न्यायको माग गर्दै तेस्रो दिन पनि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बारा । बाराको सिम्रौनगढ नगरपालिकामा बुधबार प्रमुख प्रशासकीय अधिकृत हाजिर गराउने विषयमा भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर सिम्रौनगढ नगरपालिका–१ ननसगरा ढाट गाउँका २४ वर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको थियो ।

बिनको मृत्यु प्रहरीले चलाएको गोलीबाट नै भएको थियो । उक्त घटना इलाका प्रहरी कार्यालय सिम्रौनगढको तत्कालीन प्रहरी निरीक्षक रवीभुषण यादवले मधेस प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादवको निर्देशनमा चलाएको आरोप लगाउँदै शनिबार तेस्रो दिन निजगढस्थित बकैयापुल नजिक राजमार्ग नै अवरुद्ध गरी प्रदर्शन गरिएको छ ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ को सभापति एवं सिम्रौनगढ नगरपालिकाको पूर्वनगरप्रमुख विजयशंकर यादवको नेतृत्वमा निजगढस्थित राजमार्ग अवरुद्ध गर्न पुगेको स्थानीय तथा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू एवं पधाधिकारी टायर बाली बाटो अवरुद्ध गरेका थिए । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव मुर्दाबाद, नेपाल सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठ राजिनामा दे, नगरप्रमुख किशोरी साह कलवारलाई कारबाही गर, भन्दै सिमरौनगढका स्थानीयहरूले नाराबाजी गर्दै पाँच घण्टा सडक अवरुद्ध गरेर आन्दोलन गरेका छन् ।

साथै बिनको प्रहरीको गोली लागेर बुधबार मृत्यु भए पनि उनको शव आफन्तले अझै बुझेका छैनन् । उनको शव नारायणी अस्पताल वीरगञ्जमा राखिएको छ । सिम्रौनगढ नगरपालिकमा प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई नगरप्रमुख कलवारले हाजिर गराउन खोजेपछि पाँच महिनादेखि नगरपालिकाको मूलद्वारमा तलब नपाएर आन्दोलनमा रहेका शिक्षक कर्मचारी र प्रहरीबीच झडप भएको थियो ।

भडपमा प्रहरीको लाठी चार्ज, अश्रुग्यास र हवाई फायरबाट भिडभाड तितरबितर भएको अवस्थामा प्रहरीले निशाना लगाएर चलाएको गोलीबाट बिनको मृत्यु भएको प्रहरीको एक अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया