अर्थव्यवस्थाको आजको विश्व परिदृष्य निक्कै अप्ठ्यारोमा

युक्रेन युद्धको पनि त्यस्तै अनिश्चितता बनिरहेको छ । यतिबेला रुसले एकाएक युक्रेनमाथिको हमलालाई तीव्र पारेको देखिँदैछ । सायद यो युक्रेनद्वारा क्रिमियामा नौसैनिक प्रतिष्ठानमाथि गरिएको विनाशकारी हमलाको प्रतिक्रिया प्रेरित पनि हुनसक्छ, जसमा रुसको एउटा युद्धपोत डुबेको थियो । यसका अतिरिक्त त्यहाँ स्थल युद्ध पनि कुनै निकास दिन नसकेजस्तो गरी चलेको र गतिहीन अवस्थामा रहेको देखिन्छ । न रुसले न युक्रेन कुनैले पनि महत्वपूर्ण र निर्णायक गति लिन सकेको देखिन्न ।

लोकनारायण सुवेदी

बितेका वर्षहरूदेखि नै विश्व अर्थव्यवस्थाले ठूलो चुनौतीको सामना गर्नु परिरहेको छ । यो परिप्रेक्षमा सुरु भएको सन् २०२४ मा पनि त्यो भन्दा भिन्न परिस्थिति विकसित हुने अनुमान गर्ने कुनै आधार देखापरेको छैन । यसको अर्थ हो कि विश्व अर्थतन्त्र यो वर्ष पनि अप्ठ्यारोकै बीचबाट गुज्रिने देखिन्छ । यद्यपि आर्थिक पूर्वानुमान गर्नु सधँै नै एउटा जोखिमकै कुरा हुने गर्दछ । आजको विश्व परिस्थितिमा त यो कुरा अझ बढी प्रासांगिक लाग्दछ ।

वास्तवमा भविष्यलाई लिएर प्रायः सधैँ नै विभिन्न किसिमका अनिश्चितताहरू रहिरहेका हुन्छन् । वर्तमानमा त यी अनिश्चितता अझ बढी र विविध रहेका छन् । हुन पनि कसैले भन्न सक्तैन कि अर्को साता के हुने हो ? आउने पूरै वर्षको त झन् कुनै कुरै गर्नु परेन । अब अहिलेको एउटा विश्व परिदृष्यलाई हेरौँ । गाजामा इजरायलले प्यालेस्टिनीहरूमाथि चलाइरहेको नरसंहारकारी युद्धको परणति अब के हुन्छ र यसले कस्तो स्वरूप लिन्छ ? यसले मध्यपूर्वलाई अझ गाज्छ र झन् व्यापकरूपमा फैलिन्छ कि यो युद्धले कुनै स्थायी समाधानको दिशा लिन्छ सम्भावनाहरू अनिश्चित छन् ।

यसरी नै नाटोका कारण उत्पन्न युक्रेन युद्धको पनि त्यस्तै अनिश्चितता बनिरहेको छ । यतिबेला रुसले एकाएक युक्रेनमाथिको हमलालाई तीव्र पारेको देखिँदै छ । सायद यो युक्रेनद्वारा क्रिमियामा नौसैनिक प्रतिष्ठानमाथि गरिएको विनाशकारी हमलाको प्रतिक्रिया प्रेरित पनि हुन सक्छ, जसमा रुसको एउटा युद्धपोत डुबेको थियो । यसका अतिरिक्त त्यहाँ स्थल युद्ध पनि कुनै निकास दिन नसकेजस्तो गरी चलेको र गतिहीन अवस्थामा रहेको देखिन्छ । न रुसले न युक्रेन कुनैले पनि महत्वपूर्ण र निर्णायक गति लिन सकेको देखिन्न ।

यस परिवेशमा चिनियाँ शक्तिशाली अर्थतन्त्र पनि मन्दीको कालखण्डबाट गुज्रिरहेको देखिन्छ । चीनको आवास र रियल स्टेटका व्यापक क्षेत्रमा ठूलो आर्थिक गतिहीनताका कारण त्यहाँ संकट उत्पन्न भएको बताइँदै छ । के आशंका गरिँदै छ भने ठूलो स्तरमा प्रणालीगत रूपमै ती महत्वपूर्ण आवास र बित्त कम्पनीहरू डिफल्टर(दोषी) हुन पुग्ने छन् ।

ताइबानको समस्याले पनि चीनलाई पिरोलिइरहेको छ र चीनले ताइवानको स्थितिलाई पनि गम्भीररूपमा लिँदै आएको छ । अमेरिकाको चीनप्रतिको एक चीन नीतिको उल्लंघन र ताइबानलाई चीनविरुद्ध हावा दिने गतिविधिले स्थितिलाई बिथोलिरहेको छ । त्यसरी नै युक्रेनलाई कमजोर पार्ने रुसको नवीनतम सफलताबाट उत्साहित भएर चीनले अमेरिकी प्रतिक्रियाहरू र सहभागितालाई उल्लेख गर्दैै ताइबानमा दबाब प्रतिक्रिया बढाउन सक्ने स्थिति देखा पर्दैछ ।

माथि उल्लेख गरिएकामध्ये कुनै पनि यस्ता अप्रत्याशित घटनाहरूले यस्ता शक्तिहरूलाई तारो बनाउन सक्छन् जसले विश्व अर्थव्यवस्थाको विद्यमान एककिसिमको सन्तुलन र विकासको गतिलाई बिगार्न या अवरुद्ध पार्न सक्छन् । यस्ता कुराहरू ती देशका र अन्यत्रका पनि केन्द्रीय बैंकहरू तथा नीति निर्माताका लागि पनि निकै गम्भीर चिन्ताका विषय हुन पुग्ने अर्थ विज्ञहरू औँल्याउने गर्दछन् ।

यस्तो स्थितिमा मध्यपूर्वमा फैलिन सक्ने व्यापक युद्धको पहिलो सिकार त्यहाँको तेल बजार हुन पुग्छ र त्यो अपूर्वरूपमा उथलपुथल बन्न सक्छ । यदि कुनै पनि प्रमुख तेल उत्पादक देश इजरायल–हमास युद्धमा सामेल हुन पुग्छन् भने त्यसले तेल उत्पादन र आपूर्तिमा गहिरो प्रभाव पर्दछ नै । यसरी तेल उत्पादन र आपूर्तिमा उत्पन्न हुने व्यवधानले मूल्य वृद्धि हुने र त्यसले समग्र मूल्य स्तर नै नकारात्मकरूपले प्रभावित बन्न पुग्न सक्छ ।

यस स्थितिमा मुद्रास्फितिमा ताजा उछाल आएर आर्थिक सम्भावनाका लागि ठूलो झट्का लाग्ने स्थिति उत्पन्न हुन्छ । झण्डै एक दशकसम्म स्थिर र कम मूल्यपछि विशेष गरेर संयुक्त राज्य अमेरिकामा मुद्रास्फिति बढिरहेको थियो । कतिपय अर्थशास्त्रीले त्यो मुद्रास्फितिलाई अतितको चिन्ता बताएका थिए र कम मुद्रास्फितिको युग सुरु हुन गएको मानेका थिए ।

अमेरिकी मुद्रास्फिति बढिरहेको थियो र अमेरिकी फेडरल सिजर्भले परिभाषित मुद्रास्फितिका प्रवृत्तिहरूको सामुमा बढ्दो दर चक्र सुरु गरिदिएका थिए । अमेरिकामा मुद्रास्फिति ६ प्रतिशतभन्दा बढी हुन पुगेको थियो । अझ केही समयका लागि त त्यो आठ प्रतिशतसम्म पनि पुग्न गएको थियो । तर युद्ध समाप्ति पछिदेखि मुद्रास्फितिको यस्तो स्तर कहिल्यै देखिएको थिएन । फेरि बढ्दो चक्र र केही अन्य कारकहरूका साथ मुद्रास्फिति कम हुन थाल्यो । यतिसम्म कि फेडरल रिजर्भले बढ्दो चक्रलाई उल्टाउने र थोरै राहत दिने बारेमा कुराकानी नै सुरु गरिदियो । यतिबेला मुद्रास्फितिमा कुनै पनि फेरबदलको अर्थ हुन्छ कि फेडरल रिजर्भले ब्याजदरमा वृद्धिका साथै मुद्रास्फितिको लडाइँ पुनः सुरु गर्न सक्छ ।

केही समयदेखि अर्थशास्त्रीहरूका बीच के चर्चा चलिरहको थियो भने के बढ्दो मुद्रास्फिति र फेडको मुद्रास्फिति विरोधी प्याकेजसँगै अमेरिका मन्दीबाट बच्न सक्छ । वास्तवमा यो मन्दी शब्द अब अर्थशास्त्रीहरूका बीच सबैभन्दा बढी उपयोग गरिने शब्द बन्न गएको छ । के मुद्रास्फितिका विरुद्धको लडाइँ पछि अमेरिका मन्दीबाट बच्न सक्ला ? मुद्रास्फिति विरोधी उद्देश्यका लागि मौद्रिक कडाइको चक्रपछि १५ देखि १८ महिनाको अन्तरालमा मन्दी आउने गर्दछ । यस्तो स्थितिमा फेडरल रिजर्भले चक्रलाई कडाइ गर्न सुरु पनि गरिदिएको थियो जसबाट अब मध्यम खालको मुद्रास्फिति देखिँदै छ । तर के मन्दी पुनः आउने हो ? प्रश्न खडा छ ।

हुन पनि अमेरिकामा मन्दीले निश्चितरूपले विश्व अर्थव्यवस्थाका सम्भावनाहरूलाई समाप्त पारिदिने र एकअर्कासँग जोडिएको संसारमा जो कोही पनि प्रभावित हुने स्थिति छ । संयोगवश अहिले अमेरिका मन्दीबाट जोगिएको र श्रमिक बेरोजगारी पनि निकै तल्लो स्तरमा नै रहेको थियो । अमेरिकाले मन्दीबाट आफूलाई कसरी बचायो र पुनः ब्याजका दरहरू बढाइए । अमेरिका अन्ततः मन्दीको स्थितिबाट बच्न सक्छ । अमेरिका सुरक्षित अवतरण हासिल गर्न सक्छ जुन कुरा युद्धपछि भएको छैन । यसो भएमा उसको नीति निर्माण तथा आर्थिक व्यवस्थापनमा चमत्कार हुनेछ ।

एकथरी अर्थविदहरू विश्व अर्थ व्यवस्थाका लागि दोस्रो खतरा चीनबाट उत्पन्न हुन सक्ने उल्लेख गर्दैछन् । चीनको अर्थव्यवस्था पनि मन्द हुँदै गइरहेको ती अर्थविज्ञहरू उल्लेख बताउँदछन् । उनीहरू भन्दैछन्, चीनको आठ प्रतिशत र त्यसभन्दा बढीका ती दिनहरूलाई बिर्सिदेऊ । अब चीनको अर्थ व्यवस्था ६ प्रतिशतभन्दा पनि कम बढ्ने उनीहरूको अनुमान छ ।

यसभन्दा पनि अझ नराम्रो कुरा उनीहरू के भन्दैछन् भने चीन अहिलेसम्म यस्तो आर्थिक मोडेलमा फलिफुलिरहेको र विकसित भएको हो जुन लगातार बढ्दो लगानीको कारण बन्यो । जति बेला चीनको अर्थव्यवस्थामा गिरावट आयो अधिकारीहरूले ठूलो स्तरमा लगानी जारी गर्दिए जसबाट स्टिलदेखि लिएर घरेलु सामानसम्म हर चीजको नयाँ माग पैदा हुन गयो । ती अर्थविदहरूको भनाइ छ, यो मोडेलले अब आफ्नो अन्त्य देखिसकेको छ । क्षमता निर्माणमा लगानि बढाउन अब सम्भव छैन । किनभने बर्षभरीमा पहिला नै बढी क्षमता बनाइसकिएको छ । नयाँ क्षेत्रमा नयाँ सहर खडा भएका तर खालिरहेका छन् । सम्पूर्ण आवास क्षेत्र(हाउजिङ कोलोनी)हरू सुनसान हुन पुगेका छन् र प्रायःजसो प्रबद्र्धनकर्ता कम्पनीहरू गहिरो ऋणमा डुब्न पुगेका छन् र त्यो ऋण तिर्न अब उनीहरू सक्षम छैनन् भनिँदै छ ।

ती अर्थविदहरू भन्छन्– चिन्ता बढाउने कुरा के छ भने सी जिनपिङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टी कर्पोरेटसमेत हरेक कुरामाथि पार्टीको आधिकार सुनिश्चित गरिरहेको छ । उद्यमीहरूलाई धम्कीसमेत दिइने गरेको छ र कतिपय चिनियाँ कम्पनीहरूका मूख्य कार्यकारीहरू बेपत्ता पनि भइरहेका छन् । त्यस्ता आधिकारिक कदमहरूले चीनमा उद्यमशीलताको भावनाको घाँटी निमोठिएको उनीहरू दोष देखाउँदैछन् र भन्दैछन् कि ती कदमले चिनी प्रौद्योगिकीलाई सबैभन्दा नराम्रो किसिमले प्रभावित तुल्याएको छ, जहाँ कतिपय प्रमुख प्रवर्तकहरूको छट्नी गरिएको छ र तिनको पहललाई रोकिएको छ ।

समग्रमा अर्थविदहरू के भन्दैछन् भने अहिले हामी जे देखिरहेका छौँ त्यो दुबै आर्थिक महाशक्तिहरू केही गम्भीर संरचनात्मक समस्याहरूको सामना गरिरहेका छन् जसको समाधान सजिलैसँग हुनेवाला छैन । त्यसको संयुक्त आर्थिक प्रभावले विश्व अर्थव्यवस्थामा र २०२४ अनि त्यसपछिको विकासका सम्भावनाहरूका लागिसमेत ठूलो अर्थ राख्छ ।

यीमध्ये कुनै पनि अप्रत्याशित घटनाले वित्तीय बजारमा प्रतिक्रिया उत्पन्न गर्न सक्छन् र त्यसको परिणामस्वरूप ठूलो स्तरमा धनको प्रवाह हुन सक्छ । अमेरिकामा अनिश्चितताको परिणामस्वरूप उदाउँदा र विकासशील अर्थव्यवस्थाहरूबाट धनको निकासी अर्थात पुँजी पलायन हुनेछ । त्यस प्रकारको पुँजी उडानको विदेशी मुद्राबजारको माध्यमले विकासशील देशहरूको अर्थव्यवस्थामा कैयाँै गुणा धेरै प्रभाव पर्न सक्छ र अन्तिम परिणाम आर्थिक मन्दी नै हुनेछ ।

आशा गरौँ कि यस किसिमको डर फैलाउनु केबल चंगा उडाउनुजस्तै होस् र यस्ता कुरा कहिल्यै प्रकट र प्रभावकारी नहुन् । तर आत्मसन्तुष्टी हुनुभन्दा राम्रो के हो भने चुनौती र खतराका बारेमा राम्रो जानकारी प्राप्त होस् र स्थिति बेलैमा सम्हालिने उपायको खोजी होस् । विगतका कुरा हेर्ने हो भने आखिर बिलम्बका कारण कोभिड महामारीको समस्या झन् कठिन र जटील हुन पुगेको थियो । त्यसैले गम्भीर र गहनरूपमा सोचेर उदाउँदा विकासशील अर्थव्यवस्थाहरूलाई दुई आर्थिक दिग्गजहरूका अर्थव्यवस्थाका खराबी र स्खलनको प्रभावबाट के कसरी जोगाउन र अघि बढाउन सकिन्छ त्यतातिर ध्यान केन्द्रित गर्नु फलदायी हुन सक्ला ।

प्रतिक्रिया