विधान विपरीत सञ्जाल कब्जा गरेको आरोप

धनुषा । जानकी महिला सञ्जाल धनुषामा विधान विपरीत हस्ताक्षर परिवर्तन गरी रकम हिनामिना गर्न खोजेको भन्दै सञ्जालकी संस्थापक अध्यक्ष मालती ठाकुरले आपत्ती जनाएकी छन् । जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै ठाकुरले पदाधिकारीसहित कार्यसमितिलाई बेवास्ता गर्दै दुई जना कर्मचारीले परियोजनाको खाता परिवर्तन गराउँदै कार्यालयका सम्पूर्ण डकुमेन्टहरू नियन्त्रणमा लिएको भन्दै उनले आपत्ती जनाएकी हुन् ।

महिला अधिकार मञ्च, महिला सेवा केन्द्र, दलित नारी समाज, दलित महिला उत्थान समाज, महिला संरक्षण मञ्च, धनुषा महिला समाज, प्रगतिशील नेपाल, क्षीरेश्वरनाथ महिला अधिकार संस्था, नारी विकास केन्द्र, मित्र धनुषालगायत गरी ११ वटा संस्था मिलेर लुज फोरमको रूपमा जानकी महिला सञ्जाल २०६४ सालमा गठन गरिएको थियो जुन अहिले आएर विवादमा परेको छ ।

पत्रकार सम्मेलनमा सञ्जालका कार्यक्रम संयोजक देवकुमार महतो र लेखाअधिकृत आलोक पटेलको मिलिभगतमा सञ्जालका पदाधिकारीलाई छलेर कार्यालयसहित परियोजनाको सम्पूर्ण कागजातपत्रहरूसमेत नियन्त्रणमा लिएर संस्थाको गरिमा र विधान विपरीत कार्य गरेको संस्थापक अध्यक्ष ठाकुरले बताइन् ।

महिलाहरूको विभिन्न ११ वटा संस्था मिलेर गठन गरिएको सञ्जाललाई विगतमा मित्र धनुषाले समेत छलेर तत्कालीन अध्यक्षले आफ्नो छोरासहितकालाई नियुक्त गरी ४६ लाख रुपैयाँको परियोजना नै हिनामिना गरेको आरोप उनले लगाइन् । उनले कार्यक्रम संयोजक महतोले सञ्जालको पदाधिकारीसहित कार्यसमितिलाई समाज कल्याणको कामकारवाही गर्नुपर्ने भन्दै कार्यालय तथा परियोजनाको सम्पूर्ण कागजातहरू नियन्त्रणमा लिन सफल भएको आरोप लगाइन् ।

उनले सञ्जालका अध्यक्ष रिना मण्डलसहितकाले जिल्ला प्रशासन कार्यालय धनुषामा दिएको उजुरी उपर कारबाही प्रक्रिया अघि बढाउनका लागि मागसमेत गरिन् । उनले महिलाहरूको सञ्जाललाई नै कब्जामा लिएर दुई जना कर्मचारीले रकम हिनामिना गर्न खोजेको प्रस्ट भएको बताइन् ।

सञ्जालका अध्यक्ष रिना मण्डल, सचिव सीमाकुमारी पण्डित र कोषाध्यक्ष लता लामालाई हटाइ नयाँ म्याइन्युट खडा गरी कार्यक्रम संयोजक महतो र लेखाअधिकृत पटेलले कार्यालय र खाता सञ्चालनसम्बन्धी निर्णय गर्दै करिब एक लाख रुपैयाँ हिनामिना गर्न खोजेको आरोप लगाइएको छ ।

लुम्बिनी विकास बैंकमा रहेको खातामा अध्यक्ष र कोषाध्यक्षको नाम हटाएर कार्यक्रम संयोजक महतो र लेखाअधिकृत पटेलले आफ्नो नाममा संयुक्तरूपमा खाता खडा गरी ७७ हजार ४ सय ७२ रुपैयाँ र २२ हजार ४ सय ८६ रुपैयाँ गरी ९९ हजार ९ सय ५८ रुपैयाँको दुई वटा चेक बनाएर बैंकबाट निकाल्न खोज्दा सञ्जालकी अध्यक्षसहित पदाधिकारीहरूले बैंकका प्रबन्धक र जिल्ला प्रशासन कार्यालय धनुषालाई समेत सो खाताको रकम रोका गर्न भन्दै आरोपित कार्यक्रम संयोजक महतो र लेखाअधिकृत पटेलमाथि कारवाहीको समेत माग गरेको छ ।

प्रतिक्रिया