बोदे बर्साईन नगरस्तरीय अतिरिक्त क्रियाकलाप कुशमहारमा सम्पन्न

सप्तरी । सप्तरीको बोदे बर्साईन नगरपालिकामा नगरस्तरीय शुक्रबार अतिरिक्त क्रियाकलापहरू सम्पन्न भएका छन् । बोदे बर्साईन नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा अतिरिक्त क्रियाकलापहरू सम्पन्न भएका हुन् । नगरपालिकाको वडा नम्बर ३ कुशमहार स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा एक कार्यक्रमका बीच प्रतियोगिताको रुपमा अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिएका थिए ।

नगरभरीका विभिन्न विद्यालयका विद्यार्थीहरुको अन्तर निहित प्रतिभा पहिचान गर्ने र उनीहरुको क्षमतामा अभिबृद्धि गराउन आपसमा प्रतिस्पर्धा गर्न मनोबल बृद्धि गर्ने उद्देश्यले अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको कार्यक्रमका प्रमुख अतिथि बोदे बर्साईन नगरपालिकाकी कार्यवाहक नगरप्रमुख रेणु कुमारी साहले बताइन् । प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयको सहभागिता रहेको थियो ।

बिभिन्न तहका विद्यार्थीहरुलाई तहगत रुपमै अतिरिक्त क्रियाकलाप गर्न लगाइएको थियो । कक्षा १ देखि ५ सम्मका लागि चित्रकला प्रतियोगिता गराइएको थियो । जसमा छात्र तर्फ आवि खमगडाका आकाशकुमार महतो प्रथम, प्रावि जाजरका मोहम्द अमिर अलि द्धीतीय र मािव नेगडाका जीवनकुमार साह तृतीय भएका छन । छात्रा तर्फ माबि सारस्वरकी मुन्नी खातुन प्रथम, आवि कुशमहारकी मनमाया चौधरी द्धीतीय र आवि भाटिनकी पूर्णिामा कुमारी पन्डित तृतीय भएकी छन ।

त्यसैगरि कक्षा ६ देखि ८ सम्मकालागि नृत्य प्रतियोगिता सञ्चालन गरिएकोमा काचन मावि प्रथम, बोदे बर्साईन मावि द्धीतीय र कुशमहार आवि तृतीय भएका छन् ।

त्यसैगरि कक्षा ९ देखी १२ सम्मकालागि बादविवाद प्रतियोगिता सञ्चालन गरिएकोमा छात्र तर्फ मावि सारस्वरका इन्द्रदेव यादव प्रथम, मावि मानराजाका सतेन्द्र कुमार यादव द्धीतीय र मावि बोदे बर्साईनका बिकास मघैया तृतीय भएका छन् । छात्रा तर्फ मावि मानराजाकी कल्पनाकुमारी यादव प्रथम, मावि बोदे बर्साईनकी भुमिरानी साह द्धीतीय र मावि काचनकी बेबीकुमारी यादव तृतीय भएकी छन् ।

यसरी सबै तहका विद्यार्थीहरुको सहभागिता गराइ नगरपालिकाले पटक पटक अतिरिक्त क्रियाकलाप सञ्चालन गरेकोमा विद्यार्थीहरु खुसी भएका छन् । नगरभित्रका विद्यालय र विद्यार्थीहरुका लागि नगरपालिकाले पटक पटक यो नमुना काम गरेको भन्दै स्थानीयहरुले प्रशंसा समेत गरेका छन् । उता आयोजक नगरपालिकाअन्तरगत शिक्षा, युवा तथा खेलकुद शाखाले पनि अभिभावकको भुमिका निर्बाह गरेकोमा बोदे बर्साईन नगरपालिकालाई र कार्यक्रममा सहभागी सबै विद्यालय तथा विद्यार्थीहरुलाई धन्यवाद दिएको छ ।

शाखाले भनेको छ, ‘कार्यक्रम संचालनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी हुने सम्पूर्ण शिक्षाप्रेमी महानुभावहरु, जनप्रतिनिधिज्यूहरु, शिक्षक, विद्यार्थी, कर्मचारी लगायत मूल्याङ्कनमा सहगोग गर्ने निर्णायक मन्डलका मास्टर सन्दिप मन्दल, कार्यक्रम व्यवस्थापनमा कुशल र प्रभावकारी नेतृत्व लिनुहुने अतिरिक्त क्रियाकलाप सञ्चालन समिति र कार्यक्रमको सभापति बिधालय व्यवस्थापन समितिका अध्यक्ष समत लाल चौधरीले उपस्थित सम्पूर्ण महानुभावहरुमा हार्दिक आभार तथा धन्यवाद ब्यक्त गर्दछौं ।’

कार्यक्रममा कार्यवाहक नगरप्रमुख साहले सम्पूर्ण सहभागी विद्यालय तथा विद्यार्थीहरुलाई धन्यवाद दिइन् । नगरले पहिलो प्राथमिकतामा शिक्षालाई राखेको भन्दै नगरप्रमुख साहले यस्ता कार्यक्रमलाई आफूले निरन्तरता दिने र त्यसका लागि आगामी बर्षहरुमा अझ थप बजेटको व्यवस्था गर्ने पनि प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा बोदे बर्साईन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामसागर यादवले कार्यक्रम व्यवस्थापनमा केही सानातिना व्यवस्थापकीय कमजोरी रहेको भए तीनलाई आगामी दिनमा सुधार गर्दै लैजाने प्रतिबद्धता ब्यक्त गरे । प्रमुख यादवले आगामी दिनमा कार्यक्रम संचालन स्थल नगरपालिका अन्तर्गतका सम्भाव्य सबै विद्यालयहरुमा आलोपालो रुपमा संचालन गरिने र विद्यार्थीको चौतर्फी विकासको लागि पाठ्यक्रम र क्लान्डरले तोके अनुसार यस्ता किसिमका अतिरिक्त क्रियाकलाप निरन्तर रुपमा संचालन गरिने पनि जानकारी दिए ।

प्रतिक्रिया