गरुडा । रौतहटको गरुडा नगरपालिकामा लगातार झण्डै एक महिनादेखि तालाबन्दी गरिएको छ । गत २० पुुसदेखि नगरपालिकाको मूल गेटमा ताल्चा लगाइएको छ । लगातारको तालाबन्दीले नगरपालिकाको कामकाज प्रभावित बनेको छ । दैनिक रूपमा आमजनतालाई प्रभाव हुने सेवा अहिले बन्द छ ।
उपमेयर पक्षले विभिन्न ६ बुँदे माग राख्दै विगत तीन सातादेखि गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरी आन्दोलन गर्दै आएका छन् । तालाबन्दी गरेको आइतबार २४ दिन पुुगेको छ । आफ्नो हक अधिकारको माँग गर्दै गरुडा नगर कार्यापालिकाको कार्यालयमा तालाबन्दी गरेको उपप्रमुख पुनम चौधरी र वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूको भनाइ छ ।
उनीहरूले नगरसभाको निर्णय सार्वजनिक गर्नुुपर्ने, आव २०७९÷०८० को खर्च कार्यपालिका बैठकमा पेस गर्नुपर्ने, गोजीका करारका कर्मचारी खारेज गर्नुपर्ने, उपप्रमुख र वडा अध्यक्षलाई अधिकार दिनुपर्ने लगायतका माग राखेका छन् ।
सो नगरपालिकाको मेयर र उपमेयरसहित वडा अध्यक्षबीच उत्पन्न विवाद मिलाउन दुबैपक्षबीच आइतबार जिल्ला प्रशासन कार्यालय रौतहटमा छलफलसमेत भएको छ । यस विषयमा रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसँग बुझ्दा समस्या टुुंगिएको छैन । दुवै पक्षलाई अझै तयारी गरेर आउन भनिएको छ । छिट्टै यो समस्या सामाधान हुने उनले बताए ।
यसबारेमा नगरप्रमुख कन्थमनीप्रसाद जयसवालले भने, ‘आज यस विषयमा सिडियो कार्यालयमा छलफल भएको छ । छलफलमा तालाबन्दी खोलेर वहाँहरूको माग कार्यपालिकामा लैजाने कुरा उठेको थियो । मैले त्यसमा सहमति जनाए । तर, उपममेयर पक्षले असहमति जनाएका कारण वार्ता सफल हुन सकेन् ।’
यता उपमेयर पुनमकुमारी चौधरीले मेयरको तर्फबाट कुनै किसिमको चासो नलिएको आरोप लगाएकी छन् । ‘आइतबार भएको छलफमा आफूले पहिला कार्यपालिका बैठक बसौँ अनि हाम्रो माग सम्बोधन होस्, त्यस पछाडि हामी आफैँ गएर तालाबन्दी खोलिदिन्छौँ भनेकी हुँ । तर, मेयरले आफूूहरूको कुरामा सहमति नजनाउँदा छलफलको टुुंगो लाग्न सकेन’, उनले भनिन् ।
उता राजनीतिक विवादका कारण रौतहटको फतुवा विजयपुर नगरपालिकाका कर्मचारीले तलब खान पाएका छैनन् । सो नगरपालिकामा समयमा बजेट पास नहुँदा त्यहाँका कर्मचारीले तलब पाएका छैनन ।
प्रतिक्रिया