जनकपुरधाम । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले अहिलेको संघीयता विकृत संघीयता रहेको बताएका छन् ।
मंगलबार नेपाल पत्रकार महासंघ धनुषाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघीय सांसदसमेत रहेका त्रिपाठीले अधिकारविहीन प्रदेश सरकार बनाएर संघीयताको ढोल पिट्ने काम भइरहेको बताए । उनले संघ र प्रदेशको बीचमा अधिकारको बाँडफाँड हुनुपर्नेमा प्रदेशलाई लाचार बनाई बदनाम गर्ने काम भइरहेको बताउँदै नगरपालिकालाई नगर प्रहरी छ । तर, प्रदेशलाई प्रहरी नै नदिएको अवस्थामा यस्तो संघीयतालाई विकृत संघीयता नै भन्न सकिने बताए ।
राज्य संरचनाको नाममा भौगोलिक संरचना बनाइएको आरोप लगाउँदै अध्यक्ष त्रिपाठीले छापामार शैलीले संविधान जारी गरिएको र त्यसैको विकृतरूप अहिलेको अवस्था रहेको बताए । उनले भने, ‘संविधान जारी गर्नेहरू स्वामित्व लिन तयार छैन, संविधान कार्यान्वयन गर्दाखेरि पटकपटक घाइते भएको अवस्था छ, अन्तिम घाइते सर्वोच्च अदालतले फैसला गर्दा संसद पुनःस्थापना गर्दा फलानोलाई प्रधानमन्त्री बनाउ भनेर निर्णय गरी संसद्को अधिकारमाथि नग्न प्रहार भएको छ ।’
उनले मिश्रित निर्वाचन प्रणालीकै कारणले कुनै पनि दलले बहुमतको सरकार बनाउन सक्ने अवस्था नरहेको बताउँदै समानुपातिक प्रणालीलाई हटाएर प्रत्यक्ष प्रणालीलाई लागू नगरिएसम्म सरकार बनाउन एकअर्काको मुख ताक्नुबाहेक अरू कुनै विकल्प नरहेको बताए । उनले अर्थतन्त्रको सुधारका लागि अहिलेको सरकारको प्रयास चाहिने जति नरहेको धारणा राखेका थिए ।
प्रतिक्रिया