सर्लाहीकाे हरिपुरमा सामाजिक सुरक्षा नीति निर्माणबारे कार्यशाला

लालबन्दी । सर्लाहीमा जनप्रतिनिधि र कर्मचारीका लागि सामाजिक सुरक्षा नीति निर्माण सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । जिल्लाको हरिपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका लागि सेभ द चिल्ड्रेनको सहयोगमा सामाजिक सुरक्षा नीति निर्माण सम्वन्धी २ दिने कार्यशाला सम्पन्न भएको हो । लालबन्दीको होटल युनाईटेड इनमा ग्रामीण नारी उत्थान संघ हरिपुरको आयोजनामा भएको कार्यक्रमका सहभागीलाई सेभ द चिल्ड्रेनका गोपाल नेपालीले सामाजिक सुरक्षा नीतिका विषयमा प्रष्ट्याए ।

कार्यशालामा पहुँच परियोजना सञ्चालन भएको हरिपुर नगपालिकाका विभिन्न वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर कार्की, विभिन्न शाखाका प्रमुखलगायतको सहभागिता रहेको थियो । सामाजिक सुरक्षा नीतिको दीर्घकालीन सोँच, भिजन, मिस्सन, लक्ष्य र उद्देश्य निर्धारण गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको ग्रामीण नारी उत्थान संघ पहुँच परियोजना संयोजक आशिष रेग्मीले बताए ।

त्यसैगरी ५ बर्ष मुनिका बालबालिका, ६ देखि १८ बर्षसम्मका बालबालिका, १९ देखि ५९ बर्षसम्मका वयस्क र ६० बर्ष माथीका वृद्धवृद्धाहरुमा के कस्ता समस्या रहेका छन, नगरपालिका, संघ र प्रदेशले संचालन गरेका कार्यक्रमहरु, थप गर्नुपर्ने कार्यक्रम र सहायता बारे कार्यक्रममा छलफल गरिएको थियो ।

कार्यक्रमको अन्तिम दिन आइतबार सामाजिक सुरक्षा नीति मस्यौदा गर्न ७ सदस्यीय समिति समेत गठन गरिएको छ । समितिको संयोजकमा वडा नम्बर ६ का वडाध्यक्ष प्रेमहरी श्रेष्ठ रहेका छन्, भने अन्य सदस्यहरुमा सामाजिक विकास शाखाका रुपलाल देवकोटा, शिक्षा शाखाका नागेश्वर राय, महिला विकास शाखाका सुधा काफ्ले, स्वास्थ्य शाखाका राम नरेश ठाकुर, कार्यपालिका सदस्य हिरा विश्वकर्मा र पहुँच परियोजनाकाे संयोजकमा आशिष रेग्मी चयन भएका छन् ।

केही केहि दिन अगाडि ईश्वरपुर नगरपालीकाका जनप्रतिनिधि र कर्मचारीका लागि पनि यस्तै प्रकारको कार्यशाला आयोजना गरिएको थियो ।

प्रतिक्रिया