अभिभावक र छात्रछात्रालाई प्रशिक्षणको आवश्यकता : अधिकृत श्रीवास्तव

वीरगञ्ज । बालविवाहसम्बन्धी अभिमुखीकरण कार्यक्रम पोखरीया नगरपालिकामा सम्पन्न भएको छ । बालविवाह रोकथाममा पालिकास्तरीय सरोकारवालाले खेल्नुपर्ने भूमिकाबारे अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो । पोखरीया नगरपालिकाका प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवले बालविवाह रोक्न अभिभावक र छात्रछात्रालाई प्रशिक्षण दिनुपर्नेमा जोड दिए । मधेस प्रदेशमा अरू प्रदेशभन्दा बढी बालविवाह भइरहेकोले यस्ता अभिमुखीकरण कार्यक्रमले यस्ता समस्यालाई रोक्न महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । अहिले स्थानीय सरकार भएपछि शिक्षा क्षेत्रमा सुधार भएको कारण बालविवाहमा पनि कमी आएको छ । अहिले पोखरिया नगरपालिकाले पनि बालबालिका र महिलाहरूको हकहितको लागि सामाजिक संस्थामार्फत विभिन्न किसिमको कार्यक्रमको आयोजना गर्ने उनले बताए । बालविवाहले स्वास्थ्यमा समस्या आउनुको साथै ज्यानसमेत जाने भएकाले २० वर्ष नाघेपछि मात्र विवाह गर्नुपर्ने उनले बताए ।

सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानले यस अभिमुखीकरण कार्यक्रममा बालबालिकाको हकहितका लागि र जिम्मेवार निकायलाई जवाफदेही बनाउन कार्यक्रम गरिएको बताए । युनिसेफ नेपालको सहयोग र सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको सहयोगमा आयोजना गरिएको कार्यक्रममा प्रमुखअतिथि नगरपालिकाका उपमेयर रुबि ठाकुर, इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक मोहन विक्रम केसी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया