शुद्धोधन गाउँपालिका बालविवाह तथा जातीय छुवाछूत मुक्त वडा घोषणा

कपिलवस्तु । जिल्लाको शुद्धोधन गाउँपालिका–२ बालविवाह तथा जातीय छुवाछूत मुक्त घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, जनप्रतिनिधि तथा सरोकारवाला निकायले बालविवाह र छुवाछुत सामाजिक तथा कानुनी अपराध भएकाले यसको अन्त्य हुनुपर्ने प्रतिबद्धतासहित हस्ताक्षर गरेर वडालाई बालविवाह र छुवाछुत मुक्त घोषणा गरिएको हो ।

घोषणा सभामा बोल्दै सभामुख घर्तीमगरले बालविवाह तथा छुवाछुतलाई कानुनले वर्जित गरे पनि समाजमा अझै पनि देखिएको बताएका छन् । उनले घोषणासँगै व्यवहारमा उतार्नका लागि समुदायलाई सचेत गराउन पर्ने बताए । ‘अब बालबालिकालाई मात्र होइन बुवाआमालाई पनि सचेत गराउनुपर्छ । कुरीतिलाई जरैबाट हटाउन विद्यालयमा अतिरिक्त पाठ्यवस्तु समावेश गर्न जरुरी छ’, सभामुख घर्तीमगरले भने ।

घोषणा समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य मधुसूदन शरण चौधरी, लुम्बिनी प्रदेश पूर्वमन्त्री सहसराम यादव, जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश आचार्यले मधेसमा सामाजिक विकासको लहर चल्न लागेको बताए । पालिकाका दुई वडामा बालविवाह र छुवाछुत मुक्त अभियान सफल भएको गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले बताए ।

यस्तै, अघिल्लो वर्ष वडा–१ मुक्त घोषणा गरिएको थियो । तीन वर्षभित्र गाउँपालिका बालविवाह र छुवाछुत मुक्त घोषणा गर्ने अभियान सञ्चालन गरिएको अध्यक्ष चौधरीको भनाइ छ ।

पालिकाको वडा–२ कार्यालय, बालविवाह तथा छुवाछुत विरुद्धको निगरानी समिति, किशोरकिशोरी सञ्जाल तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको अगुवाइमा बालविवाह तथा छुवाछुत मुक्त वडा घोषणा भएको वडा अध्यक्ष मनोजकुमार यादवले बताए । वडामा सन् २०१९ मा १० प्रतिशत बालविवाहको तथ्यांक थियो ।

अघिल्लो वर्ष दुई प्रतिशत र चालु वर्षमा बालविवाह शून्य रहेको सिद्धार्थ सामाजिक केन्द्रका कार्यक्रम संयोजन धनेश्वरी घर्तीले बताए । किशोरकिशोरी समूहको सक्रियतामा गत वर्ष जन्ती आएको विवाह रोक्न सफल भएको किशोर किशोरी सञ्जालका सदस्य पुनम थारूले बताए ।

प्रतिक्रिया