२८ खर्ब ९० अर्ब डलरमा उक्लियो माइक्रोसफ्टको बजार

क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्ट कर्पोरेशनको बजार पुँजीकरण २८ खर्ब ९० अर्ब डलरमा उक्लिएको छ । शुक्रबार बजार पूँजीकरणको आधारमा सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको एप्पललाई उछिनेर माइक्रोसफ्ट शीर्ष स्थानमा उक्लिएको छ ।

कृत्रिम बौद्धिकता (एआई)मा लगानी गरेसँगै यो वर्ष कम्पनीको शेयर मूल्यमा व्यापक वृद्धि भएको थियो । चीनमा आइफोनको विक्री सुस्ताउँदा यो वर्ष एप्पलको लागि अवस्था जटिल बनेको छ ।

शुक्रबार शेयर बजारमा कारोबार बन्द हुँदा एप्पलको बजार पुँजीकरण २८ खर्ब ७० अर्ब डलर थियो भने माइक्रोसफ्टको बजार पुँजीकरण २८ खर्ब ९० अर्ब डलर थियो । योसँगै माइक्रोसफ्ट पब्लिक्ली शेयर कारोबार हुने विश्वको सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ ।

लगातार बढिरहेको छ । प्रविधि कम्पनीहरुले कृत्रिम मौद्धिकतामा धमाधम लगानी ओइराइरहँदा गएको वर्ष नास्डाक शेयर परिसूचक ५४ प्रतिशतले बढेको थियो । यो उछाल यस वर्ष पनि देखिने विश्लेषकहरुले भविष्यवाणी गरिरहेका छन् ।

तर एप्पलको लागि नयाँ वर्षको शुरुआत राम्रो रहेन । अमेरिकामा कानूनी लडाईका कारण कम्पनीले एप्पल वाच बेच्न पाएन । कम्पनीको शेयर मूल्यको प्रक्षेपण कटौतीको घोषणायता शेयर मूल्य ओरालो लागिरहेको छ ।

बेलायती बैंक बार्कलेजले शुरुमा शेयर मूल्यको प्रक्षेपण घटाउँदा एकै दिनमा एप्पलको बजार पुँजीकरण १ खर्ब डलरले गुमेको थियो । यो वर्ष पनि चीनको समस्या जारी रहने अपेक्षा गरिएको छ । चीनले सरकारी अधिकारीहरुलाई आइफोन प्रयोग गर्न बन्देज लगाइरहेको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा चीनमा आइफोनको विक्री ३० प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया