थारू समुदायको माघी महोत्सव सुरु

बारा । थारू समुदायले नयाँ वर्षका रूपमा मनाउने माघी पर्वका अवसरमा आइतबारदेखि बाराको जीतपुरसिमरा–११ को खैर्वामा दुईदिने माघी महोत्सव सुरु भएको छ । थारू कल्याणकारिणी सभालगायत विभिन्न संघसंस्थाहरूले आयोजना गरेको महोत्सवमा थारू समुदायका मौलिक कला, संस्कृति, गीत, नाच र खानेकुराहरू प्रदर्शनमा राखिएको छ ।

महोत्सवको उद्घाटन मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले गरे । चौधरीले आफ्नो संस्कृति संस्कार जोगाउनका लागि थारूले आफ्नै घरबाट सुरुआत गर्नुपर्ने बताए । थारू संस्कार तथा संस्कृतिको संरक्षण एवं पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि महोत्सवको आयोजना गर्नु थारू समुदायको लागि सुखद् रहेको र आफूले आफ्नो तर्फबाट थारू समुदायलाई सहयोग गर्ने उनले बताए । महोत्सवमा थारू संस्कार संस्कृति, पहिचान झल्किने भेषभुषा तथा थारू परिकारसहित कृषि औजार र हस्तकलाका सामानको स्टलमा प्रदर्शन गरिएको मूल आयोजक समारोह समितिका अध्यक्ष अजय चौधरीले बताए ।

‘थारू संस्कृति जोगाऊ, आफ्नो पहिचान बनाउ’ भन्ने नारासहित सुरु भएको कार्यक्रममा विभिन्न थारू नृत्य तथा झाँकीको पनि प्रस्तुति रहेको थियो । थारू भाषा, कला, संस्कृति, गीत, नाच र मौलिक खानाका परिकार संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जीतपुरसिमरा उपमहानगरपालिका–११ का वडाध्यक्ष बिन्दलाल साहले बताए ।

महोत्सवमा थारू समुदायका विभिन्न खालका नाचहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ । साथै, थारू समुदायका विभिन्न खानाका परिकार पनि महोत्सवमा राखिएको छ । थारू हस्तकला र गरगहना पनि महोत्सवमा प्रदर्शन गरिएका छन् । बारा, पर्सा, रौतहटलगायत पश्चिम तराईका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारू समुदायले माघीलाई महत्वपूर्ण पर्वका रूपमा मनाउने गर्दछन् । माघी नजिकिएसँगै थारू गाउँमा रौनक बढेको छ । माघीमा साताव्यापी रूपमा नाचगान गर्ने र खानपिन गर्ने चलन छ । उक्त महोत्सव उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका–५ का वडा अध्यक्ष दीपेन्द्र चौधरी, वडा–१२ का वडाध्यक्ष श्यामबाबु खाँ, वडा–१३ का वडाध्यक्ष हेमनारायण चौधरीलगायत थारू समुदायका व्यक्तिहरूको उपस्थिति थियो ।

प्रतिक्रिया