रुकुमपश्चिम । बुधबार राती भूकम्पपीडितका लागि राहत बोकेको रा १ द १४ नम्बरको ट्रयाक्टर दुर्घटना भयो । भूकम्पले जोगिएका रुकुमपश्चिमका पाँच जनाको दुर्घटनामा परेर ज्यान गयो । जसोतसो भूकम्पबाट बाँचेका उनीहरू अस्थायी आवास निर्माणका लागि जस्तापाता लिएर घर फर्कंदै थिए । त्रिपालमा रात कटाइरहेका भूकम्पपीडितहरू सरकारले दिएको पहिलो किस्ता रकमबाट अस्थायी आवास बनाएर छानोमुनि बस्ने सपना सजाएर घर फर्कंदै गर्दा बीचबाटोमै खुसी लुटियो । त्यो सपना पूरा भएन । एकै घरका श्रीमान श्रीमतीसहित पाँच जनाको घटनास्थलमै मृत्यु भयो । उनीहरू भूकम्पले घर चिराचिरा पारेपछि त्रिपालमा बस्दै आएका थिए ।
बुधबार बेलुका आठबिसकोट नगरपालिका–९ राडीबजारबाट अस्थायी आवास निर्माणका लागि चाहिने सामग्री लिएर साढे ९ बजेतिर घर्तीगाउँ र नाउलातर्फ हिँडे । घरमै ट्रयाक्टर जाने भएपछि उनीहरू पनि त्यहि ट्रयाक्टरमा चढे । उनीहरूसहित अन्य गाउँका मानिस पनि ट्रयाक्टरमै थिए । २१ वर्षका गोपाल विकले चलाएको ट्रयाक्टरमा ६ सय २० वटा जस्ता, १० बोरा चामल, १ बोरा नुन र चालकसहित २१ जना मान्छे सवार थिए । चालकका अनुसार लोड धेरै बढी भएर उकालो गुम्तीमा पल्टिएको हो । ग्रामीण सडकमा त्यो पनि लोडले भरिएको ट्याक्टरमा २१ जना मान्छे ? जसको परिणाम दुःख बेहोर्नुपरेको छ । ट्रयाक्टरमा रहेका २१ जना मध्ये पाँच जना हाम फालेर भागेको चालक विक बताउँछन् । अन्य १४ जना मध्ये पाँच जनाको मृत्यु भयो भने नौ जना घाइते अवस्थामा छन् ।
घटनाको प्रत्यक्षदर्शी केशव शाही भन्छन्, ‘सामान बोक्ने ट्रयाक्टरले यति धेरै यात्रु बोक्नु गलत कुरा हो । घुमाउरो सडकमा क्षमताभन्दा धेरै लोड भएपछि दुर्घटना भएको देखिन्छ । त्यति भिरालो जमिन पनि छैन । दुरी टाढा पनि छैन । सडकबाट ३० मिटर तल खसेको छ । क्षमता भन्दा बढी भएकै कारण गाउँमा दुःखद् घटना घटेको छ । सम्बन्धित निकायले यसलाई गम्भीरतापूर्वक लिन जरुरी छ ।’
भूकम्पले दिएको पीडा भुल्न, पुस महिनाको चिसोबाट जोगिन टिन ल्याएर अस्थायी आवास बनाएर खुसी जीवन बिताउने सपना देखेका दम्पतीको समेत ज्यान गयो । बिहानै आठबिसकोट–१० नाउलाबाट टिन लिन राडीबजार पुगेका श्रीमान श्रीमती घर फर्केर आएनन् । ४६ वर्षका लोकबहादुर शाही र ४२ वर्षकी उनकी श्रीमती चुकीकुमारी शाही बीचबाटोमै अस्ताए । घर पुग्न ३० मिनेट मात्रै बाँकी थियो तर उनीहरूले घर नजिकै रहेको च्यारीगाउँ खोलास्थित बीचबाटोमै ज्यान गुमाउनुप¥यो । तीन छोरा र एक छोरी सन्तान भएका शाही दम्पती चाँडै अस्थायी आवास निर्माण गरेर रोजगारका लागि बाहिर जाने योजनामा थिए । गाउँलेलाई समेत अब छिट्टै टहरा बनाएर बाहिर जानु छ भनेर जस्तापाता लिन गएका लोकबहादुर अब कहिल्यै फर्किने छैनन् । चिसोबाट बच्न गरिएको प्रयाससमेत उनीहरूका लागि बज्रपात बन्यो । भाग्यले भूकम्पबाट बचेकाहरू सवारी दुर्घटनामा ज्यान गुमाउनुप¥यो । शाही दाम्पतीसँगै राहत लिन गएका अन्य तीन जनाले पनि सोही दुर्घटनामा ज्यान गुमाए ।
दुर्घटनामा परेर मृत्यु हुनेहरूमा आठबिसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी ४२ वर्षीय श्रीमती लुकी शाही, ४८ वर्षीय धनिराम सार्की, ५२ वर्षीय भर्द सार्की र ४७ वर्षीय निर्मला सार्कीको मृत्यु भएको हो । त्यस्तै आठबिसकोट–८ का खडगबहादुर पुन र सोही वडाका दलबहादुर पुन, कुमार घर्ती, रमा गुरुङ, जगवीर सार्की, जयबहादुर घर्ती, मने सार्की, मदन पुन र रमेश सार्की घाइते भएका हुन् । चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रुकुम पश्चिम
प्रतिक्रिया