गौर । मधेसमा दलित बालबालिकाहरू शिक्षाको पहुँचबाट अझै धेरै टाढा छन् । उनीहरूलाई कसरी शिक्षाको मूल धारमा ल्याउन सकिन्छ । यसबारे धेरै सरकारी र गैरसरकारी संस्थाहरू लागिपरेका छन् । तैपनि धेरै बालबालिकाहरू विद्यालयको पहुँचबाट टाढा छन् ।
विद्यालयको पहुँचबाट टाढा रहेका बालबालिकालाई शिक्षामा पहुँच बढाउन रौतहटको वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्यसमेत रहेका राजेश पासवानले शिक्षा अभियान नै चलाएका छन् । जिल्लाको वृन्दावन नगरपालिका–८ बहुअरी निवासी उनी आफ्नै गाउँको दलित बस्तीका दलित अति विपन्न र गरिब परिवारका बालबालिहरूलाई निःशुल्क ट्युसन सञ्चालन गरेका छन् ।
उनले आफ्नो निजी लगानीमा कापी र पेन्सिल प्रदान गरी ती बालबालिकाको शिक्षामा पहुँच बढाउनका लागि स्वयं लागि परेका छन् । उनी ती बालबालिकालाई दैनिक दुई घण्टा बिहान र बेलुका पढाइरहेका छन् । तत्काल आफैँ ट्युसन पढाउन सुरु गरेका उनले अबको केही दिनमै एउटा संस्थासँग सहकार्य गरी ती बाबुनानीलाई सो संस्थाको सहकार्य र समन्वयमा एउटा शिक्षक राखेर पढाउने योजनामा छन् ।
सो टोलको दलित बस्तीमा रहेको दलित धर्मशाला बिहान र बेलुका पढाइरहेको भेटिन्छन् । बजेट चलाउनमै व्यस्त रहने जनप्रतिनिधिहरूको भिडमा उनी उदाहरणीय बनेका छन् । जनप्रतिनिधिको जिम्मेवारीको अलावा उनले दलित बालबालिकाहरूको लागि समय दिइरहेका छन् । जसको चौतर्फी रूपमा प्रशंसा हुन थालेको छ ।
प्रतिक्रिया