बिरुवा उत्पादन गर्न झिमरुकमा नर्सरी निर्माण गरिँदै

प्युठान । झिमरुक गाउँपालिकाले बिरुवा उत्पादन गर्न नर्सरी निर्माणको काम थालनी गरेको छ । झिमरुक–५ मच्छीस्थित सेवा केन्द्रको जग्गामा भिरालो जग्गालाई सम्याउँदै गहरा निर्माण गरी नर्सरी निर्माण गर्न लागिएको हो ।

प्युठानको उत्तरी पूर्वी झिमरुक र गौमुखी गाउँपालिका क्षेत्रका किसानलाई आयआर्जनसँग जोडेर लैजाने उदेश्यले नर्सरी निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले बताए । आगामी सिजनदेखि यस क्षेत्रमा रहेका किसानले मच्छिमा बन्न लागेको नर्सरीबाट आवश्यक बिरुवा पाउने गरि काम अगाडि बढाइएको अध्यक्ष एमसीले जानकारी दिए ।

यस क्षेत्रमा नर्सरी नहुँदा किसानलाई जिल्लामा गएर बिरुवा लिने झन्झट भएको भन्दै जिल्ला वन कार्यालय र झिमरुक गाउँपालिकाको समन्वयमा नर्सरी निर्माणको सुरु गरिएको अध्यक्ष एमसीले बताए । नर्सरी निर्माण भएपनि यस क्षेत्रका किसानले बिरुवाको लागि जिल्ला पुग्नुपर्ने समस्या हटेर जाने उनले बताए ।

अहिले नर्सरीको काममा गाउँपालिकाले बजेट व्यवस्था गरेको छ । झिमरुक सब डिभिजन वन कार्यालयका अधिकृत कमलप्रसाद पुनले भने, ‘निर्माणको काम सकिएपछि बिरुवा उत्पादनको काम हामीले यसै वर्षबाट सुरु गर्ने तयारीमा छौँ ।’ उनले भने, ‘अहिले कुन–कुन बिरुवा यो क्षेत्रमा राम्रो उत्पादन हुने गर्छ, सर्वेक्षण गर्दै छौँ ।’ त्यस्को आधारमा बिरुवा उत्पादन गर्ने र उत्पादित बिरुवा किसानलाई वितरण गर्ने वन अधिकृत पुनले जानकारी दिए ।

निर्माण हुन लागेको नर्सरीमा करिब ३० हजार बिरुवा उत्पादन गर्न सकिने उनले बताए । तत्कालको लागि अमला, दालचिनी, टिमुर, सुन्तला र कमला जातका बिरुवालाई उत्पादन गर्ने तयारी रहेको वन अधिकृत पुनले जानकारी दिए । नर्सरी बनाउने जग्गा अभावमा बिरुवा उत्पादन गर्न सकिएको थिएन । उनले पालिकाले जग्गा निर्माण गरिदिएपछि तत्काल बिरुवा उत्पादन गर्न वन कार्यालयले छिट्टै काम थाल्ने बताए ।

सोमबार गाउँपालिकाका अध्यक्ष महतरा क्षेत्रीको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाही, वन अधिकृत कमलप्रसाद पुन, वडा नम्बर १ र ८ का वडाध्यक्ष धुर्वराज खनाल र तुलसबहादुर बस्नेतलगायतले निर्माणाधीन नर्सरीको अनुगमन तथा निरीक्षण गरेका थिए ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया