जनकपुरधाम । जनकपुरधाममा आइतबार धुमधामसित सीताराम विवाहपञ्चमी महोत्सव मनाइएको छ । मंसिर शुक्ल पञ्चमी तिथिका दिन त्रेतायुगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा आइतबार विवाहपञ्चमी महोत्सव मनाइएको हो । प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन रहेको छ । त्रेतायुगमा जुन प्रकारले राम र सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको भन्ने गरिन्छ । त्यसरी नै वर्तमानमा समेत रामजानकीको डोलालाई जनकपुरधाममा स्वयम्बर गरी वैदिक परम्पराअनुसार विवाह गर्ने प्रचलन छ ।
आइतबार दिउँसो साधुसन्तको अगुवाइमा झाँकी कीर्तनसहित राम मन्दिरबाट भगवान् रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान पुगेर स्वयम्बर गरियो । ढोल पिपही, सहनाई, ब्यान्डबाजासहित निस्किने दुवै डोला वाह्रविघा मैदानमा मिलन भएपछि वैदिक परम्पराअनुसार मालाफेर गरी राम र जानकीको स्वयम्वर गर्ने प्रचलन छ । डोलाको दर्शन र रामसीताको स्वयम्बर हेर्न बाह्रविघा मैदानमा हजारौँको संख्यामा दर्शनार्थीको सदाझँै यो वर्ष पनि घुइँचो लागेको छ ।
महोत्सवमा सहभागी हुन देशका विभिन्न स्थान तथा छिमेकी देश भारतबाट आएका लाखौँको दर्शनार्थीले जनकपुरधाम खचाखच भरिएको छ । दर्शनार्थी आउने क्रम जारी नै रहेको छ । विवाहपञ्चमीलाई मध्यनजर गर्दै जनकपुरधाममा करिव १५ सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
२६ मंसिरदेखि सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सोमबार जन्तीका रूपमा आएका साधुसन्तको बिदाइ गरी विधिवत समापन हुनेछ ।
विवाहपञ्चमीको अवसरमा मधेस प्रदेशमा आइतबार सार्वजनिक बिदा दिइएको थियो । प्रदेश सरकारले विवाहपञ्चमीको अवसरमा एक दिनको बिदा क्यालेन्डरमा छुट्याएको छ । आइतबारको बिदा राजपत्रमासमेत प्रकाशित छ ।
प्रतिक्रिया