नव वर्षको स्वागतको औचित्य खोइ कसरी स्थापित गर्ने ?

बितेको वर्ष पनि आफ्नो अस्तित्वमा सम्पूर्ण नै थियो, सम्पूर्ण नै हुन्छ र त्यसलाई त्यही समुच्चयमा नै बुझ्नुपर्दछ । नव वर्ष एक किसिमको सुन्दर फूल हो जसमा भविष्यको वीज देख्न सकिन्छ भन्ने पनि गरिन्छ । हाम्रो समय अनुहारको ज्योति, आँखाको आभा रेखाचित्रहरूको सरलताको प्रकाशलाई नव वर्षको द्वारमा देखिन्छ जतिबेला मनिसले त्यसलाई हेर्न चाहान्छ र सम्भावना पनि हुन्छ ।

लोकनारायण सुवेदी

बितेका वर्षहरूका अनेक बोझहरूको भारी नयाँ वर्षले पनि बोकेर हिँड्नुपर्ने बाध्यता विश्वभरी नै सिर्जना भइरहेको छ । न विश्वमा, न नेपालमा सन्तोषको श्वास लिने स्थिति र परिवेश छैन । विश्वमा प्यालेस्टिनी निर्दोष निहत्था जनतामाथि जुन साम्राज्यवादी जातिवादी महा अत्याचार भइरहेको छ त्यसले गर्दा धेरै इसाइहरूले क्रिसमस चाड पनि उत्साह र उल्सासका साथ नमनाउने भएका छन् । धेरैले मनमा विषादको अमिलो मन लिएर मनाउन बाध्य बनेका छन् ।

विश्वमा एकातिर असमानता गरिबी, बेरोजगारी, अभाव, असुरक्षाको माहोलले सर्वत्र गाँजेको छ भने अर्कोतिर हतियारको होडबाजी र सन्त्रास ब्याप्त छ । मन्दीले विश्व अर्थतन्त्र डामाडोल छ । यसका अतिरिक्त मानवद्वेषी प्रकृति–अमैत्री पुँजीवादी विकास प्रणालीले गर्दा जलवायु परिवर्तन, बढ्दो विश्वव्यापी गर्मी र ब्यापक प्रदुषणले विश्व र मानव समाज अपूर्व महासंकट र अस्तित्व संकटकै संघारमा पुगिसकेको छ । हाम्रो देशको बदलिएको भनिएको राजनीतिले पनि देश र जनताको सेवा होइन तिनको निर्मम दोहन गरेर हामी नेपालीहरूलाई जिल्लाराम र खिन्न पारिरहेको मात्र छैन, भ्रष्टाचार, कमिसनखोरी मानव तथा तस्करीले आक्रान्त छ । त्यसैले आज मानिसहरूमा देशका शासक र शासन प्रणालीमाथि नै ठूलो वितृष्णा र ब्यामोह छ । तर यसबाट निस्कने बाटोको पनि खोजी हुँदो छ । हुनु नै पर्छ ।

यस परिप्रेक्षमा जर्जियन क्यालेन्डरअनुसार सोमबारदेखि अन्तर्राष्ट्रिय नयाँ वर्ष २०२४ सुरु भएको छ । पुरानै बोझ टाउकोमाथि बोेकेर नयाँ वर्ष कसरी नयाँ होला भन्ने प्रश्न पनि विश्वव्यापीरूपमै खडा छ । यद्यपि नव वर्ष मनाउने र यसको स्वागत गर्ने पनि आफ्ना आफ्नै तरिकाहरू छन् । कतिपय मानिसले भन्छन् प्रत्येक पल उत्सवका रूपमा बाँच्नु नै नव वर्षको स्वागत हो । यस विचारअनुसार कुनै पनि उत्सवले मानिस भित्रको प्रसन्नतालाई प्रकट गरिदिन्छ । अनि नव वर्षोत्सवले आ–आफ्नो धर्तिको सुगन्धसँग मानिसहरूलाई जोडिदिन्छ ।

वास्तवमा सत्यनिष्ठ मानिसको हृदय यति उदार हुन्छ कि ‘बसुधैव कुटुम्बकम’(अर्थात् विश्वलाई नै आफ्नो घर र बन्धुबान्धव ठान्ने मान्यता)लाई आत्मसात गर्दै आफ्नो स्थानीय पात्रोका साथसाथै विश्व–पात्रोसँग हरेकले आफूलाई कुनै द्विबिधाबिना सम्बन्धित तुल्याउन र जोड्न पुग्दछन् । बितेको वर्षको बिदाई र नव वर्षको पदचापको अमूर्तताले एउटा यस्तो मौन सञ्जाल खडा गरिदिन्छ त्यसले मानिसको सोचको सिर्जनालाई अझ बढी पुष्पित पल्लवित तुल्याउन मद्दत गर्दछ । फलतः मानिसका स्वरहरू आत्मझंकृतिको यो समयको संरचनामै निर्माण हुन थाल्दछन् र यसरी नयाँ अनुभूति गराउँदछन् ।

वास्तवमा बाहिरका सारा दृष्यहरू भित्रको अँध्यारोमा सूर्य समान जलिरहेका हुन्छन् । पटकपटक हामी विगत समय या वर्षलाई सानो या सरल किसिमले बुझ्ने गर्दछौँ । तर पछिबाट थाहा हुन्छ कि त्यो हाम्रो अज्ञानता थियो । बितेको वर्ष पनि आफ्नो अस्तित्वमा सम्पूर्ण नै थियो, सम्पूर्ण नै हुन्छ र त्यसलाई त्यही समुच्चयमा नै बुझ्नुपर्दछ । नव वर्ष एक किसिमको सुन्दर फूल हो जसमा भविष्यको वीज देख्न सकिन्छ भन्ने पनि गरिन्छ । हाम्रो समय अनुहारको ज्योति, आँखाको आभा रेखाचित्रहरूको सरलताको प्रकाशलाई नव वर्षको द्वारमा देखिन्छ जतिबेला मनिसले त्यसलाई हेर्न चाहन्छ र सम्भावना पनि हुन्छ । समयको सिँढीको रेखाचित्र वास्तवमा सरलतामा जटीलताको अर्को रूप हो । अगाडिको जटीलता या सश्लिष्टतालाई बुझ्नका लागि समकालको गठनको परिप्रेक्षलाई बुझ्नुपर्ने हुन्छ । मानुषिक दीप्तिको तटबन्ध भएर समय या परम्पराको नदी नव वर्षका रूपमा अविराम गतिले बगेर गइरहेको हुन्छ । बस, गोधुलीको सघन छायाबाट बढ्दै गएको अन्धकार तथा बितेको समयको गति पथलाई पहिचान गर्नु आवश्यक हुन्छ । त्यसैले, अवश्य पनि विश्वका नयाँ शताब्दीका चुनौतीहरूको सामना गर्न सकिन्छ । किनभने मानिस प्रति प्रवाहमा पनि त्यही खडा भएर रहन सक्तछ पुनर्परीक्षण गर्न सक्छ र भविष्यको भाव भंगीमालाई रूपाकार दिन सक्छ । यो खडा रहने र हिँड्ने बीचको द्वन्द्व हो । यो द्वन्द्व अविरल चलिरहन्छ । अर्थात यो द्वन्द्वात्मक छ ।

नयाँ वर्ष मानिसको कला–स्मृतिलाई उत्कीर्ण गर्ने साधन पनि हो । जडता तोड्नु नै नयाँ समयको अर्को नाम पनि हो । जसमा दमित, निष्प्रेषित, अत्याचारित, हाहाकार भरिएका आर्तनाद र बन्दी स्थितिलाई चुनौतीहरू दिनसक्ने शक्ति हुन्छ त्यो नै सही अर्थमा नव वर्ष हो । नव वर्षको व्यक्तिनिष्ठ सामाजिकता भविष्य हो – व्यक्ति र देशको भविष्य । समाज र विश्वको भविष्य । वास्तवमा आजको समयका यिनै तानाबानाबाट हाम्रो (मानिसको) जीवन निर्मित छ । एक–एक क्षण महत्वपूर्ण छ । प्रत्येक क्षण हाम्रो गतिको क्षण होस्, स्थितिको क्षण होस् । यसैले हामी मानिसलाई समूहवाची बनाउँदछ । सबैसँग हामीलाई जोडिदिन्छ । आजको विश्वको इतिहास सबै ‘हामी’ बन्नका लागि हो । हुनुपर्दछ ।

वास्तवमा प्रत्येक पलपल उत्सवजस्तै जीवन बाँच्नु नै नव वर्षको स्वागत हो । हुन पनि उत्सव साँच्चै उत्सव हो भने त्यसले हामीलाई भित्रैदेखि प्रफुल्लित बनाउँदछ, जगाउँदछ र उठाउन आलोकित गर्दछ । नव वर्षले पनि हामीलाई आफ्नो धरतीको सुगन्धसँग जोडिदिन्छ । हाम्रो हृदय यत्तिको उदार छ कि विश्वको पात्रोलाई हामी आफ्नो माटोसँग सम्बन्धन गर्दछौँ । त्यसैले कोही पराई छैन किनकि हामी पृथ्वीलाई नै घर मान्दछौँ । बितेको वर्षको बिदाई तथा नव वर्षको पदचापको अमूर्तताले एउटा यस्तो सुनसान मौनता खडा गरिदिन्छ त्यसमा हाम्रो सोचका सिर्जना पुष्पित पल्लवित भएर उठ्छ । त्यसले हाम्रो स्वरको आत्मालाई झंकृत तुल्याइदिन्छ ।

आजको विश्वमा आएका सूचनाहरूको महाबाढीले निश्चय नै हामी कतै हराएका जस्तै भएका छौँ । कथित खुल्लापनाको स्वागतमा कतिपय बेला वेबसाइटहरूको स्तरहीन भाषा, एक अर्काप्रति हिलो छ्यापाछ्याप, राजनीतिक समुदायका अन्य वर्गको तुलनामा महाबलिष्ठ बन्दै जानु, सञ्चार माध्यहरू प्रायः कला, साहित्यरहीत बन्दै जानु, विपन्नप्रति पनि असहाय स्थिति आदि हाम्रो समकालीन कुरा बन्दै गइरहेको प्रतीत हुन्छ । आडम्बरी(मुखुण्डोको बढदो महत्वले मानिसलाई दोहोर जीवन जिउन प्रेरित गरिरहेको देखिन्छ । यसले व्यक्ति स्वयंलाई विभाजित गरिदिएको छ । यसमा दृष्टि हराउँछ र त्यहाँ सपना, जीवन, वेदना, मृत्यु सबै पराई हुन थाल्दछन् । अर्थात् समय पनि कपुर उडेजस्तै चिप्लिन्छ गत–विगत वर्षका रूपमा ।

विश्वमा आज पनि समाजका अत्यधिक मानिसहरूको तल्लो वर्गका विभिन्न तप्काहरूमा विषादको छाया परेको छ । जसले असीम दुःख, निस्तरंगा सागरजस्तै जुन कति गहिरो, कति अन्धकार, कति पर्वत गुफा अदिलाई आफ्नो पेटमा समेटेको छ, बाहिर त केवल समयको स्वप्न आभाष मात्र देखिने गर्दछ । नव वर्षमा आफूलाई ल्याउनु मर्म, आशा, भरोसा तथा सही प्रकाश दिनु हो । आखिर कसैले पनि कालखण्डको गर्भको तितीर्षा देख्नु त हो । एउटा मानिसले कतिसम्म अन्धकार सहन सक्तछ ? बितेका वर्षहरूमा जुन अन्धकार, हत्याहरू, मानवद्वेषी अमानवीय र प्राकृतिक घटनाहरूले जुन हस्ताक्षर गरेका छन् त्यो केवल एउटा पक्ष हो । भविष्यको मागको रूपायन पनि विचार तथा साहित्यको काम हो । नव वर्ष त्यसपछि मात्र बन्दछ । नव विश्व पनि तब मात्र बन्दछ ।

हुन त साच्चैको मानिस र एउटा संवेदनशील लेखक कसैलाई पनि थाहा हुन्छ कि मानिसहरूको दुःखको इतिहास तथा तिनको विजयको इतिहास दुबै असीम हुन्छन् । बितेको समयको कथा लामो हुन्छ । त्यो समाप्त हँुदैन तर नव वर्ष वा आगामी वर्षको फूल पनि ओइलाएर मर्ने छैन । किनभने त्यो दिन हामी भित्रको अजेय संकल्प र उन्मेषको सुगन्ध पनि हो । मानिसका लागि बितेको वर्ष र नयाँ वर्षको सन्धि–विन्दु प्रकाश र अन्धकारका हरेक क्षण विपर्य हुँदै गइरहन्छन् र क्षण भंगुरतामा अन्तःप्रज्ञाको अन्तःप्रयोजन । परम्पराले चलेको मनुष्यताको यात्रा नव वर्षका भावातिरेकबाट संयुक्त व्यक्तिको संम्यक, सुसंंगत प्रथम चिन्तन पीठ हो – पार देख्नका लागि । जहाँ मानिसले आफ्नो मनको शाश्वत दिशा रचना गर्दै विचलित हुने समयलाई राम्रोसँग पार गर्ने सामथ्र्य राख्दछ । यो शातत्य नै पृथ्वीको श्रेष्ठतम उद्दीप्त रंग पनि हो ।

यसैले यथार्थतः नव वर्ष आवेगको मनवीयकरणको मात्र सहज पक्षधर प्रस्तुति हो । सबै कुरालाई प्रासांगिक बनाउन सकिँदैन । अभिप्रायहरूको खोजी प्रकारान्तरले नव वर्षकै खोजी हो । यो अन्तहीन मेल पनि हो विगत र आगतको । अर्थात समय र विवेकको । जसरी धानको बोटका पातहरूले धानको महक या वास्नालाई एक तुल्याएर सराबरी गरिदिन्छन् त्यसरी नै नव वर्षले पनि नयाँ सपनाको आभासँग जोडेर हामीभित्र र बाहिर दुबैसँग सुचित्रित गरिदिन्छ । त्यो मानिसको लागि स्वप्नमय, कलामय, अन्नमय संसार तथा भविष्यको रचना हो । नव वर्षमा गहन आवेग र सिर्जनाशील, कल्पनाशीलता हुन्छ जसमा पुनर्निर्माणका आधारमा विभिन्न प्रकारका यथार्थहरूको सिर्जना हुन्छ । जहाँ समृद्धि, मिठास, प्रकाशका रंगहरूको अकथनीय बिम्बाबलीहरू हुन्छन् ।

यसर्थ पनि नयाँ समय विकल्पहरूको अन्वेषण गर्ने समय मानिएको र असहाय हुनु बिरुद्धको एउटा उद्घोष पनि हो । आधारहीन हुनु, एक्लो हुनुका साटो एउटा नयाँ प्रत्याशा पनि । एउटा यस्तो निष्ठालाई बदलिनका लागि विकल्पतर्फ निरन्तर अग्रसर पनि । राजनीतिक, आर्थिक व्यवस्थाप्रति असन्तुष्ट तर सकारात्मक सोच भएका विचारलाई नियन्त्रण नगर्ने दिशामा अग्रसर, बहुबिध सञ्चार माध्यम, जनमत, बिचार, सिद्धान्तमा बहुआयामिकता देख्ने कलाप्रिय, सिर्जनशील या सिर्जनाधर्मीहरूले नव वर्षलाई परिवर्तन तथा मनुष्यताको मंगलद्वारको रूपमा लिएका हुन्छन्, लिनु पर्दछ । यहाँ आफूका अतिरिक्त अरूका लागि पनि सम्मानजक स्थान छ । यही समय विभिन्न सयम पनि हो । पुरातनमा नूतन लुकेको छ, नूतनतामा अतिनूतनको उन्मेष । अनि संकल्पको आँच पनि । नव वर्षहरू जनसाधारण विजय वर्षहरू बनुन् र तिनलाई सही बुझौँ र मानवीय शातत्यको दिशामा सही किसिमले अघि बढौँ ! यी नै शब्द फूलहरूका साथ अन्तर्राष्ट्रिय नव वर्ष २०२४ लाई स्वागतम् सुस्वागतम् !

प्रतिक्रिया