रौतहटमा ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई भारतीय नागरिकको मृत्यु

रौतहट । रौतहटमा सवारी दुर्घटनामा परी दुई जना भारतीय नागरिकको मृत्यु भएको छ । चन्द्रपुर– ५ स्थित पूर्व–पश्चिम राजमार्गको चिडियादह चोक नजिकै दुर्घटना हुदाँ अटोमा सवार रहेका दुई जना भारतीय नागरिकको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।

अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको ट्यांकरले ज १ ह ४४८५ नम्बरको अटोलाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा अटोमा सवार भारतको सीतामढी जिल्ला दुमरी बस्ने ३५ वर्षीय पिन्कु सिंह र सोही ठाउँ बस्ने २२ वर्षीय अवधेश झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ट्यांकरले ठक्कर दिएपछि घाइते दुवै जनालाई उपचारको लागि वीरगञ्ज लगिएको थियो भने उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै जना नयाँ वर्ष मनाउन नुन्थर आएका थिए ।

पिकनिक मनाएर चन्द्रपुरतिर आउँदै गरेको बेला ट्यांकरले ठक्कर दिएको रौतहट प्रहरीका प्रमुख महेन्द्र श्रेष्ठले बताए । दुर्घटनामा परेर टेम्पो चालक भुपेन्द्र सहनी घाइते भएका छन् भने प्रहरीले ट्यांकर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया