‘भूकम्पपीडितलाई चिसोबाट जोगाउन छानामुनि ल्याउन केन्द्रित छौँ’

रवि केसी, नगर प्रमुख – आठबिसकोट नगरपालिका रुकुमपश्चिमको

रुकुमपश्चिम । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुमपश्चिमको जनजीवनसमेत प्रभावित भयो । ठूलो मात्रामा भौतिक तथा मानवीय क्षति रुकुमपश्चिमले बेहोर्नुपर्यो । भूकम्पपछि तत्कालै स्थानीय सरकार घाइतेको खोज, उद्धारमा खटिए । प्रभावकारी ढंगले उद्धार भयो । भूकम्प गएको डेढ महिना बितिसक्यो तर अझै पनि भूकम्प प्रभावितहरू त्रिपालमै बस्न बाध्य भएका छन् । दिनहुँ चिसोबाट भूकम्प प्रभावितहरूले ज्यान गुमाइरहेका छन् । अस्थायी आवास निर्माणका लागि संघीय सरकारले जाजरकोट र रुकुमपश्चिमलाई ५०/५० करोड रकम उपलब्ध गराएको छ । तर अझैसम्म अस्थायी आवास निर्माण भने प्रभावकारी हुन नसकेको गुनासो बढिरहेको छ ।

पुस महिनाको चिसोका कारण त्रीपालमुनि बस्दै आएकाहरू चिसोका कारण अकालमा ज्यान गुमाउँदै छन् । जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पका कारण प्रभावितलाई चिसोबाट जोगाउनु नै अहिलेको मुख्य चुनौती बनेको छ । चिसोका कारण जनजीवन प्रभावित भएको छ । सोमबारसम्मको प्रहरी तथ्यांक अनुसार चिसोबाट ३५ जनाले ज्यान गुमाएका छन् । त्रिपालको ओत लागेर चिसोको रात कटाउन बाध्य छन् । रुकुमपश्चिम र जाजरकोटका भूकम्पपीडितहरू भूकम्पबाट जोगिए तर चिसोले ज्यान लिन्छ कि भनेर चिन्तामा छन् ।

अझै केही स्थानीय तहले तथ्यांक यकिन गरेका छैनन् । तथ्यांक प्रष्ट नहुँदा थप अन्योल देखिएको छ । भूकम्पबाट घरबारविहीन बनेका सर्वसाधारणले कहिले अस्थायी आवास निर्माणका लागि रकम पाउँछन् भन्नेसमेत अन्योल छ । भूकम्प गएको दुई महिना पुग्नै लाग्दासम्म पनि अस्थायी आवास निर्माण हुन नसक्दा कठ्यांग्रिदो चिसोमा ज्यान जाने जोखिम बढिरहेको स्थानीय बताउँछन् । जाजरकोट भूकम्पबाट सबैभन्दा बढी प्रभावित रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाले लाभग्राहीको तथ्यांक यकिन गरेको छ । आठबिस्कोटमा मात्रै ९ हजार ९ सय ६२ लाभग्राही यकिन भएका छन् । जसमध्ये स्थानीय विपत कोषबाट ४२ सय लाभग्राहीको बैंक खातामा पहिको किस्ता रकम पठाइएको नगरप्रमुख रवि केसीले बताए । जिल्ला विपत कोषबाट सात हजार लाभग्राहीका लागि स्थानीय सरकारलाई पठाइएकोमा हामीले ४२ सय जनाको खातामा रकम पठाइसकेका छौँ । बाँकिरहेका लाभग्राहीको खातामा रकम पठाउने प्रक्रियामा छौँ ।

मेयर केसी भन्छन, ‘भूकम्पपीडितका लागि हाम्रो नगरपालिकामा २२ सय अस्थायी आवास निर्माण भएका छन् । ३६ सय अस्थायी आवास निर्माण भइरहेका छन् । भूकम्पपछि खोज, उद्धार र राहत वितरणजस्तो प्रभावकारी आवास निर्माणमा नभएको जस्तो लाग्छ । केहीदिन कार्यविधिले अड्कायो । सरकारी प्रक्रियाबाट अस्थायी आवास निर्माणमा केही ढिलाइ भइरहेकाले चिसोका कारण नागरिकको ज्यान जाने सम्भावना बढिरहेकोले हामिले पहिलो किस्ता पाइसकेकाहरूबाहेक अन्य बैंक खाता नभएका लाभग्राहीहरूलाई वडामार्फत नगद रकम दिएर अस्थायी आवास निर्माणमा जुटेका छौँ । विपतपछि पहिलो चरणमा खोज उद्धार र दोस्रो चरणमा राहत वितरणको काम भयो । तेस्रो चरणमा सबै प्रभावित नागरिकलाई छानोमुनि ल्याउदैँ छौँ । चिसो मौसमा त्रिपालको सहारामा ओत लागेर शीत छल्दै रात काटिरहेको अवस्था छ । उहाँहरूलाई जतिसक्दो चाँडो छानामुनि ल्याउन हामीले अस्थायी आवास निर्माणलाई जोड दिएका छौँ ।’ उनी फेरि भन्छन्, ‘करिब पाँच हजार नागरिक अझैँ त्रिपालमुनि हुनुहुन्छ । उहाँहरूलाई चिसोबाट बचाउनु नै मुख्य प्राथमिकता हो । त्रिपालमुनि बसिरहेकाहरूलाई तत्काल छानोमुनि बसाल्नका लागि हामी गम्भीरताका साथ लागिरहेका छौँ ।’

स्थानीय स्रोत साधनको प्रयोग गरेर तत्कालै अस्थायी आवास निर्माण गरेर जनतालाई छानोमुनि ल्याउन स्थानीय सरकार लागिरहेको केसी बताउँछन्, थुप्रै चुनौतीका बाबजुत पनि हामीले जनशक्ति परिचालन गरेका छौँ । संघीय तथा प्रदेश सरकारले पनि सहयोग गरिरहेको अवस्था छ । अब सरकारले जतिसक्दो चाँडो अस्थायी आवास निर्माण गरेर पुनर्निर्माणमा ध्यान दिनुपर्छ । सुरक्षित अस्थायी आवास निर्माणपछि पुनर्निर्माणलाई जोडेर भूकम्प प्रभावितहरूलाई स्थानान्तरण गर्नुपर्छ । विपद् व्यवस्थापनमा तदारुकताका साथ हामीले प्रभावकारी काम गरेका छौँ । विपद् हुनेबित्तिकै खोज उद्धार, उपचार र व्यवस्थापनपछि २४ घण्टा नबित्दै उद्धार सकेर राहत वितरणमा लाग्यौँ । भूकम्प गएको हप्तादिन भित्रै सबैलाई समान रूपमा एकसरो भए पनि राहत पु¥यायौँ । अहिले चिसो बढ्दै जाँदा सामान्य त्रिपाल र पालले त्यो धान्ने अवस्था छैन । अस्थायी आवासको व्यवस्थापन तीव्र गतिमा भइरहेको छ ।

उनले भने, भूकम्पबाट हामीले ४४ जना गुमायौँ । सयौँ घाइते अवस्थामा छन् । करिब १० हजार घर क्षतिग्रस्त छन् । ३५ हजार बढी जनसंख्या प्रभावित भएका छन् । भौतिक संरचना विद्यालय, अस्पताल तथा सरकारी भवनहरू भत्किएका छन् भने, केही बस्न लायक छैनन् । भूकम्पबाट दुई अर्बभन्दा बढीको क्षति भएको रुकुमपश्चिममा २५ हजार लाभग्राही यकिन भएका मध्ये झण्डै आधा लाभग्राही आठबिसकोटमा छन् । केही छुटेका लाभग्राहीको पालिकामा विवरण संकलन भइरहेको छ । अब एक महिनाभित्र सबैलाई अस्थायी आवासभित्र ल्याउने लक्ष्यका साथ हामी काम गरिाखेका छौँ । नागरिकमा अझै त्रास छ । अहिले भूकम्पबाट पीडितहरू कोही चौरमा, कोही खाली जग्गामा त्रिपाल टाँगेर खुल्ला आकाशमा रात काटिरहेका छन् । उनीहरूलाई छानोभित्र ल्याउने हाम्रो पहिलो प्राथमिकता रहेको छ । जस अनुसार आधाभन्दा बढी भूकम्पपीडितहरूको अस्थायी आवास निर्माण भइरहेको छ ।

भूकम्पले घर भत्काई दिएपछि भूकम्पपीडितहरू घरवारविहीन हुँदा खु्ल्ला आकाशमा रात बिताउन बाध्य भएका छन् । भूकम्प गएको हप्तौदिन बितिसक्दा पनि आफूहरूले राम्रोसँग बस्न र खान नपाएको उनीहरूको दुःखेसो छ । भूकम्पले बस्ने घर भत्काईदिएपछि अहिले बिचल्ली भएको पीडितहरूले बताएका छन् । नगरप्रमुख केसी भन्छन्, सबैको घर भत्किएको छ । सबै खेतबारीमा त्रीपाल टाँगेर बस्नुपरेको छ । भूकम्पपछि चुनौतीका चाङ छन् । चुनौतीलाई चिरेर हामीले काम गरिरहेका छौँ । अहिले यहाँका बाटो घाटो, सिँचाइ, सडक, खानेपानी लगायतका योजनामा क्षति पुगेको छ । भिरालो र डाँडाकाँडा जमिनसमेत चिरा परेको छ । यसले वर्षात्को समयमा थप जोखिम निम्त्याएको छ ।
नगरप्रमुख केसी भन्छन्, ‘सो क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थायी आवास निर्माण गर्नुपर्ने हुन्छ । अहिले अस्थायी आवास निर्माण भइरहेको छ भने दीर्घकालीन रूपले स्थायी आवास निर्माणको प्रक्रिया सुरु हुन्छ । जोखिम वस्तीहरूमा जमिन भासिएकोले आठबिसकोट नगरपालिका भित्रका भूकम्प प्रभावितहरूलाई तत्काल त्यहाँभन्दा सुरक्षित स्थानको पहिचान गरेर अस्थायी आवास निर्माणतर्फ लागेका छौँ ।’

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया