स्वर्गीय गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कारबाट पासवान सम्मानित

वीरगञ्ज । वीरगञ्जका पुराना पत्रकार एवं राजनीतिकर्मी स्वर्गीय गोपाल गिरीको स्मृतिमा स्थापना गरिएको क्रियाशील पत्रकारिता पुरस्कार वीरगञ्का पत्रकार बृजलाल पासवानलाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाले सोमबार वीरगञ्जमा एक कार्यक्रमको आयोजना गरी पत्रकार पसवानलाई सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य अजय चौरसियाले नगद ५० हजार राशीसहित कदरपत्रबाट पत्रकार पासवानलाई सम्मान गरेका थिए ।

पुरस्कृत पासवान राष्ट्रिय सहारा दैनिकका कार्यकारी सम्पादक तथा राष्ट्रिय दलित पत्रकार संघ पर्साका सल्लाहकार पनि हुन् ।नेपाल पत्रकार महासंघको बैठकले उक्त पुरस्कार पासवानलाई दिने यसअघि निर्णय गरेको थियो ।

उक्त पुरस्कार वितरण कार्यक्रममा‌ नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, पर्सा अध्यक्ष अनुप तिवारी, पुर्व अध्यक्ष अशोक तिवारी, स्व।गिरीका सुपुत्र गिरिश गिरी,पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, नेपाल प्रहरी उपरीक्षक कोमलविक्रम शाह, सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्य लगायतले पुरस्कृत पासवानलाई सम्मानित गरेका थिए ।

स्व गिरी २०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष थिए । तत्कालिन वीरगञ्ज उपमहानगरको मनोनित मेयर रहँदा २०६० साल माघ १ गते तत्कालिन माओवादीले गोपाल गिरीको हत्या गरेको थियो । उनै गिरीको सम्झनामा नेपाल पत्रकार महासंघ पर्साले यो पुरस्कार वितरण गर्दै आएको अध्यक्ष अनुप तिवारीले जानकारी दिए ।

यो पुरस्कारबाट यसअघि वीरगञ्जका पत्रकार शत्रुघन नेपाल, ध्रुव साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, विजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी र गया यादव सम्मानीत भइसकेका छन् ।

प्रतिक्रिया