सर्लाही । जिल्लाको हरिपुर नगरपालिकाले मंगलबार पनि बिदा दिएको छ । थारू समुदायको बाहुल्यता रहेको सो नगरपालिकामा माघी पर्व अर्थात माघे संक्रान्तिको अवसरमा एक दिन थप बिदा दिइएको नगरपालिकाले जनाएको छ । माघ १ गते सोमबार भने माघे संक्रान्ती पर्वको अवसरमा संघीय सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै नगरप्रमुख गोपाल पंजियारले माघी पर्वको शुभकामना दिएका छन् । सूचनामा माघ २ गते मंगलबार नगरपालिका क्षेत्रमा माघी महोत्सवसमेत आयोजना गरिएकोले सो दिन बिदा दिइएको उल्लेख छ । सो दिन नगरपालिका कार्यालय, वडा कार्यालय, नगरभित्रका विद्यालय र आकस्मिक बाहेकका स्वास्थ्य संस्थामा समेत स्थानीय बिदा दिइएको छ ।
उता जिल्लाकै अर्को बागमती नगरपालिकाले भने मंगलबार शोक बिदा दिएको छ । गएको पुस २० गते बरहथवा घट्नामा गोली लागेर ज्यान गुमाएका जयशंकर साहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पालिकाले शोक बिदा दिएको हो । बागमति–९ स्थित निर्माण चोकमा समेत घर रहेका साहको १३औँ दिनको पूण्यतिथिको अवसरमा शोक बिदा दिइएको पालिकाद्वारा जारी शोक विज्ञप्तिमा उल्लेख छ । बरहथवामा भएको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर साहको ज्यान गएको थियो ।
प्रतिक्रिया