रुकुमपश्चिम । तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धमा ध्वस्त भएका संरचनाहरू अझै निर्माण हुने सकेका छैनन् । २०५२ फागुन १ गते माओवादीले देशभर सशस्त्र विद्रोह सुरु गरेको थियो । रुकुमको आठबिसकोट गाविस राडीलगायत देशका विभिन्न जिल्लामा आक्रमण गर्यो । जनयुद्धमा पहिलो निसाना बनेका संरचना अझैसम्म बन्न सकेका छैनन । सशस्त्र युद्ध सुरु गर्दा तत्कालीन माओवादीले रुकुमको आठबिसकोट राडी, सिन्धुलीको सिन्धुलीगढी र रोल्पाको होलेरी प्रहरी चौकीमा आक्रमण गरेको थियो । २०५२ माघ २९ गते राती आठबिसकोटमा रहेको प्रहरी चौकी घेराबन्दी गरेको माओवादीले फागुन १ गते मात्रै प्रहरीचौकी आफ्नो कब्जामा लियो । जनयुद्ध घोषणा पछिको पहिलो कारबाहीको निशानामा रहेका रुकुमको आठबीसकोटको राडी प्रहरीचौकी, रोल्पाको होलेरी र सिन्धुली जिल्लाको सिन्धुलीगढी प्रहरीचौकी कब्जाको तयारीपछि एकैसाथ माओवादीले युद्ध सुरु ग¥यो ।
हेमन्तप्रकाश ओलीको कमान्ड र गणेशमान पुनको फिल्ड कमान्डमा आठबीसकोट प्रहरी कार्यालय आक्रमण भयो । त्यतिबेला प्रहरीचौकी थियो । २०५२ सालमा आक्रमणले ध्वस्त भएको चौकी निर्माणका लागि २०५४ सालमा जग्गा खरिद भयो । २०५७ सालमा प्रहरीको भवन बन्यो । फेरी चौकी माओवादीले आक्रमण गरेपछि भखरै बन्दै गरेको एकतले भवन पुनः ध्वस्त भयो । केही प्रहरीलाई समेत नियन्त्रणमा लिएर २०५८ सालमा दोस्रोपटक पुनः सोही चौकी आक्रमण भयो ।
दुईपटकको आक्रमणले ध्वस्त भएको प्रहरीचौकी भग्नावशेष संरक्षणमा कसैको ध्यान जान सकेको छैन । आफ्नै जग्गा हुँदाहुदै पनि आठबिसकोट इलाका प्रहरी भाडाकै घरमा बस्दै आएको छ । २८ वर्ष पहिले ध्वस्त भएको प्रहरीचौकी अझैसम्म बन्न सकेको छैन । तत्कालीन माओवादी १० वर्षे सशस्त्र द्वन्द्वताका भत्काइएको प्रहरीचौकीको पुनर्निर्माणले गति पाउन सकेको छैन । ४१ जना प्रहरी कार्यरत रहेको इप्रका आठबिसकोटमा वार्षिक ६ लाखका दरले भाडाको घरमा प्रहरी बस्दै आएका छन् । प्रहरीको आफ्नै संरचना नहुँदा कामकाजमा असहज हुने र असुरक्षित रहेको प्रहरीको भनाइ छ ।
आठबिसकोटसहित जिल्लाका अधिकांश प्रहरीचौकीहरू आज पनि भाडाका घरमा छन् । प्रहरीको आफ्नो भबन नहुँदा सेवा प्रवाहमा समस्या आउने इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रमुख नविन मरासिनी बताउँछन् । भाडाका घरमा बसेका प्रहरी युनिटहरूलाई सबैभन्दा ठुलो समस्या थुनुवा राख्नका लागि पर्ने गर्दछ । आफ्नै जग्गा छ । डिपिआर समेत भइसकेको छ । तर बजेट अभावका कारण निर्माण हुननसक्दा भाडाको घरमा बस्नुपरेको मरासिनीले जानकारी दिए । उनका अनुसार इप्रका आठबिसकोटसहित गोतामकोट चौकी, स्यालाखदी चौकी पनि भाडाका घरमा बस्दै आएका छन् ।
माओवादी सशस्त्र द्वन्द्वको उद्गम भूमि रुकुम पश्चिममा युद्धताका ध्वस्त पारिएका प्रहरीचौकी पुनर्निर्माण नहुँदा प्रहरीलाई कार्य सम्पादनमा सकस परिरहेको छ । स्थानीय सरकार आएपछि केही सहजीकरण गरेर पुननिर्माण गर्ने कुरा भयो । तर प्रहरी र स्थानीय सरकार बीचमा केही आन्तरिक कुरा नमिलेपछि अहिलेसम्म भवन बन्न सकेको छैन् । आठविसकोट–९ का पूर्व वडाध्यक्ष तार शाहीले भने, ‘अघिल्लो सरकारले पहल कदमी गरेर डिपिआर तयार भयो तर निर्माणमा पूर्णता पाएन ।’
ईलाका आएका सेवाग्राहीलाई राख्ने ठाउँ हुँदैन । थुनुवा राख्न समस्या, कम्पाउन्डको समस्या । शौचालयको त्यस्तै समस्यासँगै असुरक्षित रहेर सेवा दिनुपर्ने बाध्यता छ । युद्धको कमान्ड गरेका यही ठाउँका मन्त्रीदेखि गृहमन्त्रीसम्म बने तर आफूले युद्ध सुरु गरेको ठाउँमा एउटा प्रहरी भवनसमेत बनाउन नसक्नु चिन्ताको विषय बनेको छ । तत्कालीन नेकपा (माओवादी) ले आक्रमण गरेको रुकुमको राडी प्रहरीचौकी अहिले आठबिसकोट नगरपालिका–९ मा पर्छ ।
रुकुम पश्चिम
प्रतिक्रिया