भूमिराज कैराला मेलामा ७२ जनाले लिए स्वास्थ्य सेवा

बझाङ । बझाङ जिल्लाको विथ्थडचिर गाँउपालिका– ९ मा लाग्ने धार्मिक तथा ऐतिहासिक मेला भूमिराज कैराला मेलामा आएका भक्तालुहरुले स्वास्थ्य सेवा लिएका छन् । दुई दिनसम्म चलेको उक्त मेलामा वडा कार्यालयको समन्वयमा सुनकुडा स्वास्थ्य चौकीबाट खटिएका स्वास्थ्यकर्मीहरुको टोलीले मेला हेर्न आएका ७२ जनाले प्राथमिक स्वास्थ्य सेवा लिएका हुन् ।

मेलामा विथ्थ्डचिर गाँउपालिका– ९ लगायत विथ्थडचिर गाँउपालिकाभरका र छिमेकी पालिका केदारस्यु गाँउपालिका, बैतडीको सिगास गाँउपालिकाबाट पनि मेला अवलोकन तथा दर्शन गर्नेहरुले स्वास्थ्य सेवा लिएका हुन् । उक्त मेलामा त्यहाँका स्थानीयहरुले भगवान् भूमिराज कैरालाको पूजा आरधना गरी रातभर जाग्राम बसेर पूजा गरे मनले सोचेको पूरा हुने धार्मिक जनविश्वास रहेको त्यहाँका बुढापाकाहरु बताउँछन् ।

परापूर्वककालदेखि लाग्दै आएको मेला कोरनाका कारण चार वर्षदेखि बन्द अवस्थामा रहेको र यो वर्ष मेला सञ्चालन गर्न पाउँदा स्थानीयहरु निकै खुसी भएको र मेलामा स्थानीय वस्तुहरुको पनि व्यापार भएको वडाध्यक्ष तथा गाँउपालिकाका प्रवक्ता हरिचन्द्र जोशीले बताए ।

वडाध्यक्ष जोशीले आफ्नो कला संस्कृति लाई जगेर्ना गर्न विभिन्न ठाँउबाट डेउडा कलाकार ल्याएर डेउडा खेलको आयोजना गरेको र यसको विभिन्न ठाँउमा प्रचारप्रसारको लागि वडा कार्यालयले विभिन्न क्षेत्रसँग समन्वय गरेर जिल्लाकै धार्मिक तथा ऐतिहासिक मेला बनाउन आफूहरु लागिपरेको बताए ।

बिगत चार वर्षदेखि बन्द भएको मेलामा स्थानीय उत्पादन सुन्तला, केरा, बदामलगायत विभिन्न खाले फलफूलहरु विक्री गर्न नपाउँदा खुसी भएको बताए । यसअघि बजारसम्म पुर्याउन समय लाग्ने भएकाले उत्पादन भएको वस्तुहरु बारीमा कुहिने र नष्ट हुने गरेको उनले बताए ।

यस वर्ष वडा कार्यालयको समन्यवमा मेला सञ्चालन भएपछि आफूलाई निक्कै खुसी लागेको र बारीमा फलेका फलफूलहरु बेचेर आम्दानी हुने भएकाले यस मेलालाई आर्थिक तथा भौतिकरुपमा व्यवस्थीत गर्न सहयोग गर्ने वडा कार्यालप्रति आभारी भएको ६८ वर्षीय स्थानीय मानबहादुर ढाटले बताए ।

पहिला महिलाहरुलाई घरको काम घाँस दाउरा चुलो चौको गर्दा आफ्नो स्वास्थ्यको बारेमा चेकजाँच गर्न समय समेत नहुँदा अहिले स्थानीय सरकार भएपछि घरआँगन चाडपर्व मेलाहरुमा समेत स्वास्थ्य चेकजाँच गर्न पाँउदा निक्कै खुसी लागेको स्थानीय महिलाहरु बताउँछन् ।

यो मेला गाँउपालिकाको मात्रै नभई जिल्लाकै प्रशिद्ध धार्मिक मेला भएकाले यस्ता धार्मिक तथा पर्यटकीय मेलाहरुको प्रचारप्रसरकक लागि र यिनिहरुको संरक्षणमा स्थानीय सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने स्थानीय बताउँछन् ।

प्रतिक्रिया