परशुराम तलाउमा पानी सुकेपछि भक्तजनहरू स्नानबाट बञ्चित

सिरहा । मधेस प्रदेशअन्तर्गत धनुषाको मिथिला बिहारी नगरपालिका– २ पुरनदाहास्थित परशुराम तलाउमा पानी सुकेपछि भक्तजनहरू स्नानबाट बञ्चित भएका छ्न् । परशुराम तलाउ व्यवस्थापनको अभावमा एकातिर सरोवरको पानी सुकेको छ भने अर्कोतिर सरोवरको डिलको भौतिक संरचना अलपत्र परेका छ्न् ।

विवाह पञ्चमीको अवसरमा उक्त सरोवरमा पुगेका भक्तजनहरूले स्नान गर्न पाएका छैनन् । प्राचिन मिथिलाको राजधानी जनकपुरधाम भन्दा करिव १४ किलोमीटर पूर्व तथा धनुषाधाम भन्दा करिव ५ किलोमीटर पूर्वमा उक्त तलाउ रहेको छ । सुरुवातका दिनहरूमा जनक सरोवरको नामले चिनिँदै आएको यो सरोवर परशुरामको घोर तपश्याबाट कालो कमलको फूल सेतो भएपछिको दिनदेखि परशुराम तलाउको नाममा चिनिन थालिएको बताइएको छ ।

करिब २५ बिघा क्षेत्रफलमा फैलिएको यस तलाउको दक्षिणतिर सीता सरोवर रहेको छ । तलाउको ठिक पश्चिमपट्टी जगधर नदी बगिरहेको छ । यस जलाशयमा शिली, जलहाँस, नीलकमल रक्त कमलजस्ता दुर्लभ पंक्षी तथा लोपोन्मुख प्रजातिका वनस्पतिहरु पाइने यस सरोवरको आफनै मौलिकता रहेको छ ।

तलाउको पवित्रताको कारण छठ, एकादशमी, एवं जितिया पर्वमा धार्मिक भजन, किर्तन, नाचगानको व्यवस्था गरी तलाउ बेहुली जस्तै सिँगारिन्छ । जितिया पर्वमा बिहानैदेखि यस क्षेत्र वरिपरिका महिलाहरुको उल्लेखनीय भीड लाग्ने गर्दछ । तर विवाह पञ्चमीको अवसरमा आन्तरिक तथा वाहृय पर्यटकहरू आए पनि कुनै किसिमको सजावट देख्न पाएनन् । यस तलाउको पूर्वी डिलमा नगर डिहवारको मन्दिर रहेको छ ।

उत्तर डिलमा पूर्वबाट मिथिलेश्वर महादेव मन्दिर, बिचमा परशुराम मुर्ति जुन निर्माणाधिन अवस्थामा छ भने उत्तर डिलको सबैभन्दा पश्चिममा हनुमानजी महराजको मन्दिर बनाइएको छ । तलाउमा प्रवेश गर्न एउटा ठूलो प्रवेश द्वार उत्तरतिर बनाइएको छ ।

हिन्दू धर्मग्रन्थ अनुसार परशुरामलाई भगवान् विष्णुका १० मुख्य अवतारहरूमध्ये छैठौँ अवतार मानिन्छ । परशुरामको मुख्य हतियार परशु (बञ्चरो) भएकाले उनको नाम परशुराम रहेको मानिन्छ । परशुरामले २१ पटक पृथ्वीका क्षत्रियहरूको संहार गरेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।

प्रतिक्रिया