काठमाडौं । सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा जन्मकैदको सजाय तोकिएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कार्यकर्ता मोहन ठाकुरलाई जेल चलान गरिएको छ ।
असई विकको हत्यामा जिल्ला अदालत, महोत्तरीले सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो । ठाकुरलाई जलेश्वर कारागार पठाइएको हो। जन्मकैदको सजाय तोकिएका ठाकुरलाई प्रहरीले कैद भुक्तानको लागि शुक्रबार जिम्मा लगाएको जलेश्वर कारागारका प्रमुख रामचन्द्र साहले बताए ।
मधेश प्रदेश सभामा लोसपा संसदीय दलका नेता अभिराम शर्मासहित अन्य ६ जना अझैसम्म फरार छन् । शर्मा मधेश प्रदेशका राज्यमन्त्री पनि भएका थिए ।
जिल्ला अदालतले असई विकको हत्या मुद्दामा मंसीर २८ गते प्रदेश सभा सदस्य शर्मा, जलेश्वर नगरपालिकाका पूर्व मेयर रामशंकर मिश्र, सुरेश पाण्डे, धर्मेन्द्र राय, मोहन ठाकुर, संजय साह र प्रदीप माझीलाई जन्मकैदको सजाय सुनाएको थियो । त्यस्तै, एम्बुलेन्स आगजनी मुद्दामा पनि सात जनालाई जनही ६ महीना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको थियो।
सांसद शर्माले आफू फरार नभई निर्वाचन क्षेत्रमा काम गरिरहेको तथा फैसला सम्बन्धी कुनै जानकारी प्राप्त नभएको सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका थिए ।
मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका असई विकलाई आन्दोलनकारीले घाइते बनाएका थिए । उनलाई थप उपचारको लागि जनकपुर लग्दै गर्दा आन्दोलनकारीले बाहिर निकालेर एम्बुलेन्स आगजनी गरेका थिए घाइते बिकलाई कुटपिट गरिएको थियो जस कारण उनको मृत्यु भएको थियो ।
महाेत्तरी
प्रतिक्रिया