ट्राफिक प्रहरीद्वारा सवारी चेकजाँचमा कडाइ

वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा मातहतका क्षेत्रमा सवारी चेकजाँचमा कडाइ गर्न थालेको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउनेको जाँचदेखि द्रुत गति र आवश्यक कागजात समेतको चेकजाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख निरीक्षक भास्कर खतिवडाले जानकारी दिए । उनका अनुसार अहिले रातको समयमा मापसे गरी सवारी चलाएको हो कि होइन भन्ने चेकजाँच बढी गरिन्छ । बढी गतिमा सवारी कुदाएको भए नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने योजना ट्राफिक प्रहरीको रहेको छ ।

सुरुका दिन ६/७ वटा सवारी कारबाहीमा परे, त्यसपछि अहिले सरदर दैनिक तीन÷चार वटा परिरहेका छन् निरीक्षक खतिवडाले भने । ट्राफिक प्रहरीले वीरगञ्जको प्रवेशद्वार र बजार क्षेत्रमा सवारीमाथि निगरानी बढाएको जनाएको छ । निरीक्षक खतिवडाले एकै ठाउँ नबसी सवारीमाथि छड्के जाँच गर्ने योजनासमेत सुनाए । तीव्र गतिमा सवारी चलाउने गरेको जनगुनासो आएको भन्दै उनले आवश्यकभन्दा बढी गतिमा सवारी चलाएको पाइए सवारी र चालक दुवैलाई नियन्त्रणमा लिएर कारबाही गरिने उनले जानकारी दिए । उनले ब्लुबुक र लाइसेन्ससहित कागजात साथमा नभएका सवारीसमेत कारबाहीमा परेको जानकारी दिए ।

त्यस्तै यातायात कार्यालयले ई–रिक्साको लागि सवारी चालक अनुमती पत्र लिन लागू गरेको नियमलाई कडाइका साथ लागू गराउन निर्देशन दिएको निरीक्षक खतिवडाले बताए । पहिलाभन्दा अहिले ई–रिक्साको ड्राइभिङ लाइसेन्स लिएकाहरूको संख्या बढेको उनले बताए । अहिले वीरगञ्जमा भएको अव्यवस्थित ट्राफिकलाई व्यवस्थित बनाउन रुट पर्मिटअनुसार ई–रिक्सालगायत सवारीहरूलाई गाडी चलाउन निर्देशन दिएको उनले बताए ।

अहिले वीरगञ्जलगायत पर्सा जिल्लामा सवारी दुर्घटना धेरै कम भइरहेको छ । सवारी बोक्ने गाडीहरूको सवारी क्षमताअनुसार यात्रु बोक्न लगाउने तथा क्षमताभन्दा बढी यात्रु बोकेका गाडीलाई हदसम्मको कारबाही गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख खतिवडाले ट्राफिक नियमको पालना गर्नु सबैको कर्तव्य हुने भएकाले ट्राफिक नियम उल्लंघन हुन नदिने गरी काम अघि बढाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएको बताए । जिल्ला प्रहरी प्रमुख भएर आउनेबित्तिकै उनले आफ्नो ध्यान ट्राफिक नियमको पालना गर्ने÷गराउनेतर्फ केन्द्रित हुने बताएका थिए ।

साँघुरो बजार क्षेत्रमा हुने यातायात व्यवस्थापन, अव्यवस्थित सवारी व्यवस्थापन र ट्राफिक नियमको पालनामा कडाइका साथ प्रस्तुत हुने उनको प्रतिबद्धता थियो । प्रमुख खतिवडाले सवारी भाडादरसहित अन्य गुनासोको उचित सम्बोधनका लागि गृहकार्य भइरहेको जानकारी पनि दिए ।

प्रतिक्रिया