दातृ राष्ट्रहरूले गाजामा सहयोगको निरन्तरता दिऔँ : राष्ट्रसंघ प्रमुख गुटेरेस

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले गत अक्टोबर ७ मा इजरायलमाथि हमासको आक्रमणमा कर्मचारीको संलग्नता रहेको आरोप लागेपछि दातृ राष्ट्रहरूलाई प्यालेस्टिनी शरणार्थी निकाय (यूएनआरडब्लुए) को निरन्तरताको ग्यारेन्टी दिन आग्रह गरेका छन् ।

गुटेरेसले एक विज्ञप्ति जारी गर्दै भने, ‘मैले उहाँहरूको चिन्ता बुझेको छु, म आफैँ यी आरोपहरूप्रति चिन्तित भएको छु, मैले यूएनआरडब्ल्यूएको सहयोगको निरन्तरताको सुनिश्चित गर्न आफ्नो योगदान स्थगित गरेका सरकारहरूलाई जोडदार अपील गर्दछु ।’

इजरायलले हमासको आक्रमणमा यूएनआरडब्लुएका कैयौँ कर्मचारीको संलग्नता रहेको आरोप लगाउँदै आएको छ जसका कारण केही प्रमुख दातृ राष्ट्रहरूले आफ्नो आर्थिक सहायता रोकेका छन् ।

यूएनआरडब्ल्यूएले इजरायलको आरोपको लागि धेरै कर्मचारीहरूलाई बर्खास्त गरेको थियो भने दावीहरूको विस्तृत अनुसन्धान गर्ने प्रतिवद्धता जनाएको थियो । इजरायलले युद्धपछि गाजामा यूएनआरडब्लुएको काम रोक्ने प्रतिज्ञा गरेको थियो ।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय अदालतले शुक्रबार इजरायलले द्वन्द्वमा नरसंहारका सम्भावित गतिविधि रोक्न र गाजामा थप सहायताका लागि अनुमति दिनुपर्ने फैसला सुनाएपछि इजरायल र युएनआरडब्लुएबीच विवाद उत्पन्न भएको हो । गुटेरेसले भनेका छन्, ‘यी कर्मचारीहरूको घृणित कथित कार्यको परिणाम हुनुपर्दछ ।’

‘तर यूएनआरडब्लूएमा काम गर्ने दशौँ हजार पुरुष र महिलाहरू, धेरै मानवतावादी कामदारहरूका लागि सबैभन्दा खतरनाक अवस्थामा, दण्डित हुनुहुँदैन,’ उनले थपे । ‘तिनीहरूले सेवा गर्ने निराश जनसंख्याको आवश्यकताहरू पूरा गर्नै पर्छ,’ उनले भने ।

युएनआरडब्लुएका १२ जना कर्मचारीको नाम उक्त अभियोगमा उल्लेख गरिएको पुष्टि गर्दै नौ जनालाई बर्खास्त गरिएको, एक जनाको मृत्यु भएको र अन्य दुईको पहिचान खुलाइएको गुटेरेसले बताएका छन्।

संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा र स्विट्जरल्याण्डलगायतका आरोपपछि युएनआरडब्लुएका केही प्रमुख दातृ राष्ट्रहरूले आफ्नो सेवा अस्थायी रूपमा स्थगन गर्ने बताएका छन् ।

हमासले शनिबार युएनआरडब्लुएविरुद्ध इजरायलको धम्कीको निन्दा गर्दै संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संस्थालाई धम्की र ब्ल्याकमेलिङमा नजान आग्रह गरेको छ ।

गत अक्टोबर ७ मा इस्लामिक समूहले गरेको आक्रमणमा इजरायलमा करिब एक हजार १४० जनाको मृत्यु भएको एएफपीलाई प्राप्त तथ्यांकमा उल्लेख छ ।

लडाकूहरूले करिब २५० बन्धकहरूलाई कब्जामा लिएकोमा बन्धक तथा बन्दीहरूको आदानप्रदान सम्झौताअन्तर्गत भएको युद्धविरामका क्रममा कम्तीमा १०० बन्धकलाई फिर्ता गरिएको छ भने तीमध्ये करिब १३२ जना गाजामा रहेको बताइएको छ ।

गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबरको अन्त्यदेखि शुरु भएको इजरायली सैन्य कारबाहीमा कम्तीमा २६ हजार २५७ जनाको मृत्यु भएको छ ।– रासस, एएफपी

प्रतिक्रिया