय गएर पढाइ पूरा गर्ने रहर हुँदाहँुदै गुलाब्सा गरिबी र घरपरिवारको असहयोगले निराश बनेकी थिइन् ।

गुलाब्सालाई फेरि विद्यालय गएर पढाइ सुरु गर्ने विश्वास नै लागेको थिएन । पढाइ छाडेर चार वर्षदेखि घरमै बसिरहेकी गुलाब्साको अवस्थाबारे गाउँकै अन्य किशोरीबाट आरम्भ परियोजनामा खटिएका कर्मचारीले जानकारी पाए । ती कर्मचारीकै पहलमा गुलाब्सालाई आठ महिने सामुदायिक सिकाइ केन्द्रमा भर्ना गराइयो । सिकाइ केन्द्रमा भर्ना भएपछि गुलाब्सासँगै केन्द्रमा पुगेका तिनका अभिभावक पनि पढाइप्रति अभिप्रेरित भएका थिए । अभिभावकले गुलाब्सालाई विद्यालय पठाएर पढाउनुपर्छ भन्दै राजी भएपछि उनी कक्षा ३ मा भर्ना भएर पुनः पढाइ सुरु गरिन् ।

पढाइ सुरु गरेको एक वर्षपछि उनले कक्षा ४ मा ४० जना सहपाठीलाई उछिन्दै प्रथम स्थान हासिल गरेपछि सबै दंग भए । कक्षामा प्रथम भएपछि गुलाब्साका अभिभावकले उनलाई उच्च शिक्षासम्म पढाउने सोच बनाएको बताएका छन् । विद्यालय छाडेर घरमै बसिरहेका १० देखि १९ वर्ष उमेर समूहका किशोरीलाई आरम्भ परियोजनाले पुनः विद्यालय पठाउन सक्रिय भूमिका निर्वाह गरेको करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवले जानकारी दिए ।

गुलाब्साजस्तै १३ वर्षमै बालविवाह गरेर ७ कक्षामै पढाइ छाडेकी दलित समुदायकी २३ वर्षीया राधिकादेवी राम पनि पढाइलाई निरन्तरता दिने अवसर पाएकी छिन् । उनी ५ कक्षा पढ्दापढ्दै अभिभावकले मागी विवाह गरीदिएका थिए । आरम्भ परियोजनाकै पहलमा उनी पुनः ९ कक्षामा भर्ना भई पढाइ सुरु गरेको आसमान नेपालका परियोजनाका प्राविधिक संयोजक अजयकुमार यादवले जानकारी दिए ।

‘विद्यालय बाहिर रहेका किशोरीहरूको सिकाइ अभिवृद्धि तथा शिक्षाको मूलधारमा समावेश गर्नका लागि आरम्भ परियोजना केन्द्रित रहेको थियो’, उनले भने, ‘परियोजनाले समाजमा प्रभावकारी छाप छोडेको अनुभव गरेका छौँ ।’ सन् २०१८ देखि सुरु भएको यो परियोजना सन् २०२३ को डिसेम्बरमा औपचारिक रूपमा सकिएको उनले जानकारी दिए ।

बारा र रौतहटका नौ हजार बढी किशोरकिशोरीहरूको भविष्य उज्वल बनाउँदै आरम्भ परियोजनाको पहिलो चरणको कार्यक्रम सकिएको छ । आसमान नेपाल र सामाजिक संस्था जिल्ला समन्वय समितिको संयुक्त साझेदारीमा सञ्चालित आरम्भ परियोजनाले किशोरीहरूलाई सक्षम एवं आत्मनिर्भर बनाउँदै सरोकारवाला पालिकालाई थप जिम्मेवार बन्न आग्रह गरेको छ । युके एडको गल्र्स एजुकेसन च्यालेन्जको आर्थिक सहयोग तथा पिपुल इन निड नेपालको नेतृत्वमा सञ्चालित परियोजनाले विद्यालय बाहिर रहेकी किशोरीलाई विद्यालय पठाउन तथा उनीहरूलाई स्वरोजगार बन्न सक्षम बनाउन प्रभावकारी भूमिका निर्वाह गरेको बताइएको छ ।

कलैयामा आयोजित आरम्भ परियोजना सिकाइ आदानप्रदान तथा समापन कार्यक्रममा सहभागी पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा पालिकाका शिक्षा शाखा प्रमुखले परियोजनाको सराहना गरेका थिए । परियोजनाले अवलम्बन गरेको नीति तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउन पालिकाले भूमिका निर्वाह गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

उक्त अवसरमा परियोजनाले उपलब्ध गराएको अवसरबाट क्षमतावान बनेका किशोरीहरूले मञ्चमा माइक समातेर आफ्नो अनुभव सुनाएका थिए ।

प्रतिक्रिया