० २५ हजार मध्ये १८ सयको मात्रै बने अस्थायी आवास
रुकुमपश्चिम । १७ कात्तिकमा जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनि बसिरहेका भूकम्पपीडितहरू पुस महिनाको चिसोका कारण झन् समस्यामा परेका छन् । भूकम्पले घर मात्रै भत्किएका तर चिसोले धेरैजसो पीडितहरूको ज्यान गएको छ । जाजरकोट र रुकुमपश्चिममा गरेर चिसोका कारण ३५ जनाले ज्यान गुमाएका छन् । बालबालिकादेखि वृद्धवृद्धाले चिसोका कारण ज्यान गुमाइरहेका छन् । डेढ महिनामा चिसोबाट जाजरकोटका २९ र रुकुमपश्चिमका ६ जनाको ज्यान गएको हो ।
त्रिपालमुनि बसेका अधिकांशमा निमोनिया, रुघाखोकी, ज्वरो र पखालाको समस्या देखिन थालेको छ भने अर्कोतिर मानसिक समस्या कायमै छ । त्रिपालमा ओत लागेर चिसो रात काटिरहेका दीर्घरोगी, बालबालिका र ज्येष्ठनागरिकहरूमा स्वास्थ्य समस्या देखिएको आठबिसकोट नगरअस्पतालमा कार्यरत डा. सम्यम घिमिरेले बताए । चिसोले बालबालिकामा निमोनिया, ज्वरो आउने र वृद्धवृद्धाहरूमा रुघाखोकी दमजस्ता स्वास्थ्य समस्या देखिन थालेको घिमिरेले जानकारी दिए । त्रिपालले शीतसमेत छल्न नसक्दा जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितहरू चिसोका कारण दिनदिनै ज्यान गुमाउन बाध्य छन् ।
भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा करिब साढे ५५ हजार घरपरिवार घरबारविहीन बनेका छन् । प्रहरीको तथ्यांकअनुसार रुकुम पश्चिममा मात्रै २५ हजार परिवार विस्थापित भएका छन् । जसमध्ये अझैँ २२ हजार घरपरिवार त्रिपालमुनि नै बस्दै आएका छन् । रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार रुकुम पश्चिममा साढे १९ हजार घरपरिवारलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापत २५ हजार रुपैयाँ पठाइएको छ । प्रशासनका अनुसार रुकुम पश्चिममा १९ करोड रुपैयाँ मात्र लाभग्राहीले बुझेका छन् । रुकुम पश्चिममा मात्रै साढे १८ सय अस्थायी आवास निर्माण भएका छन् । भने करिब पाँच हजार टहरा निर्माणाधीन रहेका छन् । रुकुम पश्चिममा मात्रै भूकम्पबाट ५३ जनाको मृत्यु भएको थियो भने दुई अर्बभन्दा बढीको क्षति भएको थियो ।
रुकुम पश्चिममा धेरै घरहरूमा क्षति पु¥याएपछि भूकम्पपीडितहरू त्रिपालमुनि बस्न बाध्य छन् । आठबिसकोट नगरपालिका–१४ पीपलचौरकी २७ वर्षीया शर्मिला केसी आठ महिनाकी सुत्केरी हुन् । उनीसहित चार जनाको परिवार त्रिपालमुनि नै बस्दै आएका छन् । शर्मिला भन्छिन्, ‘चिसो बढ्दै गएको छ । बच्चासहित पालमा बस्न गाह्रो हुने रैछ । दिनभर घाममा तात्तिदा पनि रातको चिसो हट्दैन ।’ आठ महिनाको बच्चासहित उनीहरूको परिवार डेढ महिनादेखि त्रिपालमा बस्दै आएका छन् । भूकम्पले घर भत्किएपछि खेतमा त्रिपाल टाँगेर उनीहरूले रात कटाइरहेका छन् । केसी भन्छिन्, ‘वडामा घरको फोटोसहित फाइल बुझाएका छौँ । अहिलेसम्म पैसा आएको छैन । शौचालयसमेत नभएर खुल्ला ठाउँमा शौच गर्नुपर्ने बाध्यता छ । पहिलो किस्ता आयो भने टिन किनेर टहरा बनाउने भनेर पर्खिरहेका छौँ ।’ रुघाखोकी र ज्वरोले सताइरहेको छ । भूकम्प पीडितहरू चिसो मौसम सुरु भएसँगै बिरामी पर्न थालेका छन् । पालमुनि बस्दा उनिहरूमा अहिले विभिन्न रोगको समस्या देखिन थालेको छ । चिसोकै कारण रुकुम पश्चिममा मात्रै ६ जनाले यान गुमाएका छन् ।
आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसी भन्छन्, ‘लाभग्राही यकिनमा ढिला भए पनि हामीले धमाधम अस्थायी आवास निर्माण गरिरहेका छौँ । विभिन्न राजनीतिक दल, संघसंस्था र सरकारको तर्फबाट गरेर आठबिसकोटमा मात्रै २ हजार २ सय बढी अस्थायी आवास निर्माण भइसकेका छन् । साढे तीन हजार बढी आवास निर्माण भएरहेका छन् ।’ केसीका अनुसार आठबिसकोटमा ४२ सय लाभग्राहीले पहिलो किस्ता वापत २५ हजार रकम पाइसकेका छन् । हामीले पहिलो चरणमा भूकम्पबाट घाइते भएका, आफन्त गुमाएका खोज, उद्धार, राहत वितरण र प्रभावितहरूलाई मनोपरामर्श सेवा दियौँ । सँगसँगै चिसोबाट जोगाउन अस्थायी आवास निर्माणमा जुटेका छौँ । त्रिपालमुनि बस्दा ७० प्रतिशत भन्दा बढी महिला तथा बालबालिका र जेष्ठ नागरिकलाई स्वास्थ्य समस्या देखिएको चिकित्सकहरू बताउँछन् ।
भूकम्पबाट रुकुमपश्चिममा पाँच वर्ष मुनिका बालबालिका ५ हजार ५ सय ६७ जना प्रभावित भएको, गर्भवती १ हजार ६८ जना, सुत्केरी ७ सय ३९ जना भूकम्पबाट प्रभावित रहेको बताइएको छ । आठबिसकोट नगरपालिकामा ३३ हजार ६ सय १४ जनसंख्या प्रभावित भएका थिए । जसमध्ये २८ सय ६३ जना वृद्धवृद्धा, २ सय ८० दीर्घ रोगी पालमुनि बस्दै आएका बताउँछन् ।
आठबिसकोट नगरपालिका–१३ का गणेशबहादुर शाही चिसो पालमा बस्दा उनी बिरामीले थलिएका छन् । उनलाइ चिसोले टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्नेलगायत समस्याले पिरोलिरहेको छ । ७० वर्षका गणेश चिसो पालमा बस्दा उनी बिरामीले थलिएका छन् । चिसो मौसममा आफू दमको बिरामी चिसोले झनै समस्या भएको शाहीले बताए ।
पटकपटक भूकम्पको पराकम्पन आइरहने भएकाले त्रसित भएका स्थानीय सामान्य चर्किएका घरमा बस्न सुरक्षित नहुने भन्दै अधिकांश भूकम्प पीडितहरूको बास खुला आकाशमा हुँदै आएको छ । भूकम्पपीडित अहिले चिसो पालमा रात काटिरहेका छन् । चिसो पालमा गर्भवती, सुत्केरी र बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएको स्वास्थ्यकर्मीहरूले बताउने गरेका छन् ।
मंसिरको चिसोमा एकसरो पालको भरमा विद्यालयमा पठनपाठन गर्नुपरेको आठबिसकोट १४ स्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक मनसुरी खड्का बताउँछिन् । अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन सुरु भए पनि विधार्थीलाई चिसोले थप समस्या पैदा गरेको खड्का बताउँछिन् । चिसोका कारण अधिकांश मानिसहरू बिरामी पर्न थालेको खड्काले बताइन् । भूकम्पबाट आठबिसकोटमा मात्रै ४२ जनाले ज्यान गुमाएका थिए भने, १ सय ३४ जना घाइते भएका थिए ।
मानसिक समस्या कायमै
रुकुम र जाजरकोटका भूकम्प प्रभावितहरूमा अझै पनि मानसिक समस्या देखिएको छ । उपचारपछि घर फर्किएका घाइतेहरूमा र आफन्त गुमाएका भूकम्प प्रभावितहरूमा गम्भीर मानसिक समस्या देखिएको मनोविद् अपेक्षा गुरुङ बताउँछिन् । उनी भन्छिन्, ‘भूकम्प प्रभावितहरू घरबारविहीन मात्रै नभएर आफन्तहरू गुमाएका र घाइते भएकाहरूमा ठूलो मानसिक प्रभाव देखिएको छ ।’ जाजरकोटको नलगाड नगरपालिका–७ का अधिकांशमा यो समस्या देखिएको छ ।
‘उहाँहरूलाई समयमै मनोपरामर्श नदिँदा थप जटिलता पैदा हुनसक्छ भनेर हामीले समुदाय स्तर र विद्यालयहरूको बालबालिकाहरू, शिक्षकहरूका लागि निरन्तर तालिम, मनोपरामर्श दिँदै आएका छौँ ।’ गुरुङले भनिन्, ‘भूकम्पबाट प्रभावित व्यक्तिको मानसिक अवस्था बुझेर नियमित रूपमा काउन्सिलिङ गरिरहेका हौँ । उनका अनुसार बालबालिका, ज्येष्ठ नागरिकहरूमा बढी मानसिक समस्या देखिएको छ ।’
रुकुम पश्चिम
प्रतिक्रिया