जनकपुरधाम । भारतको अयोध्यामा भगवान् श्रीरामको मूर्ति बनाउनका लागि नेपालबाट लगिएको शिलाबाट मूर्ति निमार्ण गर्न नसकिएपछि त्यसलाई शालिग्रामको रूपमा पूजा गरिने भएको छ । गत फेब्रुअरीमा कालीगण्डकी नदीबाट दुई वटा शिला अयोध्या पठाइएको थियो । यिनीहरूको तौल क्रमशः १४ टन र २७ टन थियो । कालीनदी तटबाट संकलन गरिएका यी शिला जानकी मन्दिरमार्फत अयोध्या पठाइएको थियो ।
प्राप्त जानकारी अनुसार यी शिला कालीगण्डकी नदीको भएको अनि त्यहाँको ढुंगा शालिग्राम बराबर भएकोले ती शिलालाई मूर्ति बनाउन प्रयोग गर्न नसकिने केही सन्तको मान्यता थियो । शिलाको जाँचपछि मूर्तिकारहरूले यस्तो शिलाबाट मूर्ति बनाउन सम्भव नभएको बताएपछि अरू ढुंगाले मूर्ति बनाइएको बताइएको छ ।
१४ टनको शिलालाई शालिग्राम मानेर २७ टनको शिलामा मूर्ति कोर्न खोजिएको थियो । तर त्यो शिला पनि मूर्ति बनाउन उपर्युक्त नपाइएपछि दुबैलाई राम मन्दिरको निर्माणस्थल नजिक राखियो । राम मन्दिरको गर्भगृहमा राख्न भारतको अलग अलग स्थानबाट ल्याइएको ढुंगाहरूबाट तीन वटा मूर्ति बनाइएको भारतीय सञ्चार माध्यमले भनेका छन् । यीमध्ये सबैभन्दा राम्रो मूर्तिलाई छानेर गर्भगृहमा राखिएको थियो । शिलाबाट मूर्ति नबनाइएको भए पनि शालिग्रामको रूपमा पूजा गर्नुपर्ने भन्दै नेपालका केही प्रतिनिधिहरूले जोड दिइरहेका छन् ।
अयोध्यामा निर्धाणधिन राम मन्दिरमा जनवरी २२ मा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम छ । ट्रस्टले यसको तयारीका लागि पाहुनाहरूलाई निम्तो पठाउन पनि सुरु गरेको छ । मन्दिरको गर्भगृह निर्माणको काम चौबिसै घण्टा भइरहेको छ । समयमै काम सम्पन्न गर्ने प्रयास भइरहेको छ ।
प्रतिक्रिया