पर्साकाे सिक्टा खोलामा मोटरसाइकल खस्दा एक जनाको मृत्यु

पर्सा । पर्साको धोबिनी गाउँपालिका वडा नं २ भिखमपुर सिक्टा खोला नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भिखमपुर सिक्टा खोला नजिक गण्डक नहरमा खसेर भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटनामा परेको हो ।

सोमबार बिहान गण्डक नहरमा खसेको अवस्थामा मोटरसाइकल र मान्छे देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय जानकीटोलबाट प्रहरी पुगेर मोटरसाइकल र मानिसको शव बाहिर निकालेको बताइएको छ । गण्डक नहरमा खसेर मृत्यु हुनेमा भारत बिहार बेतिया जिल्ला चनपटिया थाना क्षेत्रको जईतिया गाउँका ४० वर्षीय भुलाई राम रहेको प्रहरीले जनाएको छ ।

मृतकको शव र बीआर २२ बी ९४१६ नम्बरको हिरो होण्डा प्रो मोटरसाइकल रहेको हो । प्रहरीका अनुसार आईतवार रातीको समय मृतक राम आफ्नो ससुराली लक्ष्मीपुर गाउँ तर्फ गईरहेको अवस्थामा सिक्टा पुल नजिक गण्डक नहरमा खसेको हुन सक्ने अनुमान गरिएको छ ।

शवको प्राकृतिक पहिचान गरि मुचुल्का उठाई पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमारविक्रम थापाले जनाएका छन् ।

प्रतिक्रिया