लालबन्दी । सर्लाहीको लालबन्दीमा रहेको लालबन्दी नगर वाङ्मय परिषद्ले सिर्जनात्मक लेखन तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । लालबन्दी नगर वाङ्मय परिषद्को ऐन, २०७७ बमोजिम स्थापित लालबन्दी नगर वाङ्मय परिषद्ले विभिन्न राष्ट्रिय तथा स्थानीय स्तरका साहित्यिक कार्यक्रम गर्दै आएको छ ।
विद्यार्थीको सर्वाङ्गीण विकासमा सिर्जनात्मक लेखन तथा प्रशिक्षणले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने विश्वासका साथ यही पुस १४ गते शनिबार गजल, कविता र गीत लेखन तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको परिषद्का अध्यक्ष अच्युत अधिकारीले बताए । नेपाल संस्कृत विश्वविद्यालयका प्राडा देवी नेपाल उक्त प्रशिक्षण कार्यक्रमको प्रमुख प्रशिक्षकका रूपमा रहनेछन् ।
लालबन्दी नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका छात्र र छात्राहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न उक्त कार्यक्रम कोशेढुंगा साबित हुने परिषद्का कोषाध्यक्ष विवश पौडेलले बताए । लालबन्दी नगरपालिका– ५ मा अवस्थित एभरेस्ट एकेडेमी माध्यमिक विद्यालयले उक्त कार्यक्रमको संयोजन गर्ने छ ।
कार्यक्रममा सहभागी छात्रछात्रा तथा शिक्षकलाई प्रमाणपत्र प्रदान गरिने र छिट्टै मधेस प्रदेशमा प्रदेशस्तरीय गजल महोत्सव गरिने आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया