नेपालको पहिलो ‘महिला औद्योगिक ग्राम’ पाँचखालमा

काभ्रे । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, पाँचखाल नगरपालिका र दक्षिण एसियाली महिला विकास मञ्चबीचको सहकार्यमा नेपालमा महिला उद्यमी हरित औद्योगिक पार्क स्थापना हुने भएको छ । यस्तो पार्क नेपालमै पहिलो र दक्षिण एसियामा दोस्रो रहेको जानकारी पाउँदा आफू खुशी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् ।

काभ्रेको पाँचखालमा नेपाल सरकारको औद्योगिक ग्राम कार्यक्रमअन्तर्गत निर्माणधिन यस औद्योगिक पार्कलाई ‘महिला औद्योगिक ग्राम’ का रूपमा स्थापना गर्न आफ्नो नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले २०८० जेठ २४ मा निर्णय गरेको प्रधानमन्त्री दाहालले बताए ।

उनले यस आयोजना निर्माणका लागि पाँचखाल नगरपालिकाकासँग एक सय रोपनी जग्गा २५ वर्षका लागि भाडामा लिने सम्झौता भइसकेको भन्दै यस महिला औद्योगिक ग्रामलाई कृषि पर्यटन औद्योगिक पार्कका रूपमासमेत प्रवद्र्धन गरिने बताए । उपस्थित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘म यसका लागि महिला उद्यमी हरित औद्योगिक पार्कमा संलग्न साथीहरू र पाँचखाल नगरपालिकाका मेयरसहितका जनप्रतिनिधिलाई आभार व्यक्त गर्दछु ।’

‘इको टुरिजममा केन्द्रित सेवा क्षेत्रसहित कृषि खाद्य क्षेत्रसँग सम्बन्धित ५० साना उद्योगसमेत स्थापना गरिने यस परियोजनामा हालसम्म हरित औद्योगिक पार्कको गुरुयोजना, विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकनको काम पूरा भएको जानकारी मैले पाएको छु, प्रधानमन्त्री दाहालले भने ।

यस पार्कलाई पर्यटन, उत्पादन र सूचना तथा प्रविधि गरी मुख्यतः तीनवटा क्षेत्रमा विस्तार गरिएको भन्दै जसमा पहिलो पर्यटन अन्तर्गत सेवा क्षेत्र र पर्यावरणीय पर्यटन क्षेत्र रहेको यसमा विभिन्न जातिय संस्कृति र प्रत्यक्ष सीप प्रदर्शन तथा प्रत्यक्ष स्थानीय परम्परागत खाना प्रदर्शन हुने बताइएको छ ।

दोस्रो उत्पादन क्षेत्रअन्तर्गत स्थानीय कच्चा पदार्थ र कृषि खाद्य क्षेत्रसँग सम्बन्धित ५० साना उद्योगहरूको स्थापनाले राष्ट्रिय अर्थतन्त्रको विकास र रोजगारी सिर्जनामा योगदान पुग्ने अपेक्षा गरिएको छ । यसैगरी सूचना प्रविधि क्षेत्रअन्तर्गत औद्योगिकको पार्कको भर्चुअल बजारमार्फत स्थानीय उत्पादक र कृषकहरूले प्रत्यक्ष कारोबार गर्न र आफ्नो उत्पादनको उचित मूल्य पाउन सक्ने बताइएको छ ।

यो नेपालमा यस किसिमको पहिलो नमुना पार्कको निर्माणपश्चात यसलाई सबैभन्दा सुन्दर र सफा औद्योगिक ग्राम बनाउने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री दाहालले बताए । उनले भने, ‘धुलो, ध्वनी प्रदूषण मुक्त औद्योगिक ग्राम जहाँ फोहोरको सफल व्यवस्थापन हुनेछ, वर्षाको पानी संकलनलाई पार्कमा एकीकृत गरिनेछ ।’ उनले थपे, ‘यसैगरी नवीकरणीय ऊर्जाको प्रयोग गरिने छ, भने शून्य कार्बन निर्माणका साथै स्थानीय रूपमा उपलब्ध सामग्रीबाटै निर्माण कार्य गरिनेछ ।’

उनले कृषि उत्पादनमा जोड दिँदै कृषिमा आधारित नमुना उद्योगहरू स्थापना गरिने पनि बताए । प्रधानमन्त्री दाहालले यो आयोजनाले देशकै अर्थतन्त्रमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले भने, ‘केही समय पहिले म भारतको औपचारिक भ्रमणको शिलशिलामा भारतको सफा शहरको पहिचान बनाएको इन्दौर शहर पुगेको थिएँ, इन्दौरमा फोहरलाई सफल व्यवस्थापन गरेर त्यसवाट मल र बिजुली उत्पादन गरिएको छ, हरियाली, सफा र व्यवस्थित शहरभित्रकै औद्योगिक ग्राममा पनि हाम्रो भ्रमण भयो ।’

पाँचखालमा औद्योगिक ग्राम स्थापनाको सफलतापछि यसैगरी नेपालका विभिन्न प्रदेश र स्थानीय तहसम्म पनि नमुना औद्योगिक पार्कहरूको स्थापना गर्न सकिने उनको भनाइ छ ।

उनले देशको अर्थतन्त्रको मूल आधारका रूपमा रहेको कृषि उत्पादनका लागि जोड दिने सरकारले नीति लिएको अवस्थामा यस्ता औद्योगिक ग्राम स्थापनाले त्यसलाई टेवा पुग्ने बताए । पछिल्ला वर्षहरूमा गाउँ–गाउँबाट युवा जनशक्ति अध्ययन वा रोजगारीका नाममा विदेश जाने क्रम बढ्दो छ । यसको असरका रूपमा गाउँका खेतीयोग्य जमिन बाँझो हुँदै जाने समस्या थपिएको प्रधानमन्त्री दाहालको बुझाई छ ।

‘पाँचखालमा स्थापना गरिएको महिला उद्यमी हरित पार्कले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिई कृषिमा आधारित उद्योगहरूलाई प्रोत्साहन गर्ने जुन योजना अघि सारेको छ, यो नेपालकै लागि नमुना हुन सक्छ र सक्षम युवाहरुलाई गाउँमै काम गर्ने अवसर दिनेछ भन्ने ठानेको छु,’ उनले भने, ‘यस परियोजनाले हरित अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने, व्यावसायिक उत्पादनहरूमा नवीन विचार, प्रविधि र सीपको विकास गर्न मद्दत गर्ने पनि विश्वास लिएको छु ।’

वर्तमान सरकार हरतरहले मलखाद र विउविजनको सहज उपलब्धता, सिँचाइको व्यवस्था, बजारीकरण, व्यवसायिक कृषिमा जोड, ठूला कृषि परियोजनाहरूको सञ्चालन र उत्पादनमा आधारित अनुदानमा जोड दिँदै आइरहेको उनले बताए । प्रधानमन्त्री दाहाल बुधबार काठमाडौं विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहलाई सम्बोधन गरी पाँचखाल पुगेका थिए ।

प्रतिक्रिया