ज्वरोका कारण मुगुमा तीन जनाको मृत्यु, गाउँ र घर–घरमा बिरामी बढे

मुगु । हिमाली जिल्ला मुगुको सोरुगाँउपालिका– ६ पुरुमुरु गाँउमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ । सिजनल ज्वरोका कारण एक साता यता मृत्यु हुर्नेमा सोरुगाँउपालिका वडा नम्बर ६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, वर्ष ७५ की कृती छंत्याल र वर्ष २४ की कुशुम ढोली रहेका छन् ।

पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्च, लगाएतका दर्जनभन्दा बढी बस्तीका घरघरमा ज्वरो, रुगाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने र नाक मुख सुख्खा हुने जस्ता लक्षण देखिने बिरामीहरु रहेका छन् । बिरामीहरुले सिटामोल समेत नपाउँदा थप बिरामीहरुको संख्या बढ्दै गएको छ ।

‘घरमा रहेकी माहीली बुहारीलाई एक हप्ता पहिलेदेखि रुगाखोकी, ज्वरो आउने, खाना खान मन नलाग्ने लक्षण देखिएपछि पालीका केन्द्र नजिकै रहेको मेडिकलमा लगेर उपचार गँरे, औषधि खाए पनि सन्चो नभएपछि मुगु जिल्ला अस्पताल लैजाँदै गर्दा बुहारीको बाटोमै मृत्यु भयो, अहिले मलाई र घरमा भाई बुहारीलाई पनि रुगाखोकीले थला पारेको छ’, बिरामी सलबहादुर ढोलीले भने ।’

नजिकको स्थानीय सरकार र अन्य कुनै पनि निकायले सहयोग नगरेको बिरामी सल बहादुरको गुनासो छ । हाल गाँउभरी बिरामी छन् । स्थानीय सरकार वडा र पालिकाबाट कुनै पनि निकायबाट औषधि नहुँदा निकै समस्या भएको बिरामीहरुको गुनासो छ । स्वास्थ्य संस्था बिरामी लिएर जाम भर्ने बिरामी बोक्ने मान्छेको पनि समस्या छ । स्वास्थ्य संस्था तीन घण्टा टाढा छ ।

एक जनालाई ७–८ सय रुपैयाँ गाडी भाडा लाग्ने गरेको छ । ‘वडा अध्यक्ष, सदस्य, पालिका अध्यक्ष बनाएका छौँ, अहिले कहाँ गएका छन् घर–घर गाँउ बस्ती–बस्तीमा बिरामी धेरै छन, केही कर्मचारी हुर्ने खानेहरुले मेडीकलबाट औषधि किनेर उपचार गर्छन्, हामी आर्थिक नहुनेहरु कता जाउ स्वास्थ्य संस्था जाउँ सामान्य सिटामोल पाइँदैन, घरको जडिबुटीले सन्चो भए भयो नत्र मृत्युबाहेक अर्को विकल्प छैन’, सोरुगाँउपालिका– ६ जिमा गाँउका कर्णजित बुमीले गरिवका दुखेसो सुनाए ।

सोरुगाँउपालिका विभिन्न बस्तीहरुमा भाइरल ज्वरो खोकीका बिरामीहरु बढ्दै गएको र मृत्युसम्म भएको थाहा पाएपछि जिल्ला अस्पताल मुगुसँग सहकार्य गरेर मेडिकल डाक्टर र आरआरसहितको टिम आएर अनुसन्धान गरिएको छ । बिरामीहरुको खकार र रगत चेक गरेपछि मात्र के कारण गाँउमा धेरै बिरामी भएको हुन्, कुन रोग हो भन्न सकिन्छ अहिले को लक्षण हेर्दा मौसम परिवर्तनसँगै सिर्जनल इन्फुलुज भाइरल ज्वरो जस्तो देखिएको सोरुगाँउपालिका स्वास्थ्य शाखा प्रमुख चरीत्र धामीले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय मुगुको डाक्टरसहितको टोलीले मंगलबार सोरुगाँउपालीका ६ पुरुमुरु र जिमा गाँउका १ सय ५० जना भन्दा बढीलाई स्वास्थ्य परिक्षण गरी रुगाखोकी, ज्वरो, शरिर दुख्नेको औषधि वितरण गरिएको र कोभिड– १९, मलेरीया, औलो लगायतको समेत चेक गरिएकोले खासै अन्य कुनै पनि भाइरस नदेखिएको बताइएको छ ।

केही स्थानीय नागरिकहरुको स्वाब परिक्षणको लागि सुर्खेत पठाएको जिल्ला अस्पताल मुगुका डाक्टर कमल ढुंगानाले जानकारी दिए । त्यसको रीपोर्ट आएपछि मात्र कुन भाइरस हो भन्न सकिने र बिरामीका लक्षण हेर्दा मौसमी भाइरस हुन सक्ने डाक्टर ढुंगानाले बताए ।

प्रतिक्रिया