भगवान रामको प्राण प्रतिष्ठाको अवसरमा दीपावली मनाउन आग्रह

जनकपुरधाम । हिन्दू स्वयंसेवक संघद्वारा भारतको अयोध्यामा नवनिर्मित मन्दिरमा भगवान् रामको प्रतिमाको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधामसहित देशभरिमा दीप प्रज्वलन गरी दीपावली मनाउन आग्रह गरिएको छ ।

संघको आयोजनामा जनकपुरधाममा आयोजित धार्मिक संघसंस्था सद्भाव बैठकमा प्राण प्रतिष्ठा हुने दिन जनकपुरधामवासीलाई घरघरमा दीप बालेर दीपावली मनाउन आग्रह गरिएको हो । सयौँ वर्षको प्रतीक्षापछि भगवान् रामको मन्दिर निर्माण भएकाले सो को खुसियालीमा सरिक हुन सबैलाई अपिलसमेत गरिएको हो ।

कार्यक्रममा सहभागी जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले राम मन्दिर निर्माण भएको र सो मन्दिरमा भगवान् रामको प्रतिमाको प्राण प्रतिष्ठा कार्यक्रमको अवसर पारेर जानकी मन्दिरले सप्ताहव्यापी कार्यक्रम गर्न लागेको जानकारी दिए । उनले यसका साथै सीताराम नाम कीर्तनको समेत आयोजना गर्न लागिएको बताए । महन्थ दासले त्यो दिन दीपावली मनाउनुका साथै घरघरमा सीताराम नामको भजन गर्नसमेत आग्रह गरे ।

संघको विभाग संघ चालक पवन ठाकुरको अध्यक्षतामा भएको सो सद्भाव बैठकमा प्रमुख अतिथि राष्ट्र सह संघ चालक कल्याण तिमिल्सिना, गुठी संस्थान कार्यालय जनकपुरधामका प्रमुख आनन्द प्रसाद कर्माचार्य, नेपाल बार एसोसिएसन जनकपुरधामका अध्यक्ष बलराम सुवेदी, प्रदीप शर्मा, मोहन साह हिन्दू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया