पनौतीमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

काभ्रे । पनौती नगरपालिकाको स्वास्थ्यको प्राथमिक कार्यक्रम ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण प्रारम्भ भएको छ । पनौती स्वास्थ्य चौकी, बल्थली स्वास्थ्य चौकी र मल्पी स्वास्थ्य चौकीले यही पुस १७ गतेदेखि निरन्तर वडाको टोल–टोलमा ७० वर्षदेखि माथिका उमेर समूहका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणसँगै ल्याब परीक्षणसमेत गर्ने योजना रहेको छ ।

पनौतीको १२ वडामै उक्त कार्यक्रमको सुभारम्भ भइसकेको छ । पनौती वडा नं. ७ को ढोकाफल पाटीमा आयोजित आजको कार्यक्रम पनौतीका नगरप्रमुख रामशरण भण्डारी र वडाका अध्यक्ष सविनकुमार ताम्राकारको उपस्थितिमा शुभारम्भ भएको थियो । ज्येष्ठ नागरिकलाई विरामी पुर्जा दिएर नगरप्रमुखले उद्घाटन गरेका थिए ।

नगरप्रमुख भण्डारीका अनुसार राज्य र समाजले उपेक्षा गरेको वर्ग भनेकै ज्ेयष्ठ नागरिक हुन् र उनीहरुको स्वास्थ्य स्याहारमा परिवार, समुदाय र नगरको जिम्मेवारी भएकोले यस्ता कार्यक्रमको आयोजना गरिएको हो । साथै ज्ेयष्ठ नागरिकको स्वास्थ्य बिमा निःशुल्क रुपमा गरिने भएकोले प्रत्येक ज्येष्ठ नागरिकले स्वास्थ्य बिमा बिमाकर्ताबाट गर्न अनुरोध गरेका छन् ।

ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण घरघरमा तथा टोलटोलमा भन्ने नीति तथा कार्यक्रमअन्तर्गत प्रारम्भ भएको यस कार्यक्रमको सुरुवात अघिल्लो आर्थिक वर्षबाट भएको थियो । आज पनौती स्वास्थ्य चौकीले जम्मा ६२ जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण गर्नुको साथै ल्याब परीक्षण गरेको छ । बल्थली स्वास्थ्य चौकीले जम्मा ३३ जना भने मल्पी स्वास्थ्य चौकीले जम्मा ३३ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको थियो ।

स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाका अनुसार यो कार्यक्रम सबै वडामा प्रारम्भ भइसकेको र धेरैजसो ज्येष्ठ नागरिकले सेवा लिएको बताएका छन् । अघिल्लो आर्थिक वर्षमा पनि तीन चरण गरी कार्यक्रम प्रत्येक वडाको टोलटोलमा सञ्चालन गरी जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो । यो वर्ष थप औषधिको समेत व्यवस्था गरिएको बताए ।

बल्थलीको महादेवस्थानको क्लब घरमा सञ्चालित कार्यक्रममा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिनुकासाथै स्वस्थ जीवन यापनका लागि शारीरिक व्यायामको आवश्यक्ता बारे चर्चा गर्दै सम्पूर्ण जेष्ठ नागरिकलाई व्यायाम समेत सिकाइएको थियो । यसले स्वस्थ जीवन यापनमा सघाउने कुरा स्वास्थ्यकर्मीले बताए ।

पनौती नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षणसँग प्रत्येक महिना २ मानसिक क्लिनिक समेत सञ्चालन गर्ने गरेको छ । महिनाको पहिलो शनिबार कुशादेवी र दोस्रो शनिबार पनौती स्वास्थ्य चौकीमा यो क्लिनिक सञ्चालन गर्ने गरेको पाइन्छ । उक्त दिन दुवै क्लिनिकमा १५० जनाको हाराहारीमा बिरामीले सेवा लिने गरेको रेकर्ड छ । पनौतीको ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण यही पुस मसान्तसम्ममा १२ वडामै सम्पन्न भई सक्नेछ ।

प्रतिक्रिया