देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

पाँच महिनामा ६ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा रेमिट्यान्समार्फत मुलुकमा ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २७.६ प्रतिशतले बढेको राष्ट्र बैंकको पाँच महिनाको समग्र आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएको छ । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेको थियो । ‘अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको थियो, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।’ चालु आर्थिक वर्षको पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ७३ हजार ५ सय ५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४ हजार ३७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा २ लाख ३६ हजार ७ सय ७९ जनाले अन्तिम श्रम स्वीकृति र १ लाख १५ हजार ९ सय ४८ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

घट्यो मूल्यवृद्धि

चालू आर्थिक वर्षको ५ महिना अवधिमा अर्थात् २०८० मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत रहेको थियो । ५ महिना अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.१० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८४ प्रतिशत रहेको छ । २०८० मंसिर महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहमा रहेका वस्तुहरुको मूल्यमा कमी आएको छ । त्यस्तै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटाएको तथा २०८० कात्तिक महिनाको तुलनामा मंसिर महिनामा तरकारी, फलफूल, मरमसला, चिनी जस्ता वस्तुहरुको मूल्यमा कमी आएकोले मुद्रास्फीतिमा कम चाप पर्न गएको राष्ट्र बैंकले जनाएको छ ।

बिन्दुगत आधारमा २०८० मंसिर महिनामा आयात मूल्य सूचकांक ३.३ प्रतिशतले घटेको छ भने तलब तथा ज्याला दर र थोक मूल्यको वृद्धि दरमा कमी आएको छ । यसले उपभोक्ता मुद्रास्फीतिमा कमी ल्याउन सहयोग पुगेको छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क क्रमशः १३.६६ प्रतिशत, ८.३७ प्रतिशत र ०.१३ प्रतिशतले घटेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३७.२२ प्रतिशत, फलपूmलको १३.३७ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १३.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ११.३० प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.५९ प्रतिशत र दाल तथा गेडागुडीको १०.५६ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २.४८ प्रतिशतले घटेको छ, भने मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ११.०३ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ५.२४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ । २०८० मंसिर महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४२ प्रतिशत, तराईको ४.२६ प्रतिशत, पहाडको ५.४२ प्रतिशत र हिमालको ७.४६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ६.५६ प्रतिशत, ८.०० प्रतिशत, ७.३२ प्रतिशत र ६.४८ प्रतिशत रहेको थियो ।

वैदेशिक व्यापार

चालू आर्थिक वर्ष २०८०÷८१ को पाँच महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले कमी आई रु.६३ अर्ब २१ करोड कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३४.६ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ११.३ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३२२.३ प्रतिशत र २.३ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोड, जुस, पोलिस्टर धागो, तयारी पोसाक लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैचा, रोजिनलगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा कुल वस्तु आयात ३.४ प्रतिशतले कमी आई रु.६४२ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २०.७ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः १.३ प्रतिशत र २८.४ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३२.८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोशाक, एमएस तार, छड, बार तथा क्वाइल, विद्युत्तीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सुन, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, धान लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा कुल वस्तु व्यापार घाटा ३.१ प्रतिशतले कमी आई रु.५७९ अर्ब रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १८.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.१ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.६३ अर्ब ६६ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.५० अर्ब २० करोड बराबरको भएको थियो ।
समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४९.१ प्रतिशत, पुँजीगत वस्तुको ८.६ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४२.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३.१ प्रतिशत, ९.० प्रतिशत र ३८.० प्रतिशत रहेका थिए । वार्षिक विन्दुगत आधारमा २०८० मंसिर महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक ४.१ प्रतिशतले बढेको छ, भने आयात मूल्य सूचकांक ३.३ प्रतिशतले घटेको छ ।

विदेशी मुद्रा सञ्चिति १७ खर्ब ६७ अर्ब पुग्यो

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालू आवको पाँच महिना अर्थात् मंसिर मसान्तसम्म विदेशी विनिमय सञ्चिति १४.८ प्रतिशतले बढेर १७ खर्ब ६७ अर्ब ४ करोड पुगेको हो । २०८० असार मसान्तमा यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० मंसिर मसान्तमा १३.६ प्रतिशतले बढेर १३ अर्ब ३१ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० मंसिर मसान्तमा १५.६ प्रतिशतले बढेर १५ खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० मंसिर मसान्तमा ८.९ प्रतिशतले वृद्धि भई २ खर्ब १० अर्ब ७९ करोड रुपैयाँ कायम भएको छ ।

२०८० मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०÷८१ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ९८.३ प्रतिशत र २७.५ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।

चालु खाता एवम् शोधनान्तर स्थिति

चालु आवको पाँच महिना (समीक्षा अवधि)मा चालु खाता रु. १४० अर्ब २३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.४१ अर्ब २१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड २२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको छ । पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई रु.२ अर्ब ८७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.३ अर्ब ९२ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.३ अर्ब ४७ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु. ६० करोड ४९ लाखले धनात्मक रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२१० अर्ब ५९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.४५ अर्ब ८६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५८ करोडले बचतमा रहेको छ ।

खर्च तथा राजस्व

नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा नेपाल सरकारको कुल खर्च रु.४५३ अर्ब भएको छ । सरकारी खर्च गत आर्थिक वर्षको पहिलो पाँच महिनामा १२.४ प्रतिशतले वृद्घि भएकोमा, समीक्षा अवधिमा ४.१ प्रतिशतले वृद्घि भएको छ । समीक्षा अवधिमा चालु खर्च रु.३६० अर्ब, पँुजीगत खर्च रु.३६ अर्ब ६ करोड र वित्तीय व्यवस्था खर्च रु.५६ अर्ब ९४ करोड रहेको छ । समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.३६३ अर्ब ४३ करोड भएको छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनामा २०.७ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ११.२ प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व रु.३३७ अर्ब १९ करोड र गैर कर राजस्व रु.२६ अर्ब २४ करोड परिचालन भएको छ ।

सरकारको नगद मौज्दात

२०८० मंसिर मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.१८७ अर्ब ८६ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात रु.७१ अर्ब ९८ करोड रहेको थियो । त्यस्तै, समीक्षा अवधिमा प्रदेश सरकारहरुको कुल खर्च रु.३० अर्ब ७४ करोड र स्रोत परिचालन रु.७० अर्ब २६ करोड रहेको छ । प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.५२ अर्ब ९७ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु.१७ अर्ब २९ करोड रहेको छ ।

पुँजी बजार

२०७९ मंसिर मसान्तमा १८८२.६१ रहेको नेप्से सूचकांक २०८० मंसिर मसान्तमा १९९४.६० कायम भएको छ । २०८० मंसिर मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.३०७६ अर्ब ५२ करोड कायम भएकोे छ । २०७९ मंसिर मसान्तमा बजार पुँजीकरण रु.२७२१ अर्ब ११ करोड रहेको थियो । २०८० मंसिर मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ८९ जलविद्युत् कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ५ अन्य समूहका रहेका छन् । २०७९ मंसिरमा सूचीकृत कम्पनीहरूको संख्या २४७ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६२.३ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १३.५ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.० प्रतिशत, होटेलको हिस्सा ३.२ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.३ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० मंसिर मसान्तमा सूचीकृत ७ अर्ब ९३ करोड शेयरको चुक्ता मूल्य रु.७८६ अर्ब २५ करोड रहेको छ । आर्थिक वर्ष २०८०÷८१ को पाँच महिनामा रु.४४ अर्ब ६५ करोड बराबरको साधारण शेयर, रु.६ अर्ब १० करोड बराबरको हकप्रद शेयर, रु.३ अर्ब ९८ करोड बराबरको बोनस शेयर र रु.३ करोड बराबरको एफपीओ गरी कुल रु.५४ अर्ब ७६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.८ अर्ब ५१ करोड बराबरको साधारण शेयर, रु.४ अर्ब ४० करोड बराबरको डिबेन्चर, रु.२ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड, र रु.१ अर्ब १० करोड बराबरको हकप्रद शेयर गरी कुल रु.१६ अर्ब ५१ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

प्रतिक्रिया